• १३ साउन २०८१, आइतबार

श्रमिकको सम्मान गर्न आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २१ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले हरेक क्षेत्रका श्रमिकको मानव अधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ ।  सोमबार राजधानीमा आयोजित मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिकहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पहिचानसहित काम गरेर खान पाउनु श्रमिकको मानव अधिकार भएको बताउनुभयो । उहाँले श्रम गरेर खाने वर्गको सम्मान गर्न सबैसँग आग्रह पनि गर्नुभयो । 

अध्यक्ष मगरले रात्रिकालीन मनोरञ्जन क्षेत्रको विकृतिका बारेमा गरिएको अध्ययनले बालबालिकालाई काममा लगाइएको, श्रमिकहरू यौन हिंसा, दुर्व्यवहारमा पर्ने, समयमा तलब नपाउने, बेचबिखनमा पर्ने काममा जोखिम बढी रहेको र समाजमा पनि इज्जत नदिने प्रवृत्ति पाइएको बताउँदै काम आफैँमा सानो र ठूलो नहुने उल्लेख गर्नुभयो । उहाँले श्रम ऐन कार्यान्वयन गरेर देशभित्रै बाँच्ने वातावरण बनाउन सरोकारवाला निकायसँग आयोगले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । 

विश्वास प्रेरणा राष्ट्रिय श्रमिक सञ्जालका कार्यकारी अध्यक्ष चन्द्रिका ओझाले यस क्षेत्रमा काम गर्ने कलाकार, श्रमिकलाई राति काम गरेका कारण डेरा पाउन मुस्किल पर्ने गरेको र घरपरिवार, समाजमा नाम-काम ढाँटेर हिँड्नुपर्ने बाध्यता रहेको बताउनुुभयो ।   

त्यसैगरी शान्तिमाया तामाङले रात्रिकालीन व्यवसायमा मद्यपान-धूमपान अत्यधिक चल्ने, ठूलो स्वरमा गीत बज्ने भएकाले त्यहाँ कार्यरत विशेष गरी साना उमेरका श्रमिकको स्वास्थ्यमा असर पर्ने बताउनुभयो । प्रहरी उपरीक्षक दानबहादुर मल्लले आर्थिक वर्ष २०७५/७६ देखि गत जेठ महिनासम्मको तथ्याङ्कअनुसार ३४६ जना वैदेशिक रोजगारीको बहानामा २०१ जना महिला बेचबिखनमा परेको विवरण दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा काम गर्ने श्रमिकलाई दलालले बढी झुक्याउने गरेको पाइएको छ ।

संविधान सभा सदस्य पेम्बा लामाले श्रमको मर्यादाका लागि ल्याइएको ‘श्रम ऐन’ सबै क्षेत्रका श्रमिकका लागि हुनुपर्ने बताउनुभयो । ऐनको कार्यान्वयनले रात्रिकालीन व्यवसायमा हुने विकृतिलाई अन्त्य गर्न सकिने पनि उहाँले बताउनुभयो । 

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष विनोद श्रेष्ठले यस क्षेत्रमा विकृति रहेको स्वीकार्दै आन्तरिक÷बाह्य पर्यटकलाई सत्कार गर्ने यस व्यवसायलाई मर्यादित, विकृतिमुक्त बनाउन श्रमिक, व्यवसायी र सरोकारवाला संस्थाको साझेदारीमा अभियान जारी रहेको बताउनुभयो ।