• १३ साउन २०८१, आइतबार

तरकारी करमा छुट

blog

काठमाडौं, असार २५ गते । यसअघि प्रतिकिलो ५० पैसाका दरले तरकारीमा लिदै आएको कर छुट गरेको छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाले तरकारी उत्पादक कृषकबाट लिँदै आएको कर छुट गरेको हो । 

यस क्षेत्रका तरकारी उत्पादक कृषकले स्थानीय करको रुपमा तरकारी कर बुझाउँदै आएका थिए । अघिल्लो कार्यपालिकाको सो निर्णयलाई वर्तमान कार्यपालिकाले परिवर्तन गरेको हो । नीति तथा कार्यक्रममा कृषकले तिर्दै आएको सो कर नलिने निर्णय भएको छ । उक्त निर्णय नयाँ आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ । 

यस क्षेत्रका कृषकले वार्षिक १० लाख किलोभन्दा बढी तरकारी उत्पादन गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष जनक पुनले आम्दानीको मुख्य स्रोतको रुपमा रहेको तरकारी खेतीमा कृषकलाई लगाइदै आएको कर नलिने निर्णय गरेको बताउनुभयो । गाउँपालिकामा टमाटर, बन्दा, खुर्सानी, भान्टा, सिमीजस्ता मौसमी र बेमौसमी तरकारी अत्यधिक उत्पादन हुने गर्दछ । यहाँ उत्पादित तरकारी दाङको घोराही, तुलसीपुर, बुटवल, नेपालगञ्जलगायतका सहरमा जाने गर्दछ ।

गाउँपालिकाको यो निर्णयले कृषकलाई राहत पुग्ने कृषक जयबहादुर बस्नेतले बताउनुभयो । रुन्टीगढीका अधिकांश वडा तथा त्रिवेणी गाउँपालिकाको बूढागाउँ, नुवागाउँ, जुगारलगायतका क्षेत्रलाई तरकारीको भण्डार मानिन्छ ।