काठमाडौँ, कात्तिक २६ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) ट्रफी टुर बुधबार काठमाडौँ उपत्याकामा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न सहरमा ट्रफी टुर कार्यक्रम सम्पन्न गरी काठमाडौँमा कार्यक्रमलाई निरन्तरता दएको हो ।
पशुपतिनाथबाट बुधबार बिहान सुरु गरिएको ट्रफी टुर भक्तपुर, ललितपुरको पाटन दरबार स्क्वायर हुँदै काठमाडौँ हनुमानढोका दरबारमा ल्याइएको हो । काठमाण्डु गुर्खाजका कप्तान करण केसीले ट्रफीलाई हनुमानढोका दरबार क्षेत्रको परिक्रमा गराउनुभयो । साथमा कामाण्डू गोर्खाजका खेलाडी, समर्थक र शुभेच्छुक सहभागी थिए ।
क्यानले एनपिएल ट्रफी गत वर्ष नै बनाएको हो । क्यानले एनपिएललाई विश्वको सगरमाथा जस्तै उच्च बनाउन ट्रफीको टुप्पोमा सगरमाथा क्षेत्रस्थित कालापत्थरको ढुङ्गा राखेर थप महत्त्व बढाएको छ ।
नेपालको प्राकृतिक सम्पदा सगरमाथाको संरक्षण र प्रवर्धन गर्न विश्वमा सन्देश दिने उद्देश्यले ट्रफीमा कालापत्थरको ढुङ्गा राखिएको हो । एनपिएल ट्रफीलाई सिम्बोलका रूपमा सगरमाथाको उचाइसरह ८८४८.८६ मिटर उचाइ दिइएको छ ।
करिब तीन किलो तौल रहेको ट्रफी भारतको मुम्बई सहरका कालीगढले बनाएका हुन् । साधारण धातु (मेटल) प्रयोग गरी बनाइएको यस ट्रफी रनिङ ट्रफीको रूपमा एनपिएलमा प्रयोग हुनेछ ।
क्यानले विजेतालाई यस्तै स्वरूपको प्रतिकृति (रिप्लिका) ट्रफी प्रदान गर्ने छ । रनिङ ट्रफीलाई कुनै पनि टोलीले लगातार तीन पटक उपाधि जिते सँधैका लागि राख्न पाउने छ ।
मङ्सिर १ गतेदेखि २७ गतेसम्म हुने एनपिएलमा जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
एनपिएलको लागि अहिले त्रिवि क्रिकेट स्टेडियमको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्टेडियममा फ्लडलाइट राख्ने काम भइरहेको छ ।
यसपटक एनपिएलका खेल फ्लडलाइटमा खेलाइने गरी तालिकासमेत आइसकेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाजबिच प्रतिस्पर्धा हुनेछ ।
























