• ८ वैशाख २०८१, शनिबार

वडा कार्यालय र विद्यालय पहिरोको जोखिममा

blog

लमजुङको दोर्दी गाउँपालिका ७ को वडा कार्यालय नजिकै आएको पहिरो । तस्बिर : बेलिना थापा

बेलिना थापा

लमजुङ, असार १६ गते । लमजुङको दोर्दी गाउँपालिका वडा नं. ७ को वडा कार्यालय भवन पहिरोको जोखिममा परेको छ । उपल्लो माझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको वडाध्यक्ष रिसमाया गुरुङले बताउनुभयो । 

उहाँका अनुसार वडा कार्यालयको केही मिटर माथि सडक छ । सडक माथिबाट पहिरो झरेको छ । उक्त पहिरोको सडक हुँदै तल झर्दा वडा कार्यालयको भित्तासम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुंगा, मुढा र माटो थुप्रिएको छ ।

गत जेठ २३ गते सामान्य झरेकोमा पछिल्लो दिनमा पहिरो बढ्दै गएको बताउनुभयो । वडा कार्यालयको पीढिसम्म लेदो आएको छ । पानी परिरहेमा पहिरो झन् बढ्न सक्ने र भवन नै बगाउने जोखिम रहेको बताउनुभयो । 

पहिरोले ल्याएको फोहोर सफा गर्दै वडा कार्यालय सञ्चालन गर्ने र सेवाग्राहीलाई सेवा दिने गरिएको छ । वडा कार्यालय दिउँसो सञ्चालन हुने भएकाले ज्यानको जोखिम कम भएपनि रातभर पानी आउँदा कार्यालय लैजान चिन्ता थपिएको बताउनुभयो । जोखिमको बाबजुत पनि कार्यालय सञ्चालन गरेको अन्य विकल्पको खोजी गरिनसकिएको बताउनुभयो ।

उक्त पहिरोले नजिकैको महेन्द्र ज्योति प्राविको भवनलाई पनि जोखिममा पारेको छ । कक्षाकोठासम्म भल पस्ने गरेको विद्यालयका प्रधानाध्यापक विक्रम गुरुङले बताउनुभयो । उहाँका अनुसार लप्सीबोट जाने सडकबाट पहिरो झरिरहेको छ । गत बर्षतिर धाँजा फाट्ने गरेपनि यसबर्ष पहिरो नै चलेको छ । 

विद्यालयको तारजाली पुरेको छ । कक्षाकोठामा पहिरो पसेको छ । विद्यालय बन्द भएकाले पठनपाठन नभएको र पठनपाठन भएको भए विद्यार्थीलाई बढी जोखिम हुने बताउनुभयो । करिव २० मिटर माथिबाट पहिरो खसेको बताउनुभयो ।

विद्यालयमा कार्यालयसहित ६ वटा कोठा छ । शौचालय छ । पहिरो झर्ने क्रम बढ्दै जाँदा सिंगो विद्यालयनै जोखिममा रहेको गुरुङले बताउनुभयो । उक्त विद्यालयमा कक्षा ३ सम्म पठनपाठन हुन्छ । विद्यार्थी १२ जना छन् । पहिरो बढ्दै गएमा उपल्लो माझखर्कका करिव २०० घरधुरीमा जोखिममा पर्ने स्थानीयले बताएका छन् । रातको समयमा निरन्तर पानी पर्ने गरेकाले स्थानीय त्रसित भएका छन् ।