• ११ वैशाख २०८१, मङ्गलबार

सिँचाइका लागि पर्वतमा ट्युववेल डिपबोरिङ

blog

गणेश पौडेल

पर्वत, असार १७ गते । सिँचाइका लागि आकाशे पानी र वर्षे मुल कुर्नुपर्ने पर्वतको महाशिलाका कृषकलाई डिपबोरिङ प्रविधिबाट सिँचाइ सुबिधा हुनेभएको छ । जिल्लाको महाशिला गाउँपालिका ५ लंखुको बनपाखेमा पर्वतमै पहिलो पटक ट्युबवेल डिपबोरिङ सिँचाई आयोजना सञ्चालनमा आएसँगै कृषकहरु लाभान्वित हुने भएका छन् ।

भुमिगत जलस्रोत तथा सिँचाइ आयोजना कार्यालय गण्डकी प्रदेशको सहयोग र महाशिला गाउँपालिकाको समन्वयमा करिब २२ लाख रुपियाँ लागतमा सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको छ । यो सञ्चालनसँगै स्थानीय कृषकहरुले बाह्रैमास सिँचाइ सेवा पाउने भएका छन् । 

महाशिलाका अधिकांश ठाउँमा सिँचाइ सुबिधा नभएको र बेमौसमी खेती गर्न हुने समस्यालाई डिप बोरिङमार्फत सहज हुने महाशिला ट्युबवेल डिपबोरिङ सिँचाइ आयोजना समितिका अध्यक्ष गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो । ‘हामीले हिउँदमा भोग्दैआएको समस्या यसले हल गर्ने भएको छ’ उहाँले भन्नुभयो– ‘आगामी दिनमा बेमौसमी खेतीका लागि बरदान सावित हुनेछ ।’

यो आयोजना सञ्चालन भएसँगै करिब साढे ३ सय रोपनी जग्गालाई सिँचाई गर्न पुग्ने समितिको भनाइ छ । बोरिङ प्रबिधिको प्रयोगले १ सय १० मिटर गहिराईबाट पानी निकालिएको महाशिला गाउँपालिका ५ का वडा सदस्य तिलक जैसीले बताउनुभयो । 

‘यो सिँचाइ शुरु भएसँगै यहाँका किसानले बर्खायाममा मात्रै खेती गर्न सक्थे अब जुनसुकै समयमा पनि आफुले चाहेको खेती गर्न सक्नेछन्’ उहाँले भन्नुभयो । बेमौसमी खेती हुँदैआएको यस ठाउँमा सिँचाइकै कारण कृषकहरु खेती गर्नबाट बञ्चित हुनुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ । 

आयोजनाको महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा वि.क.ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा वि.क.ले यस सिँचाइ आयोजनाले यहाँका कृषकलाई राहत मिलेको बताउनुभयो । अब कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिँदै गुणस्तरीय उत्पादकत्व वृद्धि गर्न आग्रह गर्नुभयो । वि.क.ले किसानलाई लक्षित गरी अहिलेको नीति तथा कार्यक्रममा गाउँपालिकाले राहतस्वरुप अनुदानका कार्यक्रम ल्याएकाले बाह्रैमास खेती गरी लाभ लिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा महाशिला गाउँपालिका ५ का वडा अध्यक्ष चन्द्रमल्ल ठकुरीले कृषिमा व्यवसायिकरण गर्नुपर्ने बताउँदै वडामा उत्पादन बढाई किसानलाई कृषिमा नै आत्मनिर्भर बनाउनेमा जोडदिने बताउनुभयो ।