• १५ असार २०८१, शनिबार

आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सांसद सुवालको माग

blog

काठमाडौं, असार २३ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि नयाँ बजेट पेश गर्न सरकारसँग माग गर्नुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद सुवालले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएकाले उहाँले प्रस्तुत गर्नुभएर संसदबाट पारित भएको सो बजेट खारेज गरी नयाँ ल्याउन जरुरी रहेको बताउनुभएको हो ।

सांसद सुवालले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय अमेरिकालाई पत्राचार नगरेको भन्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कारबाही गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

यसैगरी, नगरकोट र दुवाकोट सडक समयमा पुनर्निर्माण र कालोपत्रे समयमै नहुँदा स्थानीय जनता र पर्यटकलाई कठिन भइरहेको सदनलाई जानकारी दिनुभयो ।

‘‘यी दुवै सडकको निर्माण कार्य अविलम्ब सम्पन्न गरियोस् । सार्वजनिक वन मासेर भक्तपुर बाघेश्वरीमा खानेपानीको मुहान रहेको भँगेरीडाँडामा रवि खेलमैदान बनाइएको छ । खारेज गरियोस् ।,’’ उहाँले भन्नुभयो । 

उहाँले भक्तपुरको दुवाकोट र नगरकोट सडकको कालोपत्रे समयमै सम्पन्न गराउन पनि सरकारलाई सचेत गराउनुभयो ।