• २५ असार २०८१, मङ्गलबार

गुल्मीमा यस वर्ष ५७५ रोपनीमा फलफूल खेती

blog

गुल्मीमा चक्लाबन्दी खेती र चक्लाबनदी गर्दै गर्दाको तस्बिर: तिलाचन पाण्डे

तम्घास, असार २१ गते । गुल्मीमा ५७५ रोपनी जग्गामा फलफूल खेती सुरु भएको छ । जिल्लामा थप एक सय रोपनी जग्गामा अन्य खेती गरी कुल ६७५ रोपनी क्षेत्रफलमा चक्लाबन्दी खेती सुरु भएको हो । 

जिल्लाका विभिन्न स्थानीय तहमा गरी कुल ३५ हेक्टर अर्थात ६७५ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन एकाइ गुल्मीका  प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार सितलबस्ती कृषक समूह कालीगण्डकीमा दुई सय रोपनीमा कफी ,उद्यमशिल कफी उत्पान समूह सत्यवतीमा दुई सय रोपनीमा कफी, खनाल सुन्तला फर्म  धुर्कोटमा ७५ रोपनीमा सुन्तला, माधुरी कृषि तथा सुन्तला जात फलफूल फर्म धुर्कोटमा एक सय रोपनीमा सुन्तला र प्रगतिशिल कृषक समूह धुर्कोट किसानटारीमा  एक सय रोपनी क्षेत्रफलमा  धान र मकैको चक्लाबन्दी खेती गरिएको छ ।

कृषि यन्त्रहरुको प्रयोग गरी चक्लाबन्दी खेती गरिएको कार्यालयले जनाएको छ । यसरी चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने, लागत, समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने परियोजनाका प्रमुख न्यौपानेले दाबी गर्नुभयो ।

प्रत्येक चक्लाबन्दी खेती गर्ने कृषक, तथा समूहलाई कार्यालयको तर्फबाट कुल लागतको ५० प्रतिशत अर्थात १२ लाख रुपियाँ उपलध गराइने छ ।  ५० प्रतिशत रकम कृषक वा कृषक समूहको लागत रहने कार्यालयले जनाएको छ । जसमा स्थानीय तहको पनि लगानी रहने कार्यालयले जनाएको छ । 

फलफूलको चक्लाबन्दीमा सुन्तला जातमा कलमी बिरुवाहरु लगाइएको छ भने कफीमा जालीभित्रको घरमा तयार गरिएको नर्सरीका बिरुवाहरु रोपण गरिएको कार्यालयकी नायव प्राविधिक सहायक नारायणी गाहाले जानकारी दिनुभयो । बिरुवाहरु स्वच्छ मान्यता प्राप्त नर्सरीहरुबाट ल्याइएकाले कुनै शङ्का नरहेको गाहाको दाबी छ ।

तीन हजार पाँच सय कलमी सुन्तलाका बिरुवाहरुले  करिब तीन वर्षमा उत्पादन दिन सुरु गर्ने र १८ हजार पाँच कफीका बिरुवाहरुले पाँच वर्षमा उत्पादन दिन सुरु गर्ने गाहाले बताउनुभयो ।

गत वर्ष जिल्लाका विभिन्न स्थानीय तहमा सात वटा चक्लाबन्दीमा खेती गरेको कार्यालयले जनाएको छ । जसमा पाँच वटामा मकै खेती, सुन्तलामा एक र कफीमा एक गरी सात वटा चक्लाबन्दीमा खेती गरिएको थियो । गतवर्ष चक्लाबन्दीमा खेती गरिएको चक्लाबन्दीमा यस वर्ष साना सिंचाइमा कार्यालयले सहयोग गरेको गाहाले बताउनुभयो ।

Author

तिलाचन पाण्डे