• १७ असोज २०८२, शुक्रबार

गोरखापत्रकर्मी पराजुली सम्मानित

blog

बसन्त पराजुलीलाई सम्मान गरिँदै ।

भरतपुर, असोज १२ गते । गोरखापत्रका नारायणगढ समाचारदाता बसन्त पराजुली सम्मानित हुनुभएको छ । गुरूङ समुदायको इतिहास, संस्कृति र बखानसिह गुरुङको राजनैतिक भूमिकालाई उजागर गर्दै उपन्यास बखान लेखिएको भन्दै समाचारदाता पराजुलीलाई तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद चितवनले गुरूङ संस्कारअनुसार सम्मान गरेको हो ।

कार्यक्रममा पराजुलीलाई दही–अक्षता र सेतो फेटा लगाएर सम्मानपत्र प्रदान गरिएको थियो । दहिको अक्षता र सेतो फेता लगाउनु गुरुङ संस्कृतिमा उच्च स्तरको सम्मान हो । कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष विमला गुरुङ्गले सेतो फेता लगाइदिदै सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।  

पराजुली नेपाल पत्रकार महासंघ चितवनका अध्यक्षसेमत हुनुहुन्छ । उहाँको बखान उपन्यास भदौमा सार्वजनिक भएको हो ।  

उपन्यासले गुरुङ संस्कृतिसँगै समग्र नेपाली समाजको चित्रण गरेको बताइन्छ । सम्मान पछि बोल्दै गुरुङ संस्कृतिका ज्ञाता गणेशबहादुर गुरूङले उपन्यास चितवनको ऐतिहासिक दस्तावेज भएको बताउनुभयो ।

“बखान उपन्यास गुरूङ समुदायको लागि एउटा महत्त्वपूर्ण दस्तावेज हो । यसलाई हरेक नेपालीले संग्रह गरेर राख्न जरुरी छ”, उहाँले भन्नुभयो ।

सो अवसरमा बोल्दै समीक्षक तथा पत्रकार विनोदवावु रिजालले बखान उपन्यास केवल गुरूङ समुदायका लागि मात्र नभई गैरगुरूङ समुदायका पाठकहरूका लागि पनि रुचिकर रहेको बताउनुभयो ।

“उपन्यासमा देखिएको संवेदनशीलता र यथार्थ चित्रणले उपन्यास जीवन्त बनेको छ । यो हरेक नेपालीले आफ्नो घरमा संग्रह गरेर राख्न उचित देखिन्छ”, उहाँले भन्नुभयो ।

“बखान ‘ऐतिहासिक दस्तावेज’ हो । उपन्यासभित्रको प्रमुख पात्र बखानसिंह गुरूङले राज्यबाट पाउनुपर्ने सम्मान उपन्यास मार्फत नागरिक तहबाट पाएका छन्” उहाँले भन्नुभयो । गुरूङ संस्कृतिमा गहिरो सरोकार राख्ने कवि एवम् समीक्षक माया कोन्मे गुरूङले उपन्यासले गोरखा, तनहुँ, चितवन र नरकटियागञ्ज बखानको मुख्य भूगोल भएको हुँदा भूगोलको विषयमा अ ध्यान दिनुपर्ने देखिएको बताउनुभयो ।  

तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा तमू ह्युल छोँज धीँ चितवनका पूर्वअध्यक्ष एवम् सल्लाहकार पदमबहादुर गुरूङ, विपश्यना आचार्य एवम् लेखक अक्कलध्वज गुरूङ, तमू ह्युल छोँज धीँका केन्द्रीय सदस्यहरु तुलाराम गुरूङ, नारायणसिंह गुरूङलगायतले मन्तब्य राख्नुभएको थियो ।

बखान उपन्यासले चितवनको वस्ति विकास, धर्म सस्कृति र ऐतिहासिक कुरा उत्खनन गरेको छ । गुरुङ संस्कृतिसँगै  उपन्यासले थारु, नेवार संस्कृति पनि उजागर गरेको छ ।

शिखा प्रकाशनले गत भदौ महिनामा प्रकाशन गरेको बखानले यस अघि नेपाली काँग्रेस चितवनद्धारा सम्मानित भएको छ । वीपी जयन्तिका अवसरमा गत भदौँ २३ गते नेपाली काँग्रेस चितवनले ऐतिहासिक ब्यक्तित्वका बारेमा उपन्यास लेखिएको भन्दै सम्मान गरेको हो ।