• ४ असार २०८१, मङ्गलबार

बेसहारा ताराका लागि न घर, न वृद्धाश्रम

blog

बैतडी, असार २३ गते । श्रीमान् बेपत्ता भएको ३० वर्ष भयो । सहारा दिने दुई छोरी पराइघर गए । ओत लाग्ने एउटा जीर्ण घर पनि असारे झरीले भत्काएपछि ६८ वर्षीया तारा भट्टको बिचल्ली भएको छ । दशरथचन्द नगरपालिका–२, कठपतेनजिकै रहेको सुतेगाड निवासी भट्टको घर भत्केपछि तारा भट्ट बिचल्लीमा पर्नुभएको छ । अन्नपात, लुगाफाटो र भाँडाकुँडा सबै पुरिएपछि खाना पकाउन नसकेको ताराले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई सहारा दिने कोही छैन । ओत लाग्ने एउटा घर थियो, त्यो पनि यसपालि भत्क्यो । अब म कहाँ जाऊँ ?”

ज्येष्ठ नागरिक ताराको सहारा कोही नभएपछि छिमेकी ज्योतिष पं. कृष्णदत्त भट्टले उद्धार गर्नुभएको छ । सो घटनाबारे उहाँले नै प्रहरीलाई जानकारी गराउनुभएको थियो । प्रहरी चौकीमा निवेदन दिएपछि मङ्गलबार स्थानीय देहिमाडौँ प्रहरी चौकीबाट जाँचबुझ टोली आएको भट्टले बताउनुभयो । 

गरिब तथा विपन्न वर्गले जनता आवासको घर पाउने भए पनि आफ्नो बोलिदिने कोही नभएका कारण जनता आवासको घर नमिलेको तारा भट्टले गुनासो गर्नुभयो । घर भत्केर बिचल्लीमा पर्नुभएका तारा भट्टको विषयमा दशरथचन्द नगरपालिकामा कुरा आएकाले राहतको व्यवस्था गर्ने तयारी भइरहेको सामाजिक विकास शाखाका प्रमुख विनोद चन्दले बताउनुभयो । चन्दले भन्नुभयो, “घर बनाउने बजेट त हामीसँग छैन । केही दिनका लागि पुग्ने खाद्यान्न र लुगाकपडा दिन सकिन्छ । असार मसान्त भएकाले भएको बजेट पनि खर्च भइसकेको छ ।” 

दशरथचन्द नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा ज्येष्ठ नागरिकका लागि तय गरेको कार्यक्रमअनुसार कम्बल वितरण र सम्मानको कार्यक्रम राखेर दुई लाख रुपियाँको बजेट खर्च भइसकेकाले आगामी आर्थिक वर्षमा केही राहत दिन सकिने दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताउनुभयो । 

प्रशासकीय अधिकृत चन्दले भन्नुभयो, “तारा भट्टलाई सम्मान दिएर भएन, उहाँलाई सहाराको खाँचो देखिएको छ । दशरथचन्द नगरपालिकामा रहेको वृद्धाश्रमको भवन सञ्चालन नहुँदा जीर्ण बनेकाले तत्कालै उहाँलाई राख्न सकिने अवस्था छैन ।” दशरथचन्द नगरपलिकासँग तारा भट्टजस्ता असहाय वृद्धवृद्धाको सङ्ख्याको कुनै तथ्याङ्क छैन ।