• २९ असोज २०८२, बुधबार

जेनजी आन्दोलन : प्रशासनमै थन्कियो घाइतेको राहत

blog

जिल्ला प्रशासन कार्यालय बागलुङ । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, असोज २९ गते ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि राज्यले खर्च उपलब्ध गराएको छ । मृतकलाई सहिद घोषणा गरेर रकम पनि दिने घोषणा भइसकेको छ ।

तर बागलुङ जिल्लाभित्र घर भएका घाइतेहरुको यकिन पहिचान र उचित ठेगाना खुल्न सकेको छैन । विशेषगरी राजधानी काठमाडौँ र पोखरामा घाइते भएका युवाहरुको ठेगाना नखुलेपछि जिल्ला प्रशासन कार्यालय बागलुङले राज्यको राहत रकम दिन पाएको छैन । प्रशासनले ती युवाहरुको खोजी अभियान थालेको छ ।

गृहमन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयमा घाइते र मृतकलाई दिने रकम आए पनि यकिन ठेगाना र पहिचान नभएपछि दिन नसकेको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताउनुभयो । गृहमन्त्रालयले पठाएको घाइतेको तालिकामा बागलुङ घर भएको बताइए पनि यकिन ठेगाना नखुलेको हो । ती घाइते राजधानीसहित विभिन्न सहरका अस्पतालमा उपचार गराएकाहरु हुन् ।

घाइतेमध्ये अभियानकर्मीको रुपमा चिनिएका बागलुङ नगरपालिका वडा नं. ३ का सोम शर्मा समेत हुनुहुन्छ । उहाँको भने स्थानीयले ठेगाना बताइदिएकोले जानकारी पाएको गुरुङले बताउनुभयो । शर्मा पनि राहत लिनका लागि जिल्ला आउनुभएको छैन । उहाँ सामान्य घाइते हुनुहुन्छ ।

त्यस बाहेक संघर्ष भुषाल, मनोज सुनार, नारायण सत्याल र किरण थापा मगरको ठेगाना र अभिभावकको समेत जानकारी नपाइएकाले आएको राहत रकम पनि दिन नसकेको प्रजिअ गुरुङले बताउनुभयो । ‘‘उनीहरुको नाम र उपचार गराएको अस्पतालको ठेगाना छ, तर वास्तविक ठेगाना खुलाइएको छैन’’ गुरुङले भन्नुभयो ।

सामाजिक अगुवालाई सोधेर उनीहरुको पहिचान गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । राहत आइसकेकाले बुझेर उपचार खर्चमा लगाउन प्रशासनले सूचना पनि जारी गरेको छ । उनीहरुलाई उपचार खर्चको रुपमा रकम आवश्यक भए पनि खोजी गर्न कोही नआएकोले जिल्ला प्रशासनकै खातामा रहेको हो ।