• १२ असार २०८१, बुधबार

स्वच्छ धरान बनाउने अभियानमा प्रमुख राईलाई सहयोग

blog

सहयोग सामग्री ग्रहणगर्दै प्रमुख हर्कराज राई । तस्बिर : गोरखापत्र

निशा राई

धरान, असार २३ गते । स्वच्छ धरान राम्रो धरान बनाउने धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको अभियानलाई साथ दिँदै उपमहानगरपालिकालाई स्वदेश तथा विदेशबाट सहयोग आइरहेको छ ।

हाल सम्म युके, हङकङ, पोर्चुगल निवासी, फाइबर कम्पनी आइएमई लाइफ इन्स्योरेन्स, मेगा बैंकले फोहोर व्यवस्थापन गरी धरानलाई सफा बनाउन करीब २ सय वटा डस्वीन नगरप्रमुखको अभियानमा सहयोग गरेको छ । त्यस्तै यूके निवासीले १ लाख ६ हजार पर्ने खानेपानीको पाइप पनि सहयोग गरेको छ ।

नगरप्रमुख राईले दाताहरुलाई धन्यवाद व्यक्त गर्दै धरानलाई सफा, सुन्दर बनाउने आफ्नो अठोट भएको बताउनुभयो । उहाँले धरानलाई सफा राख्ने अभियान जारी रहेको र धरान सफा बनाउने उद्देश्यका साथ इस्वीन राखेर मात्र नहुने भएकोले मङ्गलबार बसेको कार्यपालिका बैठकमा धरान बजार एरियाभित्र जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने निर्णय पारित भएको बताउनुभयो ।

फोहोर व्यवस्थापनमा नै करोडौ रुपियाँ खर्च भइरहेकोले नगरबासी आफैँ जिम्मेवार भएर आफ्नो घर, आँगन र घर अघिको बाटो सफा राखेमा त्यो रकम अन्य विकास निर्माण वा सामाजिक कार्यमा खर्च गर्न सकिने बताउनुभयो ।