• २ असार २०८१, आइतबार

पानी निकासको गुरुयोजना बन्दै

blog

दमक समाचारदाता

दमक, असार १९ गते  । दमकमा सामान्य वर्षाको समयमा समेत बजार क्षेत्रलगायतका विभिन्न व्यस्त ठाउँहरू एकै क्षणमा जलाम्य बन्ने गरेको छ । पानीको उचित निकास नभएका कारण यो अवस्था आएको हो । सामान्य वर्षा हुँनासाथ सडकमा भेल बग्न थाल्ने र व्यवसायीहरूलाई पसलको सामान जोगाउन मुश्किल पर्ने  व्यवसायीको साझा गुनासो छ ।

पुराना खोला, खोल्सी र पैनीहरू मासेर जग्गा खण्डीकरण गरेर बिक्री गरेका कारण अहिले बजारलगायतका मुख्य सहरी क्षेत्रमा नै वर्षामा समस्या हुन थालेपछि यसको निकासको उपाय नगरपालिकाले खोज्न थालेको छ । सडकसँगै ढल निर्माण गर्दा पानी निकासको बन्दोबस्त नगर्दा समस्या आएको नगरपालिकाकै प्राविधिकहरूको भनाइ छ ।

सडकमा पानी बगेपछि कालोपत्रे भएका सडकहरू पनि भत्केर खाल्डोखुल्डी भएको देखिन्छ । वर्षा सुरु भएपछि कालोपत्रे भत्किएर सवारीसाधन कुदाउन नै नसक्ने अवस्था हुन थालेको दमक नगरपालिकाका पूर्व जनप्रतिनिधि श्याम कार्की बताउनु हुन्छ । उहाँले भन्नुभयो, बारम्बार ढलको उचित व्यवस्थापन र पानीको निकासको विषयमा कुरा उठाएका छौँ तर खोई कसैले ध्यान दिँदैनन् ।

दमक नगरपालिकाले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने यो विषयलाई समेटेको देखिन्छ । दमक नगरपालिकाको समग्र भूगोलको आधारमा पानी निकासको गुरुयोजना बनाइनेछ, दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईंले भन्नुभयो । 

यस विषयमा धेरै गुनासो आएको र आफूले पनि समस्या देखेको बताउँदै ढल व्यवस्थानको विषयमा स्थानीय सरकारको पर्याप्त ध्यान जाने भट्टराईले जनाउनु भयो । स्थलगत सर्भे गरी पुरानो नालाको पुनः निर्माणको समेत गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाइने भट्टराईले बताउनुभयो ।

प्रत्येक आयोजनाको ठेक्का सूचना प्रकाशन हुनुभन्दा अगावै डीपीआरमाथि विस्तृत छलफलपछि  डिजाइन, ड्रइङ, इस्टिमेट स्वीकृत गरी सोअनुसारको ठेक्का सूचना प्रकाशन गर्ने प्रकृयालाई पूर्ण कार्यान्वयनमा ल्याइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएकाले यसलाई कडाइका साथ पालना गराइने नगरपालिकाले जनाएको छ ।