• १२ साउन २०८१, शनिबार

बाँकेमा लक्ष्यभन्दा २ प्रतिशत बढी बालबालिकालाई कोभिड खोप

blog

नेपालगञ्जमा खोप लगाउँदै ५ देखि ११ वर्षकी एक बालिका । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार १९ गते । पहिलो पटक बाँके जिल्लामा लक्ष्यभन्दा बढी बालबालिकाले कोभिडविरुद्धको खोप लगाएका छन् । ५ देखि ११ वर्षका बालबालिकाका लागि सञ्चालन गरिएको अभियानमा निर्धारित लक्ष्यभन्दा २ प्रतिशत बढी बालबालिकालाई कोभिडविरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्शन नरेश श्रेष्ठले बताउनुभयो । 

जिल्लामा सात दिनसम्म सञ्चालन गरिएको खोप अभियानमा आठवटै पालिकाका ५ देखि ११ वर्ष उमेरका ७६ हजार २३९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएकोमा ७८ हजार २६ जनाले खोप लगाएको उहाँले बताउनुभयो । खोप फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेमा १०२.३ प्रतिशत बालबालिकाले सो खोप लगाएका हुन् । 

शुरुमा चार दिनसम्म अभियान सञ्चालन गर्ने योजना रहे पनि सो अवधिमा ८७ प्रतिशतले मात्र खोप लगाएको हुँदा तीन दिन समय थप गरेर सात दिनसम्म अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार उक्त खोप अभियान अन्तर्गत राप्तीसोनारी गाउँपालिकामा ९ हजार ३५७ जना लक्षित सङ्ख्या रहेकोमा ८ हजार २३७ जनाले खोप लगाएका छन् । कोहलपुर नगरपालिकामा लक्षित सङ्ख्या १० हजार ३९१ रहेकोमा १६ हजार ८५३ जनाले खोप लगाएका छन् । कोहलपुरमा खोप प्रगति १६२ प्रतिशत छ । 

यस्तै, बैजनाथ गाउँपालिकामा ८ हजार ३४५ लक्ष्य रहेकोमा ९ हजार ९९७ जनाले खोप लगाएका छन् । यहाँ खोप प्रगति १२० प्रतिशत पुगेको छ । खजुरा गाउँपालिकामा ८ हजार २२४ लक्ष्य रहेकोमा ८ हजार ४९८ जना बालबालिकाले खोप लगाएका छन् । जानकी गाउँपालिकामा ६ हजार ३७२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा ४ हजार २७१ जना बालबालिकाले खोप लगाएका छन् । 

सोही प्रकारले नेपालगञ्ज उपमहानगरपालिकामा २० हजार २३१ लक्ष्य रहेकोमा १९ हजार ५४४ जनाले खोप लगाएका छन् । डुडुवा गाउँपालिकामा ६ हजार ९८८ लक्ष्य रहेकोमा ५ हजार ६२३ जनाले खोप लगाएका छन् । 

नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ५ हजार ३ जनाले खोप लगाएका छन् । ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप लगाउने कार्य जिल्लाका ८ पालिकाकामा एकै पटक सञ्चालनमा ल्याइएको थियो । जसका लागि जिल्लाका ५०८ स्थानमा खोप केन्द्र राखिएको थियो ।