• १४ वैशाख २०८१, शुक्रबार

‘द हिमालयन’ लोकार्पण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १६ गते । भुटानी मूलका अमेरिकन नागरिक नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘द हिमालयन’ गायनका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यमा लोकार्पण भएको छ ।    जङ्गवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको समारोहमा प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘वर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी प्राध्यापक अनुपमा रेग्मीलगायतले पुस्तकको लोकार्पण गर्नुभएको थियो ।

 पुस्तकको अङ्ग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको हो । कार्यक्रममा इन्ट्रा नेसनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्लीराम अधिकारी, वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, अनुपमा रेग्मी, प्रमुख अतिथि व्याकुल माइलाले आआफ्ना भनाइ राख्दै पुस्तकमाथि प्रकाश पार्नुभएको थियो ।

 पुस्तकमा लेखक प्रधानले ‘बुवासँगको बाल्यकाल,’ ‘बुवाबिनाको जीवन,’ ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म),’ ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा,’ ‘दोस्रो दर्जाका मानिसहरू,’ ‘अमेरिका प्रस्थान,’ ‘क्लिभ ल्यान्ड मेरो नयाँ गाउँ,’ ‘गोप्य प्रेम कथा,’ ‘व्यापारको अनुभव,’ ‘अरूलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ जस्ता ११ शीर्षकमा विभिन्न घटनाक्रमलाई कथानक रूपमा प्रस्तुत गर्नुभएको छ ।