• १७ असोज २०८२, शुक्रबार

थारूज क्याराभान कन्क्लेभः दाङमा २२ कार्यपत्रको प्राज्ञिक बहस

blog

थारूज क्याराभान कन्क्लेभमा सम्बोधन गर्नुहुँदै घोराहीका प्रमुख नरुलाल चौधरी । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, असोज १२ गते ।
दाङमा पहिलो पटक एउटै थलोमा प्राज्ञिक तथा अनुसन्धानमूलक २२ वटा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक रुपमा कार्यक्रम सम्पन्न भएको छ । वैकल्पिक अनुसन्धान केन्द्रको आयोजनामा, लौव अग्रासन र ख्याल बगालको सह–आयोजना तथा कबिला रिसाेर्टको व्यवस्थापनमा सम्पन्न ‘थारुज क्याराभान कन्क्लेभ’ मा थारु समुदायसँग सम्बन्धित विविध पक्षमा गहिरो अध्ययन र अनुसन्धान आधारित कार्यपत्रहरू प्रस्तुत गरिएका थिए ।

दुई दिने उक्त कन्क्लेभमा प्रस्तुत गरिएका कार्यपत्रहरुमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिक, उद्यमशीलता, पत्रकारिता, भाषा, साहित्य, इतिहास र वर्तमान अवस्थाका पक्षहरू समेटिएको थियो । अनुसन्धानकर्ताहरूले तथ्यमा आधारित सामग्री प्रस्तुत गरी थारु समुदायको समग्र अवस्थाबारे गहिरो बहस र विचार–विमर्श गरेका थिए । कार्यक्रममा प्रस्तुत २२ वटा कार्यपत्रले थारु समुदायका समस्या, चुनौती र सम्भावनाहरू उजागर गर्नुका साथै आगामी दिनमा नीति निर्माणमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

दुईदिने कन्क्लेभको समापन समारोहमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले हरेक क्षेत्रको समुन्नत विकासका लागि राजनीतिक सहभागिता अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले विगतको तुलनामा थारु समुदाय राजनीति, शिक्षा र व्यावसायिक क्षेत्रहरूमा केही हदसम्म अघि बढेको भए पनि अझ ठुलो मात्रामा संलग्नता आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यस्तो कार्यक्रमले थारु समुदायभित्र चेतना फैलाउने र वैज्ञानिक दृष्टिकोणको विकास गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षा गर्नुभएको थियो । उहाँले इतिहासमै पहिलो पटक एउटै थलोमा यस प्रकारको बौद्धिक बहस, विमर्श तथा प्राज्ञिक स्तरका २२ वटा कार्यपत्रहरू प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । साथै, यस्ता कार्यक्रमहरूले राज्य र समुदाय दुवैलाई सहयोग पुग्ने प्रमुख चौधरीले विश्वास पनि व्यक्त गर्नुभयो ।

कन्क्लेभमा सोगतविर चौधरीको नेपालका भूमिपुत्र थारुहरुको विरासत र वर्तमान अवस्था विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले आफ्नो कार्यपत्रमा नेपालमा धर्तिपुत्र थारु समुदायको पुर्खाहरुको अथप परिश्रमले पश्चिम नेपालमा मानव जातिको वास स्थान र उर्वर भूमिमा परिणत भएको प्रमाण इतिहास साक्षी रहेको उल्लेख गर्नुभयो । साथै तराईका विशाल जङ्गललाई फडानी गरेर हिंसक भीमकाय जनावर हात्ती, गैँडा, बाघ, भालु, विच्छी जस्ता जीवसँग जुद्धै, मलेरिया जस्तो डरलाग्दो विपद्सँग सङ्घर्ष गर्दै वैज्ञानिक प्रविधि स्थापित गर्दै आफूलाई स्थापित गरेको ऐतिहासिक विरात कायम गरेको स्पष्ट रहेको उल्लेख गर्नुभयो । तर नेपालको राजनीतिक परिर्वतन २००७ सालदेखि २०८२ सम्म आइपुग्दा यहाँका भूमिपुत्र थारुहरुलाई सत्तासीन राजनीतिक दलहरुले नगन्यमात्रामा बाहेक नेतृत्व तहमा आत्मसात् गरेको पाइँदैन ।

‘‘समग्र विकासका लागि स्थानीय थारु समुदायमा अधिकार स्थापित गर्नुपर्छ,’’ उहाँले भन्नुभयो, ‘‘प्रजातन्त्र सिस्टमको बखान गाएर विकास हुँदैन, विकासका लागि सम्मान अवसर चाहिन्छ र जसका लागि राजनीतिक पार्टीले स्थानीय नगारिकको सिद्धान्त अनुसार स्थानीय उम्मेदवार छनोट गर्न सक्ने कुरालाई दिनुपर्छ ।’’

कन्क्लेभमा डा. कृष्णराज सर्वहारीले, प्राध्यापक केबी चौधरी, चूर्णबहादुर चौधरी, भुवन चौधरी, डा. जर्मन चौधरी, कृष्ण चौधरी,  सन्तोष दहित, माधव चौधरी,  कुलबहादुर चौधरी,  छविलाल कोपिला, सवि थारु, श्रमलाल चौधरी,  दीप्ति शिखा चौधरी,  नीता चौधरी, प्रणव आकाश, प्रकाश चौधरी,  श्रीराम चौधरी, विकास चौधरी र  अशोक चौधरी  विविध विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।