• १६ भदौ २०८१, आइतबार

मेसिन अभावमा सिकलसेल परीक्षणमा कठिनाइ

blog

सिकलसेल तथा थालेसिमिया जनचेतनामुलक कार्यक्रममा सहभागी प्रतिनिधिहरु । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असार १९ गते । सिकलसेल तथा थालेसिमियाका विरामी पहिचानका लागि बाँकेमा स्वास्थ्य कार्यालय र स्थानीय तहले स्क्रिनिङ्ग कार्यक्रम सञ्चालन गरेका छन् । तर पहिचानका लागि मेसिनको अभाव देखिएको छ  । 

स्वास्थ्य कार्यालयले हालै राप्ती–सोनारी ४ मा ५७२ जनाको रगतको नमुना जाँचमा ९६ जना सिकलसेल तथा थालेसिमियिाका विरामी तथा बाहक पहिचान भएका छन् । विरामीका लागि गाउँमै उपचार तथा परामर्शका लागि शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । 

विशेषगरी थारु समुदायमा यो रोग अझै पनि लुकेर रहेकाकारण पहिचानका लागि ब्यापक स्वास्थ्य परीक्षण आवश्यक पर्ने सिकलसेलको परीक्षण तथा उपचारमा लामो समयदेखि सक्रिय भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेले जानकारी दिनुभयो । भेरी अस्पतालमा रहेको एक मात्र मेसिनबाट रगत परीक्षण गरी सिकलसेल तथा थालेसिमिया रोगको पहिचान गर्न कठिनाइ हुने चिकित्सकको भनाइ छ । 

जन्मनेबित्तिकै अनिवार्य यसको परीक्षण हुने हो भने दोस्रो ब्यक्तिमा सङ्क्रमण नहुने चिकित्सकको भनाइ छ ।  गाउँ गाउँमा रगतको नमूना परीक्षण गर्नुपर्ने भएकाले मेसिन पनि थप्नुपर्ने चिकित्सकको सुझाव छ । 

“यो रोगका १५ देखि १८ प्रतिशत पहिले नै लुकेको अवस्था छ”, डा. पाण्डेले भन्नुभयो,–” विवाहपूर्व अनिवार्य यसको जाँच गरी कुण्डली मिलाएर मात्रै विवाह गर्ने हो भने पनि सङ्क्रमणदर न्यून हुनेछ ।”

नेपालमा मलेरिया रोग भएको तराई क्षेत्रमा बसेका कारण थारु समुदायमा धेरैमा यो रोग देखिएको भए पनि अन्य समुदायमा पनि देखिएको डा. पाण्डेले जानकारी दिनुभयो । भेरी अस्पतालमा करिब चार हजार विरामी सम्पर्कमा आएकोमा ८८४ जना नियमित उपचारमै रहेको डा. पाण्डेले बताउनुभयो । 

केही समय अघिसम्म  सिकलसेललाई बाथ, जण्डिस, पेट दुख्ने, मलेरियालगायतको नाममा उपचार भइरहेकोमा हाल भने सरकारले उपचारका लागि एक लाख रुपियाँ सहयोग समेत गर्दैआएको छ ।