• १३ असोज २०८१, आइतबार

एसपीपीमा सहभागी नहुनेबारे अमेरिकालाई पत्राचार गर्न माग

blog

काठमाडौं, असार २३ गते । नेकपा (माओवादी केन्द्र)का सांसद एवम् प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गर्नु भएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्नुहुँदै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्को सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले एमसीसी सम्झौतासँगै संसदबाट पारित १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्छ कि गर्दैन ? भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने बताउनुभयो ।

उहाँले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेमात्रै सो परियोजना नेपालमा लागू हुने पनि स्मरण गराउनुभयो ।

‘‘सरकारले एसपीपी सम्झौता नगर्ने निर्णय अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार भएको छैन । अविलम्ब पत्राचार गरियोस् ।,’’ सांसद गुरुङले भन्नुभयो, ‘‘त्यस्तै, आईपीएसको मेम्बर चाहिँ २०१९ देखि बनिसकेको कुरा सार्वजनिक मिडियाहरुबाट आइसकेको छ । अस्ति पूर्व प्रधानमन्त्रीज्यूले पनि भनिसक्नुभएको छ । आईपीएसको सदस्य नेपाल बन्न सक्दैन । त्यो कुरा पनि अविलम्ब पत्राचार गरियोस् ।’’

यसैगरी, उहाँले सदनबाट एमसीसी पास गर्ने बेलामा १२ बुँदे घोषणापत्र जारी भएको बताउनुहुँदै त्यो घोषणापत्रबारे अहिलेसम्म अमेरिकाले स्वीकार गरेको अवस्था रहेको बताउनुभयो । ‘‘त्यो स्वीकार हुने वा नहुने सरकारले अविलम्ब पत्राचार गरोस् । त्यो घोषणापत्र स्वीकार नगरेको अवस्था एमसीसी परियोजना रोकिन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘स्वीकार्य भएको अवस्थामा मात्रै यो परियोजना अघि बढ्छ । यो विषयमा पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’’

प्रमुख सचेतक गुरुङले नेपाल आईपीएस (इन्डोप्यासेफिक स्ट्राटिजी) को सदस्य राष्ट्र बन्नै नसक्ने धारणा राख्नुभयो ।