• १२ असार २०८१, बुधबार

भाषा संस्कृतिको साइनो अमर : चाम्लिङ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २३ गते । भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङले भौगोलिक दृष्टिकोणले फरक मुलुक भए पनि नेपाली जातिको भाषा र संस्कृति एउटै रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “आज हामी जहाँ बसे पनि राष्ट्रियता फरक पर्न सक्छ तर भाषा र संस्कृति हाम्रो सधैँ एउटै रहने छ । एउटै हुनेछ । भाषा र संस्कृतिले नै नेपाली जातिको पहिचानलाई विश्वमा स्थापित गर्नेछ ।”

सोमबार आयोजित डा. डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार, २०७८ अर्पण समारोहमा उहाँले भाषा र संस्कृतिको साइनोमात्रै हाम्रो अमर साइनो हो भन्नुभयो ।देशभित्र र बाहिर मानिसले आफ्नो भाषा छोड्दै जानु हाम्रो समाजका लागि दुःखान्तको विषय रहेको बताउँदै सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङले नेपाली भाषा र संस्कृतिलाई अमर बनाउन सबैले योगदान दिनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आधुनिकताका नाममा आफ्नो भाषा संस्कृतिलाई महìव दिन छाडेका छौँ भन्दै यसप्रति सचेत र चिन्तित हुनुपर्ने स्थिति आएको बताउनुभयो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समाजलाई चेतनशील र समृद्ध बनाउन पुस्तकको अध्ययन नै प्रमुख आधार रहेको बताउनुभयो । पुस्तक पढेर मानिस ज्ञानशील नभएसम्म औपचारिक शिक्षाले मात्र समाजलाई रूपान्तरण गर्न नसक्ने बताउँदै उहाँले पुस्तकलाई माया गर्नु, सम्मान गर्नु र पुस्तकालयप्रति उत्तरदायी हुनु आजको आवश्यकता हो भन्नुभयो ।

“हामी जहाँ बसे पनि राष्ट्रियता फरक पर्न सक्छ तर भाषा र संस्कृति सधैँ एउटै रहन्छ । भाषा र संस्कृतिले नै नेपाली जातिको पहिचानलाई विश्वमा स्थापित गर्नेछ ।”

उहाँले पछिल्लो पुस्तालाई लेखन, साहित्य सिर्जना र पुस्तक अध्ययनमा केन्द्रित हुन आग्रह गर्दै सामाजिक सञ्जाल र समाचारको शीर्षक हेरेर धारणा बनाउने अहिलेको समाज सत्यको गहिराइमा पुग्न नसक्नु दुःखद पक्ष रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङ डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार र सुलक्षण शान्ति विहार कीर्तिपुरका प्रमुख डा. अनोजा गुरुमालाई शान्ति पुरस्कार प्रदान गरिएको थियो । पूर्वमुख्यमन्त्री चाम्लिङलाई बुद्धको प्रतिमासहित पुरस्कार प्रदान गरिएको थियो । डा. गुरुमालाई पुरस्कारसहित एक लाख रुपियाँ प्रदान गरिएको थियो । 

सो अवसरमा सार्वजनिक पुस्तकालयको विकास र विस्तार विषयक निबन्ध प्रतियोगितामा प्रथम हुनुभएका रमेश भट्टराईलाई २५ हजार रुपियाँ, दोस्रो हुनुभएका पूर्ण भण्डारीलाई २० हजार रुपियाँ, तेस्रो हुनुभएका विजय शर्मालाई १५ हजार रुपियाँसहित पुरस्कार प्रदान गरिएको थियो ।