हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज १२ गते । मुस्ताङ उद्योग वाणिज्य सङ्घको तदर्थ समिति गठन गरिएको छ । आर्थिक तथा पर्यटनको हब बन्दै गएको मुस्ताङका व्यवसायीलाई एकजुट बनाउन राजुप्रसाद लालचलको अध्यक्षतामा बनेको समितिको सचिवमा तिलक विक, कोषाध्यक्षमा विष्णु शेरचन र सदस्यमा गणेश शेरचन, योगेश शेरचन, विनोद विसी र निशान तुलाचन रहनुभएको छ । तर्दथ समितिले जिल्लाका सबै स्थानीय तह समेटेर थप चार सदस्य मनोनीत गर्ने र ६ महिनाभित्रको भेलाबाट अधिवेशन गरी कार्यसमिति चयन गरिनेछ ।
तत्कालीन अध्यक्ष खगेन्द्र तुलाचनले स्वास्थ्य समस्याका कारण देखाएर राजीनामा दिएपछि निष्क्रिय रहेका सङ्घको तदर्थ समिति भेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । तर्दथ समितिको गठनको अवसरमा महासङ्घका अध्यक्ष ढकालले त्रिदेशीय व्यापारका लागि मुस्ताङ हब बन्ने सम्भावना रहेकाले कोरला नाकाको व्यावसायिक सञ्चालनका लागि महासङ्घले थप सक्रियता देखाउने बताउनुभयो ।
महासङ्घका अध्यक्ष ढकालले भन्नुभयो, ‘‘मुस्ताङ कृषि र पर्यटनसँगै अब त्रिदेशीय व्यापारमा समेत प्रवेश गरेको छ, यो अवसरलाई गुमाउनु हुँदैन ।’’ नेपाल–चीन–भारतबिचको व्यापारलाई फराकिलो बनाउन कोरला–जोमसोम–बेनी–पोखरा सडकलाई सहज तथा नाकाबाट आयात, निर्यातसँगै तिब्बत क्षेत्रमा रहेका धार्मिकस्थलहरूमा आवतजावतको वातावरण बनाउनुपर्नेमा उद्योग वाणिज्य महासङ्घको जोड रहेको टोलीमा रहनुभएका म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।
कोरला नाकाको व्यवसायिक सम्भावना तथा थप सहजताका लागि सदरमुकाम जोमसोममा स्थानीय उद्योगी–व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा भारत र चीनलाई जोड्न कोरला नाका सबैभन्दा छोटो अन्तर्राष्ट्रिय व्यापारिक मार्ग बन्ने भएकाले यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नेपाल सरकारसँग समन्वय गर्ने तथा निजी क्षेत्रले समेत सहयोग तथा सहकार्यका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो ।
कोरला नाकालाई नियमित सञ्चालन गर्न सकिएमा नेपालको व्यापार घाटा न्यूनीकरण र पूर्वाधार लगानीमा समेत आकर्षित गर्न सकिने भएकाले मुस्ताङका व्यवसायिकले अन्य नाकामा समस्या भएर मात्रै वैकल्पिक मार्गको खोजी गर्ने प्रवृत्तिको अन्त्य गनुपर्नेमा जोड दिएका थिए । अन्तरक्रिया कार्यक्रम तथा कोरला भ्रमणमा गण्डकी प्रदेश उद्योग वाणिज्य सङ्घ अध्यक्ष अमृत भट्टचन, केन्द्रीय सदस्य युवराज भण्डारी, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष, गोर्कण कार्की बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन शाक्य, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, गैंडाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष छवि कँडेललगायतको उपस्थिति थियो ।