नेपालको उत्तर–दक्षिण जोड्ने महत्वाकाङ्क्षी योजना ‘कालीगण्डकी कोरिडोर’ अहिले केवल सडक सञ्जालको विस्तार होइन, नेपालको भूराजनीतिक तथा आर्थिक सम्भावनालाई नयाँ दिशा दिने राष्ट्रिय गौरवको परियोजनाका रूपमा अगाडि बढिरहेको छ । बेलहियादेखि कोरला नाका हुँदै भारत–नेपाल–चीनलाई जोड्ने यो राजमार्गले नेपाललाई त्रिदेशीय व्यापार, पर्यटन र सांस्कृतिक सम्पर्कको केन्द्रमा रूपान्तरण गर्ने ठुलो सम्भावना बोकेको छ ।
नेपाल–भारत–चीनबिचको सञ्जाललाई बलियो बनाउने उद्देश्यसहित निर्माण भइरहेको कालीगण्डकी कोरिडोर राष्ट्रिय गौरवका २१ वटा योजनामध्ये एक हो । कुल ४३५ किलोमिटर लम्बाइको यो मार्गको दक्षिणी विन्दु रुपन्देहीको बेलहिया हो भने उत्तरी छेउ मुस्ताङको कोरला नाका (समुद्री सतहदेखि चार हजार ६१० मिटर) हो । अहिले यी दुवै नाकालाई सडक सञ्जालले जोडेको छ ।
सुनौलीबाट सिद्धार्थ राजमार्ग हुँदै तानसेन–रिडी पुगेपछि त्यहाँबाट कोरिडोरको बाटो रुद्रबेनी–हर्मिचौर–कालीगण्डकी हुँदै पर्वतको कुश्माको वारिपारि दुवैतिरबाट बागलुङ, पर्वत र म्याग्दीको सङ्गमस्थल मालढुङ्गा पुगिन्छ । मालढुङ्गाबाट बेनी–जोमसोम–मुक्तिनाथ–कोरलासम्मको सडक कतै कालोपत्रे र अधिकांश ग्राभेलमा स्तरोन्नति भएको छ । बेनीबाट कोरलासम्मको १८६ किमीको दुरीको सडकमा केही कालोपत्रे र अधिकांश ग्राभेल सडक छ । सडक स्तरोन्नतिको काम भइरहेको छ भने पुलहरू पनि धमाधम बनिरहेका छन् । यो सडकले नेपालको मध्य भाग हुँदै तराई, पहाड र हिमाललाई जोड्ने अद्वितीय भौगोलिक महìव बोकेको छ । कोरिडोरले सयभन्दा बढी गाउँलाई सहज बनाएको छ ।
नेपालका भौगोलिक दृष्टिले विभाजित तीन क्षेत्रलाई एउटै सडकले जोड्नु राष्ट्रिय एकता र विकासलाई सुदृढ बनाउने विश्वास जगाएको छ । यही मार्गले नेपालको व्यापारिक पहुँच भारत र चीन दुवै मुलुकसम्म सहज बनाउने छ, जसले मुलुकको आयात–निर्यात सन्तुलनमा समेत दीर्घकालीन योगदान दिने अपेक्षा गरिएको छ ।
व्यापारिक र पर्यटकीय गन्तव्य
हालै कोरला नाकाबाट चीनसँगको औपचारिक आयात–निर्यात सुरु हुनु नेपालको व्यापारिक नीतिमा नयाँ अध्यायको सुरुवात हो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालसहित निजी क्षेत्रको टोलीले हालै उक्त नाकाको अवलोकन गर्दै नाकाको स्तरोन्नति र सडकको मर्मतसम्भार गर्न सरकारसँग आग्रह गरेको थियो । दसैँको चलहलपहल सुरु हुनु १० दिनअघि यो नाका खुलेको हो ।
चीनसँगका नेपालका नाका रसुवागढी र तातोपानी नाका लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदा कोरला वैकल्पिक मात्र होइन, रणनीतिक दृष्टिले पनि अपरिहार्य नाका बनिसकेको छ । दसैँको छेको पारेर मात्र हजारौँ इभी र सयौँ मालबाहक गाडी कोरलाबाट नेपाल भित्रिनु यसको प्रमाण हो । अहिले दैनिक सयौँ इभी गाडी यहीँ नाकाबाट मुस्ताङ हुँदै पोखरासम्म आइरहेका छन् । ‘कोरला नाका अब केवल व्यापारिक गेटवे होइन, तीव्र रूपमा पर्यटकीय गन्तव्यका रूपमा पनि विकसित हुँदै छ । यसका लागि नाकामा नेपालतर्फका भन्सारलगायतका पूर्वाधार निर्माण गर्ने र सडक खण्डको तत्कालै मर्मतसम्भार गर्न जरुरी छ’ अवलोकनपछि अध्यक्ष ढकालले प्रतिव्रिmया दिनुभएको थियो ।
हिउँले ढाकिएको हिमशृङखला, मुक्तिनाथ, सात सय वर्षभन्दा पुरानो माटोको ढिस्कोले बनेको लोमानथाङ दरबार र तिब्बती संस्कृतिको प्रत्यक्ष झल्को पाउने अवसरले यो क्षेत्र आन्तरिक तथा विदेशी दुवै पर्यटकका लागि आकर्षण बन्दै गएको छ । माथिल्लो मुस्ताङका अगुवा शर्मिला गुरुङका अनुसार, कोरिडोर खुलेपछि माथिल्लो मुस्ताङमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या हरेक वर्ष उल्लेखनीय रूपमा वृद्धि भएको छ । यही असोज १७ र १८ गते दुई दिनमै छ हजार १७३ आन्तरिक र ६८८ विदेशी पर्यटक मुस्ताङ प्रवेश गर्नु पर्यटन सम्भावनाको ठोस प्रमाण हो ।
भौतिक पूर्वाधारको अवस्था
बेनी–जोमसोम–कोरला सडकखण्ड अहिले कतै कालोपत्रे, कतै ग्राभेल र कतिपय ठाउँमा अझै मर्मतको पर्खाइमा छ । ठुला पुलहरू बनेपछि पनि सडकको गुणस्तर र नियमित मर्मतसम्भारको खाँचो महसुस गरिएको छ । केही ठाउँमा त साना गाडीका लागि एकदमै कष्टकर छ । यात्राका क्रममा पेट्रोल पम्पको अभाव, आकस्मिक मर्मत सेवा र सार्वजनिक शौचालयको अभाव यात्रुलाई असुविधा पु¥याउने कमजोरी हुन् । यसको सुधारतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ । यहाँका सकारात्मक पक्ष पनि कम छैन । मार्गभरि सूचना बोर्ड र दिशानिर्देशक चिह्न प्रस्ट राखिएका छन्, जसले पर्यटकलाई सहजता प्रदान गरेको छ । केही किलोमिटरको दुरीमै खाजा–भोजन र आवास सुविधा भएको होटलहरू खुलेका छन् । स्थानीय बासिन्दाले पर्यटन र व्यापारलाई जोडेर साना होटल, होमस्टे र पसल सञ्चालन गर्दै रोजगारी सिर्जना गरेका छन् । ड्रम र ग्यालिनमा भरेर राखिएका डिजल र पेट्रोल प्रत्येक बस्तीका साना पसलमा पनि उपलब्ध छन् ।
स्थानीय अर्थतन्त्रमा प्रभाव
कोरला नाका खुल्नासाथ लोमानथाङ र वरपरका गाउँमा चिनियाँ सामानको किनमेल सुरु भएको छ । चिनियाँ त्रिपाल टाँगेर स्थानीय नेपाली व्यवसायीले ससाना पसल सञ्चालन गरेका छन् । लोमानथाङको सात सय वर्ष पुरानो दरबार परिसरमा समेत चिनियाँ सामानका दर्जनौँ पसल खुलेका छन् । यसले स्थानीय अर्थतन्त्रमा गति दिएको छ । नेपाल–चीन सीमास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्टका अनुसार, दसैँ आसपासमा मात्र दैनिक एक हजार पाँच सयभन्दा बढी आन्तरिक पर्यटक कोरला पुगेका थिए । पर्यटकका आगमनले खाद्यान्न, इन्धन, आवास र यातायातमा स्थानीय आम्दानी बढाएको छ ।
भन्सार, अध्यागमन, सुरक्षा र व्यापार प्रशासनका स्थायी कार्यालय अझै निर्माण नभएकाले नाकाको पूर्ण सञ्चालनमा भने चुनौती रहेको छ । सरकारले छिटै स्थायी भौतिक संरचना र आवश्यक जनशक्ति परिचालन गर्न सके कोरला स्थायी व्यापारिक केन्द्रका रूपमा स्थापित हुन सक्छ ।
जलवायु परिवर्तनको असर
मुस्ताङ जिल्ला उच्च हिमाली भूभागमा पर्ने भएकाले यहाँको पर्यावरणीय सन्तुलन नाजुक छ । पछिल्ला वर्षमा हिउँ पर्न कम भएको, जमिन कमजोर बन्दै गएको र पहिरोको जोखिम बढेको तथ्य स्थानीय सरकार र विज्ञले बारम्बार औँल्याउँदै आएका छन् । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिं लालचनका अनुसार पहिला कम्मरभन्दा माथिसम्म हिउँ पर्ने ठाउँमा अहिले मुस्किलले पैतला ढाक्ने गरी मात्र हिउँ पर्छ । हिउँ नपर्दा जमिनभित्र रहेको बरफ पग्लँदै जान्छ र त्यसले भूबनोट कमजोर बनाउँछ । यसले राजमार्ग र बस्ती दुवैलाई जोखिममा पार्ने सम्भावना हुन्छ ।
जलवायु परिवर्तनले स्याउ खेतीमा समेत असर पारेको छ, जसले स्थानीय अर्थतन्त्रमा अप्रत्यक्ष प्रभाव पारिरहेको छ । घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तनका प्रभावबारे राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी गरेको बताएको छ । ७५३ स्थानीय तहका प्रमुखलाई सहभागी गराएर यो सम्मेलनले सङ्घीय र प्रदेश सरकारलाई जलवायु नीतिमा प्राथमिकता दिन सन्देश दिने पालिकाको उद्देश्य रहेको बताइएको छ ।
पर्यटन प्रवर्धन र सम्भावना
मुक्तिनाथ दर्शन, कागबेनी भ्रमण, थाक–जोमसोम–लोमानथाङ–कोरला मार्ग अहिले आन्तरिक पर्यटनको केन्द्र बनेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मुस्ताङ हुँदै तिब्बती संस्कृति र प्राकृतिक सौन्दर्यको अनुभव गर्न चाहने विदेशी पर्यटकको सङ्ख्या पछिल्ला तीन वर्षमा क्रमशः बढ्दो छ । स्थानीय युवा तथा हजारौँ पर्यटकले मुस्ताङ भ्रमणका भिडियो, ब्लग र फोटो सामाजिक सञ्जालमा सेयर गर्ने गरेका छन्, जसले देशभित्र र बाहिर दुवै स्तरमा प्रचारमा सहयोग पु¥याएको छ । यसले ‘डिजिटल पर्यटन प्रवर्धन’ लाई गति दिएको छ । कोरिडोर मार्गमा भौतिक पूर्वाधारका सुधार, आपतकालीन स्वास्थ्य सुविधा र स्थानीय होमस्टेहरूको गुणस्तरीय विकासमा जोड दिइयो भने मुस्ताङ र कोरला विश्वस्तरीय हिमाली पर्यटन गन्तव्य बन्न सक्ने छ ।
स्वास्थ्य र सुरक्षा चुनौती
उच्च हिमाली भूभागमा रहेका कारण स्वास्थ्य र सुरक्षा चुनौती पनि कम छैन । अक्सिजनको कमी, अत्यधिक चिसो र हिउँले गर्दा पर्यटक र व्यापारी दुवैलाई असुविधा हुन्छ । त्यसैले सुरक्षा निकायले बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म मात्र नाकामा आवागमनको अनुमति दिएको छ । त्यससँगै नेपाल–चीन सीमामा नियमन र व्यापारिक नीतिका स्पष्ट प्रावधानहरू आवश्यक छन् । भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाएर पर्यटक र व्यापारी दुवैका लागि पारदर्शी प्रक्रिया ल्याउन सकिए कोरला नाका सुरक्षित र विश्वसनीय व्यापारिक प्रवेशद्वार बन्न सक्छ ।
पूर्वाधार र दीर्घकालीन दृष्टिकोण
कालीगण्डकी कोरिडोरले नेपाललाई भूराजनीतिक दृष्टिले महत्वपूर्ण स्थानमा उभ्याएको छ । दक्षिणतिर भारतको विशाल बजार र उत्तरतिर चीनको उदीयमान अर्थतन्त्रबिच नेपालले आफ्नो भूमिका ‘ब्रिज नेसन’ का रूपमा सुदृढ गर्न सक्छ तर त्यसका लागि योजनाबद्ध रणनीति अपरिहार्य छ । सडकको गुणस्तर सुधार्ने, पुलको निर्माण कार्य छिटो सम्पन्न गर्ने, कतिपय ठाउँमा सुरुङको पनि निर्माण गर्नेतर्फ योजना बनाउने र पेट्रोलियम आपूर्ति सञ्जाललाई दिगो बनाइनु पर्छ ।
कोरला नाकामा भन्सार, अध्यागमन, स्वास्थ्य चौकी र सूचना केन्द्र निर्माण आवश्यक छ । पर्यटन प्रवर्धनका लागि ट्रेकिङ मार्ग, होमस्टे, स्थानीय कला–संस्कृतिको प्रवर्धन र डिजिटल प्रचारलाई बलियो बनाउनु पर्छ । यस्तै जलवायु अनुकूल विकासमा विशेष चासो दिनु पर्छ । वातावरणमैत्री भवन, सौर्य ऊर्जाको प्रयोग र वन संरक्षणमा जोड दिन सकियो भने वातावरण संरक्षणमा टेवा पुग्छ । भारत र चीनसँग सहकार्य गरेर व्यापार, पर्यटन र पूर्वाधार विकासका साझा परियोजनाहरू अगाडि बढाउनेतर्फ नेपाल सरकारको ध्यान जानु पर्छ ।
समृद्धिको ढोका
कालीगण्डकी कोरिडोर केवल एक सडक होइन, नेपालका भौगोलिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई पुनर्जीवित गर्ने शक्ति हो । यो मार्गले नेपाललाई दक्षिण एसिया र मध्य एसियाबिचको व्यापारिक नक्सामा पुनस्र्थापित गर्ने सामथ्र्य राख्छ । कोरला नाका सञ्चालनसँगै नेपालले चीनसँगको व्यापारमा नयाँ आयाम थपेको छ । मुस्ताङको पर्यटनले आन्तरिक रोजगारी सिर्जना गरेको छ । राष्ट्रिय गौरवका परियोजनामा जनताको विश्वास बढाएको छ । पूर्वाधार सुदृढीकरण, नाकाको प्रशासनिक संस्थागत विकास र वातावरणीय सन्तुलनमा ध्यान दिन भने एकदमै जरुरी छ । सङ्घीय सरकार, प्रदेश र स्थानीय तहले समन्वयमा इच्छाशक्तिसहितको पहल गरे भने नेपालको उत्तर–दक्षिण जोड्ने यो राजमार्गले समृद्ध नेपालको बाटो कोर्ने निश्चित छ । कालीगण्डकी कोरिडोर अब केवल सडक होइन, नेपालको भविष्यतर्फको ‘जीवनरेखा’ पनि हो ।