राजन रावत
हुम्ला, मङ्सिर १८ गते । उत्तरी हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित भएको छ । हिउँ नपरेको भए पनि चिसो निक्कै बढेका कारण सिमेन्टको काम नहुने भएपछि ती योजनाको काम चार महिनाको लागि बन्द गरिएको हो ।
चिसो माइनस डिग्री सेल्सियसमा झरेपछि कर्णाली काेरिडोरको च्याछरादेखि याल्वाङ गौडासम्मको सडकको सिमेन्टको काम बन्द गरिएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । उक्त सडकमा सिमेन्टको काम गर्दा सेट हुन नसकेपछि तयार पारिएको मसला समेत खेर गएको कारण हाललाई काम बन्द गरिएको उहाँले बताउनुभयो ।
चिसोको कारण दुई वटा योजनामा सिमेन्टको काम बन्द गरिएको बताउँदै उहाँले यसलेगर्दा काम गर्न ढिलाइ हुने बताउनुभयो । यता पूर्वाधार विकास कार्यालयद्वारा सञ्चालन गरिएको सिमकोट खार्पु (मानसरोवर कैलाश गेटवे) एकीकृत पूर्वाधार बिकास कार्यक्रम अन्तर्गत छ वटा योजनामा सिमेन्टको काम बन्द गरिएको कार्यालय प्रमुख नरेशराज जैसीले बताउनुभयो ।
यद्यपि सिमेन्ट बाहेकका अन्य काम भने सुचारु हुने उहाँले बताउनुभयो । यसरी बन्द गरिएका पूर्वाधार विकासका योजनामा बालमन्दिर मावि भवन, कालाशिल्ता मन्दिर (माडु) विजय होटेलबाट मानसरोवर माविसम्मको सडक ढलान, विधुत चोकबाट तल्लो गाउँ सडक ढलान, शिव मन्दिर निर्माण र तल्लो गाउँ सडक ढलानको सिमेन्टको काम बन्द गरिएको कार्यक्रमका लागि निर्माण कम्पनीका प्रतिनिधि विजय लामाले बताउनुभयो ।
चिसोले काम नहुने भएपछि दुई वर्षमा सम्पन्न गर्नुपर्ने अधिकांश योजनाको निर्माण कार्यमा ढिलाइ हुने उहाँले बताउनुभयो । यता सामाजिक विकास कार्यालयले ६६ वटा योजनाहरूको निर्माण कार्य अगाडि बढेको भए पनि सिमेन्टको काम आगामी माघ १५ गतेसम्म बन्द गरिएको कार्यालयका सब इन्जिनियर धर्मराज बोहरोले बताउनुभयो ।
त्यसैगरी नाम्खा गाउँपालिकाले पनि आफ्ना केही योजनाहरूको सिमेन्टको काम गर्नुपर्ने योजनाको काम बन्द गर्नु परिरहेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी सिमकोट गाउँपालिकाले पनि आफ्ना सिमेन्टको काम गर्नुपर्ने योजनाको सिमेन्टको काम नहुने भएपछि काम बन्द गर्नु परेको जनाएको छ ।