• २७ वैशाख २०८१, बिहिबार

अमरगढी किल्ला खप्तड एकीकरण मार्ग खोज्दै सेना

blog

डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिका –५ खलङ्गामा अवस्थित अमरगढी ढुङ्गे किल्ला । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेल्धुरा, असार १५ गते । बाईसे चौबिसे राज्यबाट नेपाल एकीकरण भएकाबेला गोर्खाली फौजले हिडेको बाटो नेपाली सेनाले खोज्न थालेको छ । नेपाल एकीकरण हँुदा पूर्वबाट पश्चिमसम्म पुगेको गोर्खाली फौजले प्रयोग गरेको बाटो सेनाले खोज्न थालेको हो । 

डडेल्धुरा सदरमुकाम खलङ्गामा किल्ला स्थापना गरी हालको भारतको काँकडासम्म राज्य विस्तार गर्ने क्रममा डोटी राज्य भित्रको बाटो सेनाले खोज्न थालेको छ । डडेल्धुराको अमरगढी किल्लाबाट पूर्वतर्फ डोटी हुदै खप्तडसम्मको बाटो पहिल्याउने सेनाले जानकारी गराएको छ ।

बाटोको पहिचान गरी ईतिहास खोज्ने, अध्ययन गर्ने, पूर्खाप्रति गर्व गर्ने सोच आउने र पर्यटन गतिबिधि बढाउने उद्देश्यले नेपाली सेना यो मार्गको खोजी गरिरहेको नेपाली सैनिक प्रष्ठिानका प्राध्यापक कमलराज सिंह राठौरले बताउनुभयो । 

एकीकरण मार्ग खोज्न बुधबार नेपाली सेना रणदल बम गण डडेल्धुराले सरोकारवालासँग छलफल गरेको छ । डडेल्धुरा सदरमुकामको सबैभन्दा अग्लो डाँडाको टुप्पोमा अमरगढी किल्ला अवस्थित छ । नेपाल एकीकरणका बेला कमान्डर बनेर आउनुभएका अमरसिंह थापाले वि.स. १८४७ मा किल्लाको स्थापना गर्नुभएको ईतिहास छ । 

अमरगढी किल्ला बिशाल छ । नेपालका किल्लाहरुमध्ये सबैभन्दा ठूलो र जिउँदो किल्ला अमरगढी रहेको प्राध्यापक राठौरले बताउनुभयो । किल्लाको क्षेत्रफल साढे १४ रोपनी छ भने  करिब अढाई सय हेक्टर क्षेत्रफलमा ठूला ढुङ्गा, काठ र माटोले बनेको बिशाल किल्ला भएको त्रि.बि ईतिहास केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद थापाले बताउनुभयो । 

यस किल्लाबाट डोटीको नारी, दाङ्ग, भैरवकोट, डोटेली गौडा शिलगढी हुँदै खप्तडसम्मको बाटोको पहिचान गर्ने उहाँले बताउनुभयो । अमरगढी किल्लाबाट बाघखोर, हुलाक बाटो, स्याउले, भम्तलेको नाउला, राई सल्लाघारी, रडुवाखोला, अनाण्यागणा, बेणपानी, दावली, सकायल, स्वाछेणा, कोरालखोला, दोभाईप्या शेरा, गहनान सेतीनदी, बानडुङ्ग्रीशैन, समहुगाड, सेती नदी, नारी, दाङ, भैरबकोट, डोटी गौडा शिलगढीबाट यही बाटो हँुदै गोर्खाली फौज डडेल्धुरा पुगेको बताइन्छ । 

अमरगढी किल्लालाई आधार बनाई काँकडासम्म राज्य विस्तार भएको छलफल कार्यक्रमको निस्कर्ष छ । अब यही बाटो भएर पैदलयात्रा गरी सेनालगायतको समुहले बाटोको पहिचान गर्ने बताएको छ । 

नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्व बिद्यालय, सैनिक प्रतिष्ठान, स्थानीय सरकार र सरोकारवालासँगको समन्वय सहकार्यमा बाटो खोज्ने काम थालिएको नेपाल पर्यटन बोर्डका कविन्द्र भट्टले बताउनुभयो । २०७४ सालदेखि नेपाली सेनाले थालेको एकीकरण मार्ग भियान अन्तर्गत अमरगढी किल्ला खप्तड एकीकरण मार्गको पहिचान गर्न लागिएको उहाँले बताउनुभयो । 

एकीकरण मार्गको पहिचान गरी प्रचार प्रसार गर्नसके अध्ययन, अनुगमनका लागि र पदमार्गका रुपमा विकास गरी यहाँका ऐतिहासिक, धार्मिक, प्राकृतिक सम्पदाहरुसँग जोडेर पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ छ ।