• ११ पुस २०८१, बिहिबार

‘मभित्रको जोश जाँगर अझै घटेको छैन’

blog

भोजपुर जिल्लाको दिङ्ला साङ्राङ गाउँमा जन्मिनुभएका वरिष्ठ साहित्यकार दधिराज सुवेदीको समाजसेवा अर्को महत्त्वपूर्ण पक्ष हो । विराटनगरलगायत देशका विभिन्न क्षेत्रमा स्थापित सामाजिक, साहित्यिक धार्मिक, सांस्कृतिकलगायत थुप्रै संस्थामा विभिन्न पदमा रहेर उहाँ विगत ५० वर्षदेखि यस क्षेत्रमा लागिरहनुभएको छ । दर्जन बढी पुरस्कार तथा सम्मानबाट सम्मानित भइसक्नुभएका सुवेदी राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रज्ञा साहित्य पुरस्कार’बाट पनि सम्मानित भइसक्नुभएको छ । उहाँसँग साहित्य र समाज सेवाको विषयमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानीको सार :

साहित्य, अध्ययन र लेखनमा कसरी रुचि जाग्यो ? 

२०२४/२५ सालदेखि नै मेरो साहित्यिक गुरु डा. नरेन्द्र चापागाईंसँगको प्रत्यक्ष सम्पर्कमा आइसकेको थिएँ । सोही समयदेखि विराटनगरका अग्रज साहित्यकारहरू मातृकाप्रसाद कोइराला, महानन्द सापकोटा, देवकुमारी थापा, विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण पोखरेल, तारिणीप्रसाद कोइराला आदिसँग मेरो राम्रो चिनजान थियो । यस्तै परिवेशमा मिल्स माविका तत्कालीन प्रअ गोरखबहादुर सिंहले नेपाली शिक्षा परिषद् काठमाडौँद्वारा सञ्चालित ‘साहित्यरत्न’ परीक्षामा सम्मिलित हुन अभिप्रेरित गर्दै पाठ्यक्रमको पुस्तिका दिनुभयो । नेपाली भाषा–साहित्यका पुस्तकहरू पढ्दापढ्दै मभित्र साहित्यको स्वाद प्रवेश ग-यो । 

यो उमेरमा पनि धेरै नै क्रियाशील रहनुको रहस्य ?

मान्छेमा इच्छाशक्ति भएपछि जोस र जाँगर आई नै हाल्छ । म सकारात्मक सोचमा अग्रसर हुन्छु । नकारात्मकतिर म कहिले पनि जाँदिनँ । त्यसैले सकारात्मक चिन्तन लिएर गरौँ भन्ने भावनाका साथ अगाडि बढ्दा आफूले सोचेका काम भइहाल्छन् । अझ पनि शरीरमा ऊर्जाशक्ति घटेको छैन । यसलै पनि म अझै पनि क्रियाशील छु र अझै दुई–चारवटा पुस्तक लेख्छु भनेर सङ्कल्पित छु । 

तपाईंको बेलाको साहित्य र अहिलेको साहित्यमा कस्तो भिन्नता पाउनुहुन्छ ? 

हाम्रो समयमा भाषा साहित्यका पुस्तक नै थिएनन् । हामी नेपाली वर्णमालाका पुस्तक पढेर आफूलाई अभ्यस्त बनाउँथ्यौँ । मलाई लाग्छ २०१७÷१८ सालसम्म कुनै नेपाली भाषाका पुस्तक नै थिएनन् । त्यति बेलासम्म घर–घरमा पनि हिन्दी भाषामा नै पढ्ने, लेख्ने र बोल्ने चलन थियो । महाकवि देवकोटा शिक्षामन्त्री भएपछि नेपालीमा नै बोल्ने र लेख्ने, नेपाली भाषामा पढाउनुपर्ने र नेपाली पाठ्यक्रमहरू तयार पार्नुपर्ने आदि निर्णयपछि नेपाली भाषाको विराटनगरमा प्रारम्भ भयो । पहाडतिर त्यति बेला पुस्तक नै थिएनन् । यस्तो विकट परिस्थितिबाट आएका हामी आज आएर यो सबै सुविधा प्राप्त गर्दा नेपाली भाषामा नेपाली पुस्तक नै पढेर एम.ए. गर्न पाउँदा गौरवको अनुभूति हुन्छ । 

तपाईंको पहिलो कृति कुन थियो ? 

मैले २०४० सालमा विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिग्रन्थ तयार पारेँ । २०३९ सालमा बीपी मरे र २०४० सालमा कृति प्रकाशित नै भयो । त्यो ‘बीपी कोइराला स्मृतिग्रन्थ’ थियो । त्योचाहिँ सम्पादन भनौँ । अब लेखन/छापिएको २०४४ सालमा ‘नेपाली वाङ्मयका साधकहरू’ भनेर एउटा समालोचना सङ्ग्रह थियो । त्यहाँबाट लेखन यात्रा आजसम्म आइपुग्दा यस्ता मौलिक कृति २५ देखि ३० वटा लेखिसकेँ ।  

हालको साहित्यिक सम्मान र पुरस्कारलाई कसरी हेर्न‘हुन्छ ? 

हामी त मोफसलमा बस्छौँ । मैले पनि २०३९ सालमा विराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठान स्थापना गरेर जनताको पैसाबाट करिब ३५ लाख रुपियाँको अक्षयकोष खडा गरेर त्यति बेलादेखि अहिलेसम्म करिब सय जना विद्वान्हरूलाई पुरस्कृत गरिसकेको छु । हामीले जानेर बुझेर उनीहरूको काम हेरेर मूल्याङ्कन गरेर उनीहरूलाई पुरस्कृत गर्ने गरेका छौँ । २०३९ सालदेखि सधैँ नै असार २९ गते भानुजयन्तीका दिन पुरस्कार प्रदान गर्दै आएका छौँ ।