• १३ साउन २०८१, आइतबार

‘जोखिम क्षेत्र पहिचान गरेर पूर्वतयारीमा लागौँ’

blog

मधेशका मुख्यमन्त्री लालबाबु राउत कमला नदीको पूर्वी तटमा विपत् व्यवस्थापन संयुक्त अभ्यास अवलोकन गर्नुहुँदै ।तस्बिर : लक्ष्मी चौधरी

जनकपुरधाम, असार १८ गते   । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट आइपर्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।  शुक्रबार बन्दिपुरस्थित कमला नदीको ब्यारेजमा आयोजित प्रदेशस्तरीय विपत् व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताउनुभएको हो । मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा आयोजित सुरक्षा निकायहरूले विपत् प्रतिकार्यका लागि गरेको तयारी उत्तम रहेको अवलोकनका क्रममा मुख्यमन्त्री राउतले बताउनुभयो ।

‘हाम्रो तयारी राम्रो छ,’ उहाँले भन्नुभयो, “विपत्को समयमा हुनसक्ने जनधनको क्षति न्यूनीकरणका लागि व्यवहारमा लागू गर्न तयारी अवस्थामा बस्नुपर्दछ । प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मधेश प्रदेशमा विपत् न्यूनीकरणको लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्यका साथै संयुक्त संयन्त्र निर्माण हुनुपर्नेमा मुख्यमन्त्री राउतको जोड थियो । बाढीबाट बर्सेनि जोखिममा पर्दै आएको क्षेत्रको पहिचान अहिले नै गर्नुपर्ने उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले पूर्वतयारीमा कुनै कसर बाँकी नराख्न निर्देशनसमेत दिनुभयो । 

उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बाढीबाट जनधनको क्षति न्यूनीकरणका लागि गरिने प्रयासबारे विभिन्न नमुुना प्रस्तुत गरेको थियो । कार्यक्रममा नेपाली सेनाका २७ नम्बर बाहिनीका बाहिनीपति भरतजङ्ग गुरुङ, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, स्थानीय तहका प्रमुख-उपप्रमुख, सुरक्षा निकायका प्रदेशस्थित प्रमुखलगायतको उपस्थिति रहेको थियो ।