• २१ असार २०८१, शुक्रबार

निजगढ विमानस्थल निर्माणको बाटो खुल्यो (पूर्णपाठ)

blog

काठमाडौं, असार १५ गते। सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला गरेको छ।

सर्वोच्च अदालतले बुधबार सार्वजनिक गरेको लिखित आदेशमा विमानस्थल बनाउने कुरामा रोक नलगाएको हो। विमास्थलको प्राविधिक, वातावरणीय र आर्थिक हिसाबले उपयुक्त हुनेगरी विकल्प खोज्न फैसलामा भनिएको छ। 

‘‘विमानस्थल निर्माणको लागि उपयुक्त स्थान निर्धारण भएपछि सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकन गर्दा वातावरणमा पर्ने प्रतिकूल प्रभावलाई न्युनीकरण गर्ने पर्याप्त व्यवस्था गर्नू र प्रभावित हुने देखिएका आश्रित वन्यजन्तुको वासस्थान, विचरण तथा अन्य गतिविधिलाई असर नपुग्ने गरी उपयुक्त पूर्वाधारको निर्माण र विकास गरी वन्यजन्तु संरक्षणको उचित व्यवस्था गर्नु’, फैसलामा भनिएको छ, ‘‘विमानस्थल निर्माणका लागि रुख विरुवा काट्नुपर्ने अवस्था देखिएमा वन क्षेत्रभित्र काटिएका रुखको परिपूरणको लागि स्थान पहिचान गरी प्रचलित कानुनबमोजिम र तोकिएको मापदण्ड अनुरुप नयाँ रुख विरुवा रोप्ने, संरक्षण गर्ने र हुर्काउने समेतको व्यवगस्था गर्नू।’’ 



सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको पाँच सदस्यीय बृहत् पूर्ण इजलासले यस्तो फैसला गरेको हो।  फैसलामा हरिकृष्ण कार्की र मनोजकुमार शर्माको मत फरक छ। बृहत् पूर्ण इजलासमा दुई न्यायाधीशले फरक मत राख्नुभएको भए पनि तीन जना न्यायाधीशले राखेको राय नै अन्तिम फैसला हुनेछ।