• १७ असोज २०८२, शुक्रबार

सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप

blog

दमौली (तनहुँ),  असोज १२ गते ।  तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ । जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर ल्यापटप सहयोग गरिएको हो । 

‘दृष्टिविहीन सोलुमाया आलेका लागि ल्यापटप अभियान’ सञ्चालन गरी रु एक लाख ६५ हजार ९५० सङ्कलन भएको स्थानीय अगुवा इन्द्रबहादुर आलेले जानकारी दिनुभयो । डेढ महिनाअघि सुरु गरिएको अभियानका लागि ३२ जनाबाट रकम सङ्कलन भएको उहाँले बताउनुभयो । 

सङ्कलित रकममध्ये रु ५४ हजार ५०० मा ल्यापटप खरिद गरिएको छ । बाँकी रु एक लाख ११ हजार ४५० मध्ये रु एक लाख आलेको खातामा जम्मा गरिएको छभने रु ११ हजार ४५० नगद शनिबार निजको घरमा पुगेर ल्यापटपसहित हस्तान्तरण गरिएको छ । 

आले हाल पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । यस अभियानका लागि सबैभन्दा बढी रकम हाल अमेरिका निवासी प्राध्यापक बीके रानाले रु ५१ हजार ५५६ सहयोग गर्नुभएको थियो । रासस