• ३० वैशाख २०८१, आइतबार

इलाममा जीप दुर्घटना : १३ जना घाइते

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), असार १७ गते । मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । शुक्रबार दिउँसो ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन् । गाडीमा सवार १० महिनाकी बालिकासहित चालक र सबै यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । 

घाइते हुनेमा सवारी चालक इलाम नगरपालिका २ सुम्बेकका चूडामणि घिमिरे, ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका ५ का २१ वर्षीय मनिसा तामाङ, सोही गाउँपालिका ५ का २४ वर्षीय लोकेन्द्र शिलवाल, ताप्लेजुङ फुङ्लिङ नगरपालिका ६ बस्ने ३० वर्षीय निमा खतिवडा घाइते भएका छन् । 

त्यस्तै, झापा मेचीनगर नगरपालिका ९ बस्ने २२ वर्षीय दिवना राई, उहाँकी १० महिनाकी छोरीरियन्सा राई, झापा मेची नगर ९ की २२ वर्षीय मञ्जली राई, भद्रपुर नगरपालिका ३ बस्ने ५३ वर्षीय इन्द्रबहादुर कार्की, भद्रवपुर ३ कै ५६ वर्षीय जीतबहादुर थेवे पाँचथर फालेलुङ गाउँपालिका १ का ३० वर्षीय अप्सरा कोइराला, पाँचथर याङबरक ५ का ५१ वर्षीय प्रेम तामाङ, याङबरक ६ का २३ वर्षीय दिपेन्द्र कोइराला र भोजपुर पौवादुङमा गाउँपालिका श्यामशिलाका २७ वर्षीय सुरेन्द्र राई घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

चालक घिमिरेसहित डिवन, मञ्जिला र जितबहादुरको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको बताइएको छ । घाइते सबैलाई थप उपचारका लागि झापा लगिएको छ । भिरालो बाटो र घुम्तीमा ट्रनिङ काट्न नसकेर अनियन्त्रित भई जीप दुर्घटना हुँदा सडकबाट सवारी ५०० मिटर तल झरेको प्रहरीले जनाएको छ ।