• १७ असोज २०८२, शुक्रबार

मुस्ताङ भन्सारद्वारा एक अर्ब ३७ करोडभन्दा बढी राजस्व सङ्कलन

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालय । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), असोज १२ गते ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा अवस्थित मुस्ताङ भन्सार कार्यालय न्हेछुङले दुई सातामै एक अर्ब ३७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेन हुँदै आएका विद्युतीय (ईभी) गाडी, इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक, हस्तकला, कस्मेटिक साम्रगीबाट आइतबारसम्म एक अर्ब ३७ करोड ७० लाख ४५ हजार भएको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो । भन्सार कार्यालय प्रमुख खड्काले भन्नुभयो, ‘‘राजस्व झनै बढ्ने देखिन्छ, चिनियाँ भन्सारबाट इभी सहित थप कन्टेनर आउँदै छन्, केहीको जाँचपास बाँकी नै छ ।’’

करिब दुई हप्ताको अवधिमा ७९१ मध्ये ७६९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको छ । चीनबाट आयात गरिएका ३११ वटा मालवाहक ढुवानी कन्टेनरमध्ये २४६ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास सम्पन्न भएर कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै गन्तव्यतर्फ लागेको कार्यालय प्रमुख खड्काले बताउनुभयो ।

भन्सारमा चीनबाट आयात गरिएकोमध्ये ६५ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपासको काम बाँकी रहेकाले राजस्वको आकार झनै बढ्ने मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । यसैबिच मुस्ताङबाट मुस्ताङतर्फबाट काठका साम्रगी, ज्याकेटसहित अन्य पोशाक लिएर पाँच वटा मालबाहक ट्र«क निकासी भएका छन् । चिनियाँ भन्सारसम्म चिनियाँ चालकले इभी ल्याएर आउने र त्यहाँभित्रबाट नेपाली चालकले गन्तव्यमा पु¥याउन थालेपछि कोरला–जोमसोम–बेनी सडकखण्ड अहिले इभीको लाइन देखिन्छ ।

बाढीपहिरोका कारण चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी सञ्चालनमा नआएपछि वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको कोरला नाकाबाट असोज १२ गतेसम्म आयात हुने विद्युतीय सवारीसाधनसहितका सामानबाट करिब अरबको हाराहारीमा राजस्व सङ्कलनको अनुमान गरिएको छ । नाका सञ्चालन भएपछि स्थानीयको ब्यापार तथा रोजगार पाएका छन् ।

वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका हालसम्म मुस्ताङका पाँच स्थानीय तहका बासिन्दाले घरायसी र सामान्य व्यापारका लागि सामान आयात गर्ने गरेका थिए । अहिले विद्युतीय सवारीसाधनलाई कोरला–जोमसोम–बेनी हुँदै पोखरासम्म गुडाएरै लगिए पनि सडकखण्ड सुधार गर्नुपर्ने चालकले बताएका छन् ।

भन्सारबाट छुटेका विद्युतीय सवारीसाधनलाई चार्जिङ स्टेशनमा भएकाले सहज भएको छ । कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा जनशक्तिसहितको व्यवस्थापनले निर्यात तथा आयातकर्तालाई सहज भएको छ । समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । चिनियाँ भूभागबाट आएर मुस्ताङको कोरला भन्सार कार्यालयबाट जाँचपास तथा आयात हुने वस्तुका लागि पनि प्रतीतपत्र (एलसी) खोलिएपछि नेपाली व्यवसायीलाई सहज भएको छ ।