• २६ असोज २०८२, आइतबार

सचिवलाई मुख्यमन्त्रीको निर्देशन

‘सुधारको योजनासहित काम गर्नुहोस्’

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल प्रदेशका प्रमुख सचिव एवं सचिवको बैठकमा निर्देशन दिनुहुँदै ।

सुर्खेत समाचारदाता

सुर्खेत, असोज २६ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी समूहको आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्न प्रदेशका सचिवलाई निर्देशन दिनुभएको छ । 

शनिबार कर्णाली प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवसँग बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले सुधारलाई व्यवहारमा रूपान्तरण गर्नसमेत आग्रह गर्नुभयो । उहाँले अहिले जनताले सेवामा पारदर्शिता, जवाफदेहिता र सहजता अपेक्षा गरेको बताउँदै सरकारले दिने प्रत्येक सेवामा जनतालाई प्रत्यक्ष सुधारको अनुभूति दिलाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो, “कार्यालयका ढोका जनताका लागि खुला हुनु पर्छ, कागजपत्रमा मात्र होइन, व्यवहारमा पनि पारदर्शिता देखिनु पर्छ ।” उहाँले विगतका कमजोरीबाट पाठ सिक्दै नयाँ सोच र कार्यशैली अपनाएर काममा गति दिनुपर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री कँडेलले हिजोका कमजोरी सुधारका उपाय खोज्नु पर्छ भन्दै सरकारको प्राथमिकता खर्च कटौती, कार्यक्षमता वृद्धि र परिणाममुखी सेवा प्रवाहमा केन्द्रित हुने स्पष्ट पार्नुभयो । वर्तमान सङ्घीय सरकारसँग प्रतिस्पर्धा गर्न सक्ने किसिमको खर्च कटौती गर्न, तालिम, भ्रमण, गोष्ठी र आवश्यक नभएका योजनाबाट खर्च कटाउने प्रस्ताव, फजुल खर्च रोक्ने नीति र योजना ल्याउन सचिवले पहल गर्नुपर्ने उहाँले बताउनुभयो । प्रत्येक मन्त्रालय र कार्यालयमा देखिने अनावश्यक खर्च, ढिलासुस्ती र प्रक्रियागत जटिलता अन्त्य गर्नसमेत मुख्यमन्त्री कँडेलले निर्देशन दिनुभएको छ । साथै सेवा प्रवाहमा सरलता ल्याउन, ढिलाइ संस्कृति अन्त्य गर्ने र जनतामुखी प्रशासनिक सुधार गर्नुपर्ने पनि उहाँले बताउनुभयो । 

उहाँले सचिवलाई सुधारका प्रस्ताव ल्याउन पनि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “सुधारको प्रस्ताव र योजना तपाईंहरूले ल्याउनूस्, हामीले हाम्रो तहबाट के गर्नु पर्छ, गर्छौं ।” विगतको तुलनामा अझ राम्रो योजना ल्याउन आग्रह गर्दै उहाँले भन्नुभयो, “मन्त्रालयगत रूपमा नयाँ र राम्रा योजना ल्याउने जिम्मेवारी तपाईंहरूको हो ।”