• १७ असोज २०८२, शुक्रबार

गलकोटमा ठूला पूर्वाधार निर्माण हुने

blog

गलकोट नगरपालिका वडा ३ को नवनिर्मित भवन । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असोज १२ गते । सहरी शासकीय क्षमता विकास कार्यक्रममार्फत सघन सहरी तथा भवन निर्माण आयोजनाले पश्चिम बागलुङको गलकोट नगरपालिका वडा ३ को भवन बनाइएको छ । यो भवन बनेपछि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडाले आफ्नै घरबाट सेवा दिने तयारी थालेको वडा अध्यक्ष फमबहादुर खत्रीले बताउनुभयो ।

सहर उन्मुख गलकोटलाई व्यवस्थित बनाउने, पूर्वाधारमा अब्बल र सहरी शासकीय क्षमता विकास गर्न आयोजना सञ्चालन गरिएको थियो । झण्डै २ करोड लागतमा वडाको भवन बनेको हो । आयोजनाले नगरभित्र झण्डै १० करोडको बृहत् कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमअन्तर्गत वडा भवन पनि बनेको हो । ‘‘भवन बनिसकेको छ, भित्री डेकोरेसन भैरहेकोले दशैँपछि सर्ने तयारी छ,’’ वडाध्यक्ष खत्रीले भन्नुभयो । 

गत आर्थिक वर्षदेखि सुरु भएका एक दर्जन विकास आयोजनामध्ये ठूलो रकमको वडा भवन बनेको हो । त्यस बाहेक सडक र आयआर्जनका कार्यक्रम समेत यहाँ सञ्चालित छन् । गत आर्थिक वर्षमा निर्माण शुरु भएको भवन असोज पहिलो साता पूरा भएको हो । 

डेढ वर्षमा गलकोटमा आयोजनमार्फत एक दर्जन विकासका योजना बनेका छन् । सघन सहरी विकास आयोजनामार्फत गलकोट–३ को भवन, वडा नं. १ मा जाने सडक, वडा २ मा सार्वजनिक शौचालय, वडा ३ कै कोतघर जाने सडक तथा वडा ५ मा सडक स्तरीय बनाइएको खत्रीले जानकारी दिनुभयो । 

आयोजनाअन्तर्गत नगरको विकासलाई व्यवस्थित बनाउने, विकासले प्रभाव पारेका स्थानीयलाई आयआर्जनमा जोड्ने, नगरको आफ्नै शासकीय क्षमता बढाएर चुस्त बनाउने लक्ष्य छ । आयोजनाको साझेदारीमा नगरपालिकाले ती सबै काम गरिरहेको हो । वडा १ र २ जोड्ने सडकलाई व्यवस्थित र चौडा बनाइ सवारी सञ्चालनमा ल्याउँदा स्थानीयले राहत पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । 

गलकोटका वडा कार्यालय जोड्ने सबै सडक कालोपत्रे गर्ने नगरको लक्ष्य छ । त्यसबाहेक कोतघर जाने सडक कालोपत्रे गर्ने तयारी छ । स्थानीयको आयआर्जनका लागि कृषि फर्म विस्तार, बजारीकरण र उत्पादन क्षमता बढाउने काम सञ्चालनमा आएका छन् ।

पूर्वाधारतर्फ धेरै काम भएको बागेश्वरी निर्माण कम्पनीका प्रतिनिधि सन्तोष तामाङले दाबी गर्नुभयो । चालु वर्षको फागुनसम्म सबै पूर्वाधार सक्ने लक्ष्य छ । नरेठाँटीदेखि दुदिलाभाटी जोड्ने सडक बन्दा किसानको कृषि फसलले सहजै बजार पाउन सकेका छन् । यो सडक स्तरीय बनेपछि छिमेकी बरेङ गाउँपालिका पुग्न पनि सहज बनेको छ । यो क्षेत्रमा बाख्रापालन, तरकारी खेती, दूध लगायतका कृषि फसल उत्पादन हुने गरेका छन् । 

गलकोटलाई सहरी क्षेत्रको रुपमा विकास गर्दै व्यवस्थित सडक, ढल निकास, शासकीय क्षमता विकास गर्ने लक्ष्यले यो काम शुरु भएको आयोजनाका प्रमुख कृष्णकुमार मर्हजनले बताउनुभयो । ‘‘नमुना आयोजनाको सफलतापछि अन्य काममा पनि साथ दिन्छौं’’ महर्जनले भन्नुभयो, ‘‘विज्ञ कार्यालय भएकोले पालिका तहको विकासमा साथ दिएका हौं ।’’