• १३ वैशाख २०८१, बिहिबार

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित

blog

छविलाल पाण्डे 

बुटवल, असार १५ गते । लुम्विनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० का लागि प्रदेश सभामा असार १ गते प्रस्तुत भएको बजेट पारित भएको छ । लुम्विनी प्रदेश सभाको १० औं अधिवेशनको बैठकमा विभिन्न चरणमा भएको बजेट सम्वन्धी छलफलपछि बजेट बुधवार प्रदेश सभामा बहुमतबाट पारित भएको हो । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७९–८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख रुपियाँको बजेट प्रस्तुत गरेको थियो । जसमा चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात कुल बजेटको ३१ दशमलव २६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत विनियोजन गरिएको थियो । 

त्यसअघि प्रदेश सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बजेटले लुम्बिनी प्रदेशका जनताको समृद्धिको प्रतिनिधित्व गरेको बताउँदै सवैको साझा प्रयासबाट बजेट कार्यान्वयन हुने बताउनुभयो । 

लुम्बिनी प्रदेशको समग्र आर्थिक विकासका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउँदै बजेटले लिएको संकल्प पूरा गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । प्रदेश सरकारको नीति तथा कार्यक्रम सरकारको विचार दृष्टिकोण अनुसारको भएपनि बजेट सबैको साझा भएको बताउनुभयो । 

आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बजेटका विषयमा सांसदहरुले राखेको जिज्ञासाको जवाफमा जनताको जीवनस्तर परिवर्तन गर्न बजेटले सम्वोधन गरेको बताउनुभयो । यसअघि मंगलवार नै लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल सम्पन्न भएको थियो ।

प्रदेश सभामा चार दिनसम्म चलेको विनियोजन विधेयकमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित केही सत्ता पक्षका प्रदेश सभा सदस्यहरुले समेत प्रदेश सरकारले ल्याएको वजेट कार्यान्वयनमाथि प्रश्न उठाउएका थिए ।