• १३ असोज २०८१, आइतबार

तेजाब कारण महिलाहिंसाका घटना हृदयविदारक : गृहमन्त्री खाण

blog

काठमाडौं, असार २२ गते । राष्ट्रियसभाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बिहीबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्नुभएको हो ।

उक्त विधेयकका विषयमा गृहमन्त्री खाणले महिला र बालबालिकामाथि हिंसा बढ्दै गएकाले कारबाही र नियमन गर्नका लागि यो बनाउनुपरेको बताउनुभयो ।

“यस्ता पद्धार्थको उत्पादन, निकासी पैठारी, प्रयोगलाई कसरी नियन्त्रण र विस्थापन गर्ने भन्ने प्रयोजनका लागि यो ऐन ल्याउन लागिएको हो,”उहाँले भन्नुभयो, “तेजाबका कारण महिलाहिंसाका घटना हृदयविदारक छन्, उत्पादन गर्दा पनि व्यवस्थितरुपमा गर्नुपर्ने, आयात निर्यात गर्दा सुरक्षित बनाउन यो ऐन जरुरी भएको हो ।’’

उहाँले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ भण्डारण गर्न, किन्न र बेच्न नपाउने कानुन बनाउन लागेको जानकारी दिनुभयो । यस्ता घातक पदार्थ सहजरुपमा उपलब्ध हुँदा विकृति बढेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै, बैठकमा सांसदहरुले महिलामाथि तेजाब आक्रमणजस्ता गतिविधि हुने गरेकाले रोक्नका लागि यो ऐन बनाएर छिट्टै कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २८ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।