भौतिक संसार परमाणुले बनेको हुन्छ । त्यस्तै प्राणीहरूको शरीर जीवाणुबाट बनेको हुन्छ । जन्मदेखि मृत्यु नहुन्जेलसम्म बाँचिरहेको अवधिको युगलाई आयु भनिन्छ । हामी जिउन वायु, जल पदार्थ र आत्माको आवश्यकता पर्छ । तीन मिनेट श्वास फेरेनौँ वा तीन दिन पानी खाएनौँ भने मानिसको मृत्यु हुन्छ । त्यस्तै गाई सात दिन, सिंह १४ दिन, घोडा एक महिना र गोहीले तीन वर्ष खान पाएन भने मृत्यु हुन्छ ।
श्वासप्रश्वासबिना मनुष्यको क्षणभरमै मृत्यु हुने भएकाले आयु वायुमा समाहित छ । मृत्यु भनेको प्राणीको जैविक कार्यलाई कायम राख्ने स्थायी अन्त्य हो । यसमा मनुष्यको हृदय, धड्कन, श्वासप्रश्वास सबै अन्त्य हुन्छ तर ऋषिमुनिहरूले मृत्युलाई एक आयामबाट दोस्रो आयाममा जानु भन्छन् । कौडिण्य ऋषिको भनाइ अनुसार मृत्यु जीवनको एउटा चरण अन्त्य भई अर्को चरणको सुरुवात हो । धर्मग्रन्थ अनुसार शरीर अन्त्य भए पनि आत्मा अजर अमर रहने मान्यता रहेको छ । मृत्युपछि आत्माले जीवनको एउटा अध्याय पार लगाई अर्को अध्याय सुरुवात गरेको मान्नु पर्छ । धार्मिक शास्त्र अनुसार यसलाई पुनर्जन्म भएको मानिन्छ । त्यसैले मृत्यु जीवनको परिभाषामा भन्नुपर्दा प्रक्रियाको अपरिवर्तनीय क्षति मान्नु पर्छ ।
शरीर अन्त्य भए पनि आत्मा अजर अमर हुने मान्यताले त्यस आत्मा कल्याणका लागि अनेकौँ काम कर्म गर्छन् । प्राणीमा सबैभन्दा धेरै इच्छा मनुष्यले गरिन्छ । इच्छाहरू अपुरो भएपछि मृतकको आत्माले अशान्ति पाएर भड्किरहन्छ । त्यसैले मनुष्यहरूले आत्मा शान्तिको लागि मृतक शरीरको अन्त्येष्टि गरिन्छन् । तेह्रौँ दिनसम्म कामकर्म गरिन्छ, जसलाई काजकिरिया भनिन्छ । मृतकको मृत्यु भएको तिथिमा सम्झेर गर्ने कामकर्मको श्रद्धालाई श्राद्ध भनिन्छ ।
वैशेषिक शुत्रमा ऋषि कश्यपुले भनेका छन्–“मनुष्यले इन्द्रीयलाई नियन्त्रण गरेर इच्छा सांसारिक मोहबाट मुक्त पाए मात्र उसले मोक्ष पाउन सक्छ ।” ध्यानले आत्मालाई चिन्न सकिन्छ । आत्मालाई चिनेपछि मनलाई नियन्त्रण गर्न सकिन्छ । मनलाई नियन्त्रण गरेर आनन्दका अनुभूति गर्न सकिन्छ । आत्मालाई चिन्न ज्ञान र विचारले सकिन्छ । आत्माको सबन्ध मनसँग हुन्छ । मनको सबन्ध इन्द्रीयसँग हुन्छ । आत्माले गर्ने इच्छा र मनले गर्ने इच्छा फरक हुन्छ तर आत्माले गर्ने इच्छा र मनले गर्ने इच्छा छुट्याउन कठिनाइ छ । मन र आत्मा जोड्न चेतना चाहिन्छ । यो ध्यान साधनाले मात्र सम्भव छ । त्यसैले हामीले राम्रो कर्म वा नराम्रो कर्म गरेको आत्माले थाहा पाउँछ । नराम्रो कर्मले आत्माले शान्ति पाउँदैन । आत्माले शान्ति पाउन नसक्नु मानिसको जन्म असफल हुनु हो । त्यसैले सकारात्मक सोच गर्न नसक्नु मनुष्यको जन्म अर्थहीन हुनु हो । यो अर्थहीन व्यर्थको जन्म अनुचित कार्यमा आयु सकाउनु हो । प्राणीमा उच्चस्थान पाएका मनुष्य भएर जन्म लिएर अनुचित कार्य गर्नु त्रुटिमा त्रुटि गर्नु हो । अझ जघन्य अपराध गर्नु गल्तीमाथि गल्ती गर्दै जानु प्राणीमा निच हुनु हो । अनुचित कार्य गर्नु नै नरकमा भर्ती हुन जानु हो । यसलाई मनुष्य जन्मको दुर्भाग्य मान्नु पर्छ । मानिस भई जन्मेपछि सकारात्मक सोचमा अगाडि बढी पुण्य कार्यलाई सञ्चय गर्नतिर लाग्नु पर्छ । सकारात्मक सोचको आधार ज्ञान हो । ज्ञानको आधार ध्यान हो । ध्यान गर्न नकारात्मक भावनालाई पन्छाइ शील पालना गुर्न पर्छ । शील पालनाबाट शान्ति, शान्तिबाट आनन्द पाउन सकिन्छ । यस्तो आनन्द सयल भौतिक साधनाबाट पाउन सक्दैन । आजका मनुष्यहरू भौतिक साधनाबाट आधारभूत आवश्यकता पूरा गरी सुख सयल लिन खोज्छन् । यसबाट चाहनाको वृद्धि हुन्छ । प्रचुर चाहनाले क्षमता असमर्थता हुन्छ भावनामा दुर्बलता हुन्छ । यसबाट लोभलालचको भावना वृद्धि हुन्छ । लोभले लाभ लाभले विलाप भने झैँ यसले असन्तोष र अशान्ति हुन्छ । यो दुःखको जड हुनु हो । दुःखको जड निर्मूल पार्न चित्तलाई संयमतामा राख्नु पर्छ । चित्तलाई संयमता राख्न शील पालना गर्नु पर्छ । चित्त कुन अवस्थामा कुन स्वभावमा छ । त्यसलाई ज्ञानद्वारा होस पु¥याउन सक्नु चित्तलाई संयमतामा राख्नु हो ।
ज्ञानद्वारा दयादृष्टि गर्नसके कृपाको पात्र हुन्छ । यसबाट सत्कर्मको अनुष्ठान भई चित्त शुद्ध हुन्छ । यही अनुसार कर्म गर्नाले कर्ममा श्रद्धा बढ्छ । दुर्भावना व्यर्थको चिन्तन निवृत्त हुन्छ । जिज्ञासुको उद्धारार्थले ज्ञानले ज्ञानमा अगाडि बढाउँछ । सकारात्मक कार्य गर्न प्रेरणा मिल्छ । अज्ञानीलाई पनि ज्ञाननिष्ठ बनाउन सत्प्रयास गर्छ । यो पुण्यको पुञ्ज हो । यसले नित्य तृप्ति पाउँछ ।
जपतप ध्यान गर्नेको मुक्ति प्राप्त गर्नेको सहस्रारबाट प्राण निस्कन्छ । नित्य तृप्ति पाउने व्यक्तिको प्राण, प्राण निस्कने बेला माथिको तालु थोरै फुटेको हुन्छ । मृत्यु हुन सात कुण्डलीमध्ये एक कुण्डलीबाट प्राण निस्केको हुन्छ । त्यस्तै आज्ञा चक्रबाट निस्कने प्राणमा आँखा खोलेको हुन्छ । विशुद्धि चक्रबाट निस्कने प्राणमा मुख आँ गरेको हुन्छ । अनाहत चक्रबाट निस्कने प्राणमा हृदयघात भएको हुन्छ । मणिपुर चक्रबाट निस्कनेको पेटसम्बन्धी रोग हुन्छ र नाइटोबाट प्राण निस्केको हुन्छ । स्वाधिष्ठान चक्रबाट निस्कने प्राणको पिसाब गर्ने फुटेको हुन्छ । मूलाधारबाट प्राण निस्कनेको दिसा अलि निस्केको हुन्छ । हामी जीवित रहुन्जेल हाम्रो सात कुण्डली चक्रमध्ये कुनै चक्रमा हाम्रो चेतना बसेको हुन्छ । कुण्डलीमा चेतना बसे अनुसार मानिसको इच्छा र स्वभाव फरक हुन्छ । मूलाधारमा चेतना बस्नेको खाने पिउनेमा सोख हुन्छ । स्वाधिष्ठानमा चेतना बसेको मनुष्यमा यौन चाहना बढी हुने हुन्छ । अनाहत चक्रमा चेतना बसेको मानिसमा साहित्य लेखन चित्र कोर्ने कुनै खोजमूलक कार्यमा इच्छा हुन्छ । विशुद्धि चक्रमा चेतना बस्नेको भाषण गर्ने कला गीत गाउन स्वर मिठो हुन्छ । आज्ञा चक्रमा चेतना हुनेको कार्यमा नेतृत्व गर्ने सत्य बोल्ने धार्मिक हुन्छ । सहस्रार चक्रमा चेतना बसेमा त्यागी योगी हुन्छ । यसरी कुण्डली चक्रमा चेतना बसेको हुन्छ । ११४ नारीको सात कुण्डलीमा केन्द्र भएर बसेको हुन्छ भन्ने शास्त्रको आधार हो ।
पानी थोपालाको समुद्रबाहिर महत्व भए झैँ, प्राण पनि परधामका बाहिर भएर हाम्रो शरीरमा रहुन्जेल समाजमा त्यो शरीरको अस्तित्व हुन्छ । आखिर त्यो थोपा पानी घुमफिर भई समुद्रमै पुगेपछि त्यो थोपा पानीको महìव हुँदैन । त्यसरी नै प्राणीको प्राण पनि घुमफिर भई परधाम गएपछि त्यो शरीरको महत्व हुँदैन । जसरी बिउ अनुसार अन्न उब्जनी हुन्छ । त्यसरी नै परिणाम अनुसार कर्म, कर्म अनुसार संस्कार संस्कार अनुसार परिणाम बन्छ । हामीले पहिलाको परिणाम अनुसार अहिलेको परिणाम भोगिरहेका छौँ । अहिलेको परिणाम अनुसार पछि हुने परिणामलाई भोग्नु पर्छ भनी होस गरेर सत्कर्म गर्नु पर्छ ।
भगवान् बुद्धको भनाइ अनुसार, “राम्रो काम गरेको या नराम्रो काम गरेको मृत्यु हुन अगाडि आत्माले देख्छ । मृत्यु हुनुअघि आउने समयमा के कर्म गर्नुपर्ने आत्माले देख्छ । पहिला गरेको क्रियाकलाप अनुसार पछि हुने अवस्था तय हुन्छ । कहाँ जन्म लिन जाने हो, त्यो पनि आत्माले देख्छ ।” मनुष्यको अज्ञानले गर्दा अकर्म गर्न पुग्छ । त्यही फल अनुसार बिउ बन्छ, बिउ अनुसार बोट उम्रिन्छ । यसरी पुनर्जन्मको भुमरीमा परिरहन्छ । भगवान् बुद्धको पालामा देवदत्तको कुविचारमा लागेर आजातशत्रुले राज्य आफैँले लिएर पिता विम्बासारलाई जेलमा राखेर पैताला चिर्न लगाई नुन खुर्सानी राखेर हत्या गरे । त्यसको फल अजातशत्रुलाई उसको छोरा उदयभद्रले मारे । अजातशत्रु नरकमा जानु परे । यसरी फलबाट बिउ, बिउबाट बोट, बोटबाट फल भए झैँ ।
हामीले पहिलाका दुष्कर्मको चक्रव्यूह बने एकपछि अर्कोले दुष्कर्मको परिणाम भोग्नु प¥यो । आफ्ना पितालाई आफूले मार्दा छोराले उनैलाई मारे । यसरी उदयभद्रलाई आफ्नै छोरा महामुण्डिकले मारे । महामुण्डिकलाई आफ्नै छोरा अनुरुद्रले मारे । अनुरुद्रलाई उनकै छोरा नागदासले मारे । नागदासलाई वंशघाती भनेर मगधका जनताले मारे । यसरी एकपछि अर्को हत्याको शृङ्खला भए । पाप लुकाएर लुक्दैन । पाप धुरीबाट कराउँछ भन्ने पौराणिक भनाइ झैँ पाप गरेपछि समयचक्रले यो धर्तीको जुनसुकै कुनामा गए पनि निकाल्छ । आफू जहाँ गए पनि आफ्नो साथमा भए झैँ । पाप पनि आफू जहाँ गए पनि आफ्नो साथमा रहन्छ । पाप गर्नेका लागि सांसारिक अवस्थाले नपुगेर स्वर्ग र नर्क प्राकृतिक स्वभाव बनावट भएको हो ।
मनुष्य भएर जन्मेपछि सकारात्मक कार्य गर्नु पर्छ । सकारात्मक कार्यले सकारात्मक ऊर्जा हुन्छ । नकारात्मक कार्यले नकारात्मक नै ऊर्जा हुन्छ । मनुष्य भएर जन्मनु भनेको ८४ लाख जुनीको यात्रा गर्ने केन्द्रविन्दु हो । हामी कुन जीवात्मामा आत्मा लिएर प्रवेश गर्ने हो भन्ने हाम्रो भावना क्रियाकलापले तय गर्छ । डाहा, छलकपट, लोभ, तृष्णा, यो सबै कुसंस्कारको बाटो हो । कुसंस्कारबाट डुबेको मनुष्यलाई समुद्रमुनि डुबेको डुङ्गा उतार्नुभन्दा पनि पापले भरेको मनुष्यको पाप पखालेर धर्ममा उत्थान गर्न कठिन हुन्छ । डाह तथा ईष्र्या गर्ने व्यक्ति आफ्नो दुर्गति सहन सहज होला । अरूको प्रगति हेर्न मुस्किल हुन्छ । छलकपट लोभले लुक्नुपर्ने काम हुन्छ । लुक्नुपर्ने कामले झुक्नुपर्ने हुन्छ । झुक्नुपर्ने कामले लुक्नुपर्ने हुन्छ ।
हरेक जीवात्माले आफू जुन प्राणी भएर जिविका चलाएको हुन्छ । पुनर्जन्ममा त्यही प्राणी हुने इच्छा गरेको हुन्छ । कागले परेवा, परेवाले काग हुने इच्छा गर्दैन । पिँजडाको चरा खुला आकाशमा उड्ने इच्छा राखे झैँ ऋषिमुनिहरू जञ्जालबाट मुक्त भएर मोक्षको बाटो रोजेको हुन्छ । मोक्षको बाटो रोज्न मनुष्यले मात्र अवसर पाउने भएकाले देवगण पनि मनुष्य भएर जन्म लिन लालायित हुन्छ भन्ने ग्रन्थमा उल्लेख गरेको पाइन्छ । यस्तो सुनौलो अवसर मनुष्यले पाएर पनि अज्ञानीले आत्मालाई पापले भर्न कुकर्म गरी हिलोमा पौडी खेलेको हुन्छ ।
गरुड पुराणमा २८ नरकको वर्णन गरिएको छ–“हरेक नरकमा फरक फरक सजाय दिइन्छ । पापकर्म गर्नेले ज्वालामुखी जस्तो आगो काटिनु पर्छ । पुण्य गर्नेले दिव्य लोकहरूमा रमण गर्न पाउँछन् । मृत्युपश्चात् केही समयसम्म आत्मा शरीरको छेउमै रहन्छ । आफ्नो शरीर र आफन्तको विलाप हेर्छ । स्वर्ग वा नर्कको भुक्तानसकिएपछि आत्मालाई पुनर्जन्मका लागि पठाइन्छ । जन्म लिने ठाउँ परिवार जाति शरीर आदि फेरि पनि कर्म अनुसार निर्धारण हुन्छ ।” यसरी नै जीवन चक्र चलिरहन्छ । यो चौरासी जुनीचक्रलाई विश्राम लिन योगीहरू योग साधाना गरी परम पद प्राप्त गर्छन् । यसैलाई मृत्युलाई जितेको मानिन्छ । शरीरको अन्य अङ्ग निष्क्रिय भएर मृत्यु भए पनि श्वास प्रश्वास हुन्जेल प्राणी जिउँदो भएको मानिन्छ । जबसम्म आयुमा वायु समाहित भइरहेको हुन्छ ।