- विगतमा वित्तीय संस्था खोल्ने नाममा जथाभाबी लाइसेन्स वितरण गरियो, जहाँ नियमकको बेहोसीपना देखिन्छ । अधिक मात्रामा वित्तीय संस्था खुलेकै कारण नियामकको नियमनको दायरा फराकिलो हुन नसक्दा विभिन्न समस्या आएका कारण मर्जरको नीति अघि सारियो ।
- हाइड्रो उद्योगमा पनि केही लगानी फुल फेजमा प्रोजेक्ट चल्दा पनि किस्ता तिर्न नपुग्नु भनेको लगानी विश्लेषण क्षमताबिनाको लगानी भएको भन्न सकिन्छ, अर्कोतिर साना तथा मझौला उद्योगमा वृद्धिको अवस्था छैन ।
- उस्तै तरिकाबाट काम गर्दा नतिजा पनि उस्तै आउने हो, त्यसैले भिन्न नतिजाका लागि काम गर्ने तौर, तरिका र सोचसमेत नयाँ बनाएर भिन्न नतिजा आउने गरी काम गर्नु आजको आवश्यकता हो ।
लगानीको सेचुरेसन तथा सन्तृप्ति भन्नाले बैङ्क तथा वित्तीय संस्थाहरूका आफ्नो लगानी गर्ने क्षमता र स्रोतको सीमा सकिएको भन्ने बुझाउँछ । बैङ्क तथा वित्तीय संस्थामा आउने यस्तो अवस्था, जहाँ लगानी गर्न नियामकले तोकिदिएको सीमा पूरा हुनु, पुँजी वा तरलता अभाव हुनु, नयाँ लगानी गर्न बजारमा उपयुक्त वातावरण अनुकूल नभइरहनु, जोखिम उठाउने क्षमता सीमित रहनु तथा नहुनु जस्ता परिस्थितिलाई लगानीको सन्तृप्ति भनिन्छ । करिब विसं २०८० को पहिलो त्रैमासदेखि २०८२ को पहिलो त्रैमासपछिको केही समयसम्म लगानीको वातावरण उस्तै रहने हो कि भन्ने कौतूहलताले बजारमा लगानीको सन्तृप्तिको अवस्था सिर्जना भएकै हो त भन्ने प्रश्न उब्जाएको छ । लगानी सन्तृप्तिको सङ्केतलाई हेर्ने हो भने केही परिस्थिति आजको दिनमा मिल्दा–जुल्दा देखिएका छन् ।
लगानी सेचुरेसनको सङ्केतसँगै वित्तीय बजारमा बैङ्क तथा वित्तीय संस्थाको लगानी सेचुरेसनको स्थिति हो होइन भन्ने सन्दर्भमा विगत १४ वर्षको तथ्याङ्कलाई विश्लेषण गरी हेर्न सकिन्छ ।
ऋणको सन्तृप्ति
लगानीका क्षेत्र व्यवसाय, आवास, व्यक्तिगत, पोल्ट्रिफर्म जस्ता क्षेत्र केही हदसम्म पूर्ण रूपमा वितरण भइसकेको र थप नयाँ सञ्चालन गर्ने अवस्था रहेको नदेखिनुलाई हेर्दा ऋण लिनु भनेको तिर्न सक्ने क्षमता भएकाहरूले लिने हो, तिर्ने क्षमता नहुनेले आवश्यक भए पनि लिन सकिने अवस्था रहँदैन । आवश्यक नहुनेले लिने कुरै भएन । जसले लिए तिनले नियमित गर्न नसक्दा निष्किृय कर्जा बढ्दै छ । नलिएकाहरूमा हरेक घरको कम्तीमा एउटा सदस्य कुनै न कुनै देशमा गएको अवस्था छ र घरमा हुनेले रेमिटबाट आएको पैसा उपयोग गरेर बस्ने गरेका छन् । यस्तो परिस्थितिले कतै लगानीको सन्तृप्ति भएकै त होइन भन्ने आभास गराउँछ । विगत २०६८ साल असार मसान्तदेखि २०८२ साल असार मसान्तसम्म आइपुग्दा करिब १४ वर्षको अवधिमा २०७७ साल असारदेखि २०७८ साल असारसम्म करिब २८ प्रतिशतको वृद्धि कर्जामा देखिन्छ । सोही अवधिमा निक्षेप वृद्धि भने करिब २० प्रतिशत छ । २०८९ सालमा कर्जा करिब १३ प्रतिशत वृद्धि हुँदा निक्षेप करिब नौ प्रतिशतले वृद्धि भएको छ ।
अधिक तरलता
बैङ्क तथा वित्तीय संस्थामा तरलता अधिक छ तर गुणस्तरीय लगानीको अवसर देखिँदैन । वित्तीय संस्थामा रहेको निक्षेपलाई छोटो अवधिका ऋणपत्रमा तथा सरकारी प्रतिभूतिमा लगानी गरिरहेको अवस्था छ । त्यो पनि नियमित रूपमा काम भइरहेको देखिँदैन । निक्षेप दिनानुदिन आइरहेको अवस्थाले अधिक तरलताको स्थिति बनेको छ । कर्जाको वृद्धिभन्दा निक्षेपको वृद्धि पछिल्ला वर्षमा जम्मा भएका कारण वित्तीय संस्थामा अधिक हुन पुगेको हो । जहाँ २०८० देखि २०८२ सालसम्म करिब १२ प्रतिशतका दरले निक्षेप वृद्धि भएकामा सोही अवधिमा कर्जामा भने करिब चार प्रतिशत, छ प्रतिशत र आठ प्रतिशतका दरले वृद्धि भएको अवस्थाले वित्तीय संस्थामा अधिक तरलता हुन पुगेको हो ।
जोखिम र प्रतिफलको असन्तुलन
अनुकूल वातावरण अभावमा लगानीको प्रतिफल र जोखिमबिचको सन्तुलनमा भिन्नता छ । लगानीको सिद्धान्तमा उच्च प्रतिफलका लागि उच्च जोखिम वहन गर्नु पर्छ भन्ने हुन्छ तर यो सिद्धान्तले काम गरिरहेको छैन । कर्जाको माग कम भइरहेको अवस्थामा न्यून लाभका लागि पनि उच्च जोखिम वहन गर्नुपर्ने हुन सक्छ । पछिल्लो समय जेनजीको आन्दोलन पछि त लगानी खरानीमा परिणत हुन समय नलाग्ने भन्ने त्रास पैदा भएको छ । निष्क्रिय कर्जा उकालो लागिरहेको छ भने नाफा वृद्धिमा स्थायित्व देखिँदैन । विगत १४ वर्षमा सबैभन्दा बढी खराब कर्जा रहेको आजको समय रहेको छ र नजिक रहेको भोलिको समयमा पनि खासै केही सुधारका सङ्केत देखिँदैनन् । नाफा वृद्धि कर्जाको गुणस्तरमा भरपर्ने हुँदा गुणस्तरको अवस्था सोचनीय बनेकाले लगानी अवसर त्यति सहज मानिँदैन ।
न्यून ब्याजदर
लगानीमा ब्याजदर महत्वपूर्ण पक्ष हो । सामान्यतया ब्याजदर बढेका बखत लगानी कम हुने र कम ब्याजदर भएका बेला वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्ने भन्ने गरिन्छ । बजारमा ब्याजदर एकल अङ्कमा भएको पनि लामो समय व्यतीत भइसक्यो तर लगानीको माग भएको नदेखिँदा वास्तविकता के हो त ? सोचनीय छ । ब्याजदर न्यून भएका बेला लगानीकर्ता सेयरमा, व्यवसायमा, नयाँ उद्यममा, सुन तथा विभिन्न किसिमका ऋण पत्रहरूमा लगानी गर्ने देखिनुपर्नेमा त्यसो नभइरहेको अवस्थाले लगानीको सन्तृप्ति नै होकी भन्ने देखिन्छ । यो चार्टबाट ब्याजदर १४ वर्षकै अवधिमा न्यून रहँदा लगानी बढ्न नसक्नु भनेको लगानीको सन्तृप्ति हो वा अर्को पक्ष लगानीकर्तामा लगानी गर्ने ढुक्कको वातावरण नभएकाले पनि यस्तो स्थिति भएको मान्न सकिन्छ । यस्तो ब्याजदर रहेको अवस्थामा पनि लगानी एकल अङ्कमा खुम्चिनु परेको अवस्था छ । कोभिडको महामारीपछि २०७८ सालदेखि २०७९ सालसम्म ब्याजदर बढिरहेको अवस्थामा पनि कर्जा १२.८१ प्रतिशतले वृद्धि भएको थियो । लगानीमा ब्याजदरको कुनै प्रभाव पारेको देखिँदैन ।
उल्लिखित विविध किसिमका सङ्केतको अवस्थालाई विश्लेषण गर्दा लगानी सन्तृप्तिको अवस्था हो भन्न सकिन्छ । लगानी सन्तृप्ति भयो भन्नुभन्दा पनि यो परिस्थितिबाट माथि उठ्ने उपायतर्फ लाग्नु पर्छ ।
ध्यान दिनुपर्ने विषय
उद्यमशीलताको विकासतर्फ जोड : बजारमा नव उद्यमशीलताको विकास हुन नसकेको कारणले पनि लगानी वितरण हुन सकिरहेको छैन । ग्राहक जो उद्यम गर्न चाहन्छन्, जोसँग नयाँ सोच र केही गरौँ भन्ने भावना छ, त्यस्ता लगानीकर्ताको पहिचान गरी लगानी गर्ने वातावरण सिर्जना गरी लगानी वृद्धि गर्न सकिन्छ ।
लगानीलाई विविधीकरणका आयामबाट हेर्नुपर्ने : हाम्रो वित्तीय प्रणाली हिजोदेखि पुरानै शैलीमा धितोमुखी रहेर चल्दै आएको छ । लगानीका विकल्प पहिचान गर्ने क्रममा डेरिभेटिभ मार्केटको स्थापना, सम्पत्ति व्यवस्थापन कम्पनी सञ्चालन तथा सेयर बजारलाई व्यवस्थित बनाएर सरोकारवाला निकाय लाग्नुपर्ने देखिन्छ ।
जोखिम व्यवस्थापन रणनीति तर्जुमा र कार्यान्वयन : जोखिम व्यवस्थापन रणनीति तर्जुमा गरी कार्यान्वयन गर्न सक्नु पर्छ, ताकी जोखिमका आधारमा ब्याज निर्धारण गर्ने, उच्च जोखिमयुक्त क्षेत्रमा जोखिम न्यूनीकरण नीति अवलम्बन गरी उच्च प्रतिफल कायम गर्नेतर्फ जोड दिनु पर्छ ।
कर्जा निक्षेप अनुपात न्यून : कर्जा निक्षेप अनुपात न्यून रहेको अवस्थामा सरकारी प्रतिभूतिमा लगानी बढाएर भए पनि खर्च कम गर्ने रणनीति कार्यान्वयन गर्न सकिन्छ, ब्याज खर्चको केही भाग छोटो समयका लगानीबाट प्राप्त गर्न सकिन्छ । जसले नाफा बढाउन मद्दत गर्छ ।
समयको विश्लेषण गर्ने क्षमताको विस्तार : बैङ्क तथा वित्तीय संस्थाहरूले समयको विश्लेषण गरी क्षमता विस्तार गर्न सक्नु पर्छ । वित्तीय संस्थामा बाह्य वातावरणमा आएको चुनौतीलाई संस्थाले सजग रहन तथा बच्न विकल्प पनि रहँदैन, यसबाट हुने जोखिम कम गर्ने मात्र हो । तसर्थ केही समय पर्ख र हेरको परिस्थितिलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ लगानीका नाममा असुरक्षित लगानी गर्नु आत्मघाती गोल हुने हुनाले सजग हुनु पर्छ ।
उल्लिखित अवस्था भनेका लगानी सन्तृप्तिको अवस्थालाई व्यवस्थापन गर्ने पाटो मान्न सकिन्छ, जसले वित्तीय संस्थालाई अप्ठ्यारो अवस्थामा अगाडि बढ्न सजग बनाउन सक्छ । अर्थतन्त्रको वित्तीय प्रणालीको विषयमा विश्लेषण गर्दा समस्या आजको देखिए पनि यसको सुरुवात हिजोका दिनदेखि नै भएको देखिन्छ । विगतमा वित्तीय संस्था खोल्ने नाममा जथाभाबी लाइसेन्स वितरण गरियो, जहाँ नियमकको बेहोसीपना देखिन्छ । अधिक मात्रामा वित्तीय संस्था खुलेकै कारण नियामकको नियमनको दायरा फराकिलो हुन नसक्दा विभिन्न समस्या आएका कारण मर्जरको नीति अघि सारियो । क्यापिटल दुई अर्बबाट आठ अर्ब तथा चार प्रतिशतले वृद्धि गरियो । लगानी कहाँ कति कसरी भयो भन्ने यकिन हुन नसक्दा लगानी घर जग्गा जस्तो अनुत्पादक क्षेत्रमा केन्द्रित हुन पुग्यो, यस्तै गरी होटल क्षेत्रमा पनि वित्तीय प्रणालीको ठुलो रकम लगानी भइसकेको छ ।
हाइड्रो उद्योगमा पनि केही लगानी फुल फेजमा प्रोजेक्ट चल्दा पनि किस्ता तिर्न नपुग्नु भनेको लगानी विश्लेषण क्षमताबिनाको लगानी भएको भन्न सकिन्छ, अर्काेतिर साना तथा मझौला उद्योगमा वृद्धिको अवस्था छैन । यस्ता विविध विषयले आजको अर्थव्यवस्था सुस्ताएको पक्कै हो । यसर्थ समस्याभन्दा पनि समाधानका उपाय पत्ता लगाई कार्यान्वयनमा जानुको विकल्प रहँदैन । उस्तै तरिकाबाट काम गर्दा नतिजा पनि उस्तै आउने हो, त्यसैले भिन्न नतिजाका लागि काम गर्ने तौर, तरिका र सोचसमेत नयाँ बनाएर भिन्न नतिजा आउने गरी काम गर्नु आजको आवश्यकता हो ।