आर्य समाजको अनुयायी परिवारमा जन्मेकी उनलाई केही भजन गाउनबाहेक गीताङ्गे बन्न पारिवारिक सहमति थिएन । बाल्यावस्थामा स्वास्थ्य खासै राम्रो रहेन । उनी बिरामी परिरहन्थिन्, अस्पतालमा भर्ना भइरहनु पथ्र्यो । जसले गर्दा उनको विद्यालयको पढाइमा त्यति सन्तोषजनक नतिजा निस्किएन ।
यस प्रकार दार्जिलिङको सेन्ट तेरेजा स्कुलमा आठौँ कक्षासम्म मात्र उनले औपचारिक अध्ययन गरिन् । स्कुलको वार्षिक दिवस तथा भानु जयन्ती आदि कार्यक्रममा सुन्दर स्वरमा कर्णप्रिय गीत गाउन थालेपछि अब यसले गीतसङ्गीतमा केही गर्न सक्छे भन्ने लागेर होला आमा आफैँले कोलकाताको रवीन्द्र भारती सङ्गीत महाविद्यालयमा भर्ना गरिदिइन् । यसपछि उनको परिचय समग्र नेपाली संसारले पाउन थाल्यो । उनी थिइन् नेपाली सुगम सङ्गीतकी कालजयी पात्र शान्ति ठटाल ।
सन् १९३८ अप्रिल ४ मा भारतको दार्जिलिङमा पिता मानुसिंह ठटाल र माता चन्द्रमाया ठटालको कोखबाट जन्मेकी शान्ति कोलकाता अध्ययनका क्रममा सङ्गीतको शास्त्रीय र सैद्धान्तिक ज्ञानमा निपुण भइन् । सुरुमा त्यहाँको बङ्गाली परिवेशमा उनले भाषाका कारण पनि निकै समस्या भोग्नु परेको थियो । समयक्रममा आफ्नो स्वरबाट प्रभावित भएर गुरुले हिन्दी भाषामा सिकाउन थालेपछि उनमा केही सहजता प्राप्त भयो ।
परिश्रमी शान्ति कति किफायती थिइन् भने आमाबाबुले खर्च भनी पठाएको केही पैसा उबारेर घर आउँदा सबैलाई केही न केही उपहार लिएर आउँथिन् । १० सन्तानमध्येकी काइँली उनी कोलकाताको अध्ययन सकिएपछि गृहनगर दार्जिलिङ फर्केर स्थानीय हिमालय कला मन्दिरमा सामेल भइन् ।
राजा महेन्द्रले आफ्नो शुभराज्याभिषेकमा दार्जिलिङको साङ्गीतिक टोलीलाई निम्त्याए । अम्बर गुरुङ, गोपाल योन्जन, अरुणा लामालगायतका कलाकारको टोलीमा सामेल भई नेपाल आएपछि उनको सङ्गीतको ग्राफ अझ उकालो लाग्यो । समालेर राख ...जस्तो कालजयी गीतका साथै अन्य पाँच वटा गीत रेडियो नेपालमा रेकर्ड गर्ने अवसर पाएपछि शान्तिको ख्याति थप चुलियो ।
राजा महेन्द्रको सदाशयता त छँदै थियो गायक पुष्प नेपालीको पनि यो मामलामा ठुलो सहयोग रहेको कुरा उनी आज सगर्व भन्छिन् । रेकर्डिङका क्रममा हार्मोनियम बजाएर गाउने अनुमति रेडियो नेपालमा थिएन तर शान्तिले हार्मोनियमबिना गाउँदिन भनेर जिद्दी गरेपछि उनका लागि हार्माेनियम बजाई गाउन छुट दिइएको थियो । यसलाई शान्ति आफ्नो गायकी जीवनको एउटा अविस्मरणीय क्षण मान्दछिन् ।
हार्माेनियमका रिडसित खेल्दै गाउनमा उनलाई अर्कै आनन्द आउँथ्यो । त्यसअघि कोलकाताको एचएमभी रेकर्डमा शिवप्रसाद सिंहको पहलमा पहिलो पटक शान्तिको चाँदनी चाँदनी तिमी छौ शितल ...बोलको गीत रेकर्डसँगै उनको औपचारिक गायकी जीवन सुरु भएको थियो । उनले उमेर परिपक्व भएपछि बिहे गरी घरजम गर्नुको साटो गीतसङ्गीतसित बिहे गरी त्यसैसित रमाइन् । शिवप्रसाद सिंहले आफ्नो नाटकमा शान्तिको सुमधुर पाश्र्वगायनको आकलन गरी उनको अथाह साङ्गीतिक क्षमताका लागि उनका नाममा लगानी गरेका थिए ।
शान्तिको घरमा रेडियो थिएन । गीत सुन्न उनी नजिकैको बजारमा जान्थिन् । रेडियोमा लता मङ्गेशकरका फिल्मी गीत सुनेपछि उनी लताकै भक्त भइन् । यस मानेमा शान्ति लतालाई आफ्नो गायकी जीवनको प्रथम गुरु मान्छिन् । अघि नै उल्लेख भइसक्यो आफ्ना बाबुआमा छोरीले फिल्मी गीत गाएको त्यति मन पराउँदैनथे तर शान्ति लुकीछिपी यस्ता गीत गाई नै रहन्थिन् । भानु घोष, शिवप्रसाद सिंह तथा अम्बर गुरुङहरू उनका अर्को चरणका गुरु रहे भने उनै अम्बर, मनबहादुर मुखिया, वैरागी काइँला, जस योन्जन प्यासी, इन्द्र थपलिया, नोर्देन रुम्बा, ईश्वरबल्लभ, रत्नशमशेर थापा, बलि सुब्बा, मधुसूदन लामा, कालुसिंह रनपहेली, धन लेप्चा आदिका गीतमा उनले न्याय गरिन् ।
ईश्वरबल्लभको शब्द रहेको एउटा निलो सूर्यास्त नामक क्यान्टाटामा मणिकमल क्षेत्रीको सहयोगमा उनले गरेको जीवन्त सङ्गीत संयोजन आजपर्यन्त कर्णप्रिय रहेको छ । आज उनले उमेरमा साढे आठ दशक पार गरिसकेकी छन् । नारायणगोपालसित युगलगीत गाउने र आफ्नो सङ्गीतमा तारादेवीलाई गाउन लगाउने उनको धोको पूरा भएन । यसलाई उनी घिडघिडो रहेको मान्छिन् । आफ्नो सङ्गीतमा मेरो कथा खाली खाली पिँजडामा खोज ...बोलको गीत नारायणगोपालको एउटा स्वर भर्न सफल भइन् तर युगलगीत गाउन नपाउनुमा नारायणगोपालसित आफ्नो स्वरको रेन्ज मिल्न नसकेकाले पनि हो भन्ने ठान्छिन् ।
नारायणगोपालको हाई रेन्ज र शान्तिको लो रेन्जको संयोजन हुन पनि गाह्रै कुरा थियो । यस मामलामा उनको कम्पोजमा अर्काे एउटा नारायणगोपालले रियाज गरिसकेको साँचो कुरा भनिदिँदा सबै कान थुन्छन्.... बोलको गीत तत्कालीन पञ्चायती रेडियोले रेकर्ड गर्न नदिएको तितो सत्यलाई शान्तिले आज पनि बिर्सेकी छैनन् तर नेपालमा प्रजातन्त्रको पुनर्बहालीपछि रामकृष्ण ढकालको स्वरमा त्यो गीत रेकर्ड भएपछि उनलाई केही सन्तुष्टि मिलेको छ ।
कोलकाताको बसाइमा उनका शास्त्रीय सङ्गीतका गुरुसमेत उनको गायकीबाट छक्क पर्थे । शान्तिले तानपुरा समातेर गीत गाएपछि एउटी पहाडे केटीमा मर्मस्पर्शी स्वर रहेको आकलन गरी पूर्वजन्ममै यसले रियाज गरेर आफूलाई खारेर आएकी भनेको क्षणलाई भुल्न सकेकी छैनन् शान्तिले । कोकिलकण्ठी स्वर भए पनि पछिल्लो चरणमा गाउनभन्दा उनी कम्पोज गर्नमै रमाउनुको कारण चिकित्सकले धेरै गीत गाउनु घाँटीका लागि ठिक छैन भनेपछि नै हो ।
बाँच्न चाहनेहरू सिनेमामा आफूसँग नारायणगोपालले गाउने टुङ्गो लाग्दा औधी खुसी लागेको तर त्यो सपना पूरा नहुँदा त्यत्तिकै दुःख लागेको प्रसङ्ग शान्ति ठटालसित छ । निर्देशक प्रताप सुब्बाले सो सिनेमाको शीर्षगीत हार लगाऊ दुःखहरूको बाँच्न चाहने मान्छे.....का लागि नारायणगोपालकै सहमतिमा कोलकाताको एचएमभी रेकर्डस्मा मिति लिइसकेका थिए तर नारायणगोपाललाई परिस्थितिले साथ दिएन । पेमा लामाको स्वरमा सो गीत रेकर्ड भयो ।
स्वरमल्लिकाको उपाधि दिएका छन् वरिष्ठ सङ्गीतकार तथा पलेँटी शृङ्खलाका नायक आभाषले । हुन पनि हो उनका विचारमा शान्ति नेपाल र भारतमा मात्र होइन दक्षिण एसियाको गायन क्षेत्रमा नै श्रद्धापूर्वक लिइने नाम हुन सक्छ । दार्जिलिङ क्षेत्रबाट धेरै पटक पलेँटीमा सहभागिता जनाउने पनि उनै शान्ति रहिन् । उनलाई साथ दिन चन्दन लमजेल, विमला सिन्चुरी तथा अञ्जली प्रधान आदिको टोली नै आउँथ्यो ।
सिक्किममा छँदै उनले महाकवि देवकोटाको मुनामदन कम्पोज गरी गीतिनाटकका रूपमा प्रस्तुत गरेको इतिहास छँदै छ । प्रताप सुब्बाको सिनेमा परालको आगो र बाँच्न चाहनेहरूको पाश्र्वसङ्गीतको जिम्मेवारी बिनापारिश्रमिक बहन गरिन् शान्तिले । यस मानेमा पहिलो महिला पाश्र्व सङ्गीतकारको परिचय शान्तिसित छ । प्रताप काठमाडौँ आइसकेपछि पनि उनले सुब्बाको दिदी चलचित्रको एउटा गीतको अत्यन्त व्यस्तताका बीच पनि संयोजन गरेकी थिइन् ।
चलचित्र सङ्गीतमा कथाले मागेको सिनेम्याट्रिक भावनालाई सम्बोधन गर्ने क्षमताको पुष्टि उनले गरेकी छन् भने लोक र आधुनिक दुवै लयलाई समान न्याय गरेकी छन् । दुई सयभन्दा बढी गीतमा सङ्गीत भरेको इतिहास बोकेकी शान्तिले अम्बरको शब्द रहेको उनको आइकन गीत समालेर राख सँगालेर राख ...पहिलो पटक अम्बरले ट्युनिङ कम्पोज गरेर ल्याउँदा त्यसलाई ठाडै अस्वीकार गरेकी थिइन् । आज हामी जुन ट्युनिङमा त्यो गीत सुन्छौँ त्यो अम्बरले शान्तिले नकारेपछि दोस्रो पटक गरेको सङ्गीत हो । आफू गहन र ओजपूर्ण गीतका लागि जन्मेकीले यस्तो हल्का ट्युनिङ म गाउँदिन भनेर अम्बर जस्तो सङ्गीतकारलाई भन्न सक्नुमा नै दम छ । यस्तो रमाइलो सन्दर्भयुक्त छ यो गीत कम्पोजको रचनागर्भ । अम्बर पनि यस्ता पात्र रहे जसको शब्दमा सङ्गीत कि त उनको आफ्नै रह्यो कि त शान्ति ठटालकै ।
कालजयी गीत समालेर राख सँगालेर राख... नै उनको एउटा टे«डमार्क रहेको छ । यसैले गर्दा यसलाई शान्तिगीत भन्न सकिने तर्क छ सञ्चारकर्मी सुमन खरेलको । कोलकाताको रवीन्द्र भारती सङ्गीत विद्यालयबाट बी म्युज गरेर फर्केको अवस्थामा उनले अम्बरलाई दोस्रो पटक ट्युनिङ गरेर गाएपछि त्यो गीत कालजयी बन्न पुग्यो । नेपालीमाझ त यो गीतले तहल्का नै पिट्यो धेरै अनेपाली गायकगायिकाले पनि यो गाएको सुन्दा शान्तिले आफ्नो साङ्गीतिक जीवनमा केही गर्न सकेको जस्तो लाग्छ ।
आजीविकाका लागि उनी सर्वप्रथम दार्जिलिङको लोकमनोरञ्जन शाखामा कार्यरत रहिन् । पछि केन्द्रीय महाविद्यालय सिक्किमको सङ्गीत प्रशिक्षक र सिक्किम सरकारको सांस्कृतिक विभागको निर्देशक रहेको अनुभव छ शान्तिसित । रवीन्द्र सङ्गीतको औपचारिक अध्ययन रह्यो उनको तर गीतमा नेपाली लोकलयको ठेटपनाले शान्ति अजम्बरी बन्न पुगेकी छन् । मनबहादुर मुखियाको उडिजाउँ भने म पन्छी होइन बस्नलाई मन छैन ...तथा इन्द्र थपलियाको चौबन्दीको तुनामा... जस्ता गीतले यो पनको सार्थक परिचय दिएका छन् । समग्र पश्चिम बङ्गाल क्षेत्रमा रवीन्द्र सङ्गीतका नाममा नेपाली मौलिक सङ्गीत छायामा पर्ने देखेर त्यतिबेला जितेन्द्र बर्देवा तथा अशोक राई आदिले देवकोटा सङ्गीत नामक अभियान चालेका थिए । आफू रवीन्द्र भारती शिक्षालयको उत्पादन रहेर पनि शान्तिले नेपाली मौलिक धुनको कम्पोज र गायनमा गरेको समर्पणभाव उनको नेपाली सुगम सङ्गीतप्रतिको कहिल्यै नमेटिने छाप हो ।
साधना र सिर्जनाका अर्थमा एउटा किंवदन्तीका नायक भन्न मिल्ने शान्ति नेपाली सङ्गीतको एउटा पृथक् कालखण्डकी टे«न्ड सेटर हुन् । गीतिनाटक, चलचित्र र क्यान्टाटाका नवप्रयोक्ता उनको आज बुढ्यौली उमेरमा अवकाशप्राप्त जीवन भारतको सिलिगुडीमा बित्दै छ । छोरीलाई चुलोचौकामा मात्र सीमित राख्न चाहने त्यो जमानामा पनि उनले बाबुआमाबाट छोरासरह छोरीलाई पनि शिक्षादीक्षा दिनु पर्छ भन्ने मान्यता प्राप्त गरिन् । हुन सक्छ यसै कारणले होला अन्य दाजुभाइ तथा दिदीबहिनीभन्दा उनी आमाबाबुसित सदा निकट रहिन् । आजन्म अविवाहित रहनुपर्दा अझ यो भावनाले पूर्णता पायो ।
तत्कालीन नेपालको रैथाने सनातनी साङ्गीतिक ढर्राप्रति ठटालले अम्बरपछि महिलाका तर्फबाट धावा बोलेको सत्य हो । नेपाली सुगम सङ्गीतलाई भिन्न टे«न्डमा प्रस्तुत गर्ने ठटालको शैलीले नेपाली सङ्गीतलाई आधुनिकीकरणमा ठुलो सहयोग गरेको छ । दलसिंह गहतराज, हिराकुमार सिंह, नवीन बर्देवा हुँदै जितेन्द्र बर्देवाहरूले खनेको गोरेटोलाई निःसन्देह फराकिलो पार्ने एउटा सफल कर्मीको नाम हो शान्ति ठटाल ।
यसै मेसोमा शरण रञ्जित, अगमसिंह गिरी, अम्बर गुरुङ र कर्म गोपालहरूको लस्कर पनि छँदै छ । नारायणगोपाल, रामकृष्ण ढकाल, पेमा लामा, अरुणा लामा, विमला सेन्चुरी प्रधान, शङ्कर गुरुङ, दीपा गहतराज, दावा ग्याल्मो देवान, अञ्जली प्रधान आदिका स्वरलाई उच्चता दिने शान्तिलाई नेपालको तर्फबाट दिइएको जगदम्बाश्रीले आफ्नो जीवन सार्थक भएको महसुस हुन्छ ।
सिक्किम सरकारको मित्रसेन पुरस्कार, पश्चिम बङ्गाल सरकारको अगमसिंह गिरी पुरस्कार, नेपालको जगदम्बा श्री तथा छिन्नलता पुरस्कार, नारायणगोपाल स्मृति पुरस्कार आदि उनका परिचायक हुन् । नेपाली सङ्गीतका महिला त्रिमूर्तिमध्येका दुई अरुणा लामा र तारादेवीको महाप्रस्थान भइसकेको छ, बाँकी रहेकी शान्ति ठटाल एउटी गायिका र सङ्गीतकार मात्र नभएर स्वयम्मा एउटा सङ्गीतको विश्वविद्यालय हुन् । यसमा कुनै सन्देह छैन । जगदम्बाश्री जस्तो सम्मानकी भागिदार शान्तिको सम्मान नेपालले खुला हृदयले गरिसकेको छ ।
कोलकाताबाट बी. म्युज. त गरिन् उनले तर औपचारिक शिक्षा दार्जिलिङ छँदै आठौँ कक्षामा ब्रेक लागेको थियो । कोलकाताबाट फर्केपछि भने उनलाई आफ्नो पढाइ रोकिएकामा चिन्तित भई पुनः प्राइभेट एसएलसी पास गरी स्थानीय लोरेटो कलेजमा भर्ना भई स्नातक पनि भएकी हुन् । पाको उमेरमा कलेजमा भर्ना हुँदा उनलाई धेरै सहपाठीले कलेजको शिक्षक पनि ठाने होलान् तर उनले यो प्रसङ्गलाई रमाइलो क्षण मानेकी थिइन् ।
बाबुआमाले सङ्गीतको विराट् अध्ययनका लागि कोलकाता पठाउनु र राजा महेन्द्रको निम्तामा नेपाल आई गीत प्रस्तुत गर्नुका साथै पाँच वटा गीत रेकर्ड गर्न पाउनुलाई उनी आफू भाग्यमानी ठान्छिन् तर भाग्यले मात्र मान्छेको जीवनलाई कहाँ आँक्छ र ! उनीभित्रको अथाह साङ्गीतिक ज्ञान र सिर्जनात्मक कलाले नै उनलाई आजको ठाउँमा ल्याएको हो ।
रवीन्द्र भारतीमा शास्त्रीय सङ्गीतको अध्ययनअघि शान्तिको गायनयात्राको पहिलो चरण रह्यो भने कोलकाताबाट फर्केपछि सिक्किम जानुअघिको चरण दोस्रो रह्यो । यही उनको दोस्रो चरण नेपाली सुगम सङ्गीतको उत्कर्षको काल थियो । अम्बर गुरुङ, शरण रञ्जित, बच्चुकैलाश, नातिकाजी, भूपि शेरचन, ईश्वरबल्लभ, अगमसिंह गिरी तथा कर्म योन्जनको सक्रियकाल । हुन सक्छ यसै कारण पनि कसैले यो कालखण्डलाई नेपाली सङ्गीतको स्वर्णयुग भनेको । यो यदि स्वर्णयुग हो भने सो युगको नेतृत्व गर्ने एउटा पात्रको नाम हो शान्ति ठटाल ।
राजा महेन्द्र आफैँ पनि कला र सङ्गीतका पारखी हुनुका साथै बारम्बार दार्जिलिङ आउजाउ गरिरहनु तथा नगेन्द्र थापा, शङ्कर लामिछाने तथा उत्तम कुँवरहरूले काठमाडौँ र दार्जिलिङका बीच मितेरी गाँस्न पहल गर्नु आदिले पनि त्यो युगको साङ्गीतिक उत्कर्षताका लागि थप बल पुगेको मान्न सकिन्छ ।
आज कम्प्युटरको जमाना छ । गीत कम्प्युटरले टालटुल गरी आफैँ मिलाउँछ तर उनको जमाना रेकर्डिङ गर्ने प्रविधि आजको जस्तो थिएन । रेकर्डिङका क्रममा बीचमा कुनै गल्ती भए पूरै गीत सुरुदेखि नै गाउनु पथ्र्यो । यो क्रम बारम्बार दोहोर्याउनु पर्दा निकै लखतरान भएको अवस्था पनि शान्तिले भोगेकी छन् । यस्तो कठिन अवस्था भोग्नुपर्दा पनि उनी भन्छिन्– “गीत कम्प्युटरले गर्ने होइन मानव मनको अन्तर्यले गर्ने कला हो । गीत हेर्ने कुरा होइन कानले सुनेर मनले झङ्कृत गर्ने कुरा हो ।”
हुन पनि हो आज गीतभन्दा म्युजिक भिडियो बुझिने जमानामा आजको पुस्तालाई शान्तिको प्रारम्भिक जीवनकथा एकादेशको कथा झैँ लाग्न सक्छ । उडीजाउँ भने म पन्छी होइन ..., चौबन्दीको तुनामा .....हार लगाऊ दुःखहरूको बाँच्न चाहने मान्छे ...तथा हरर बरर धान काट्नु सरर.... जस्ता उनका सिर्जनाहरू कहिल्यै मर्दैनन् । महिला गायकीको सन्दर्भमा सङ्गीतले मागेको मोहकता र न्याय प्रदान गर्ने क्षमता राख्ने सामथ्र्य ठटालसित छ ।
–युवामञ्च