• १७ असोज २०८२, शुक्रबार

समस्या समाधान गर्न मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य पश्चिम नवलपरासीमा डुबान क्षेत्रको अवलोकन गर्नुहुँदै ।

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असोज १२ गते ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई पश्चिम नवलपरासीस्थित सरावल गाउँपालिकाका स्थानीय नागरिक तथा प्रतिनिधिहरूले गाउँपालिकामा देखिएका बाढी, डुबान, सडक र नदी नियन्त्रणसम्बन्धी गम्भीर समस्याहरू समाधानका लागि ध्यानाकर्षण गराएका छन् ।

प्रदेशका मुख्यमन्त्री आचार्य पश्चिम नवलपरासीमा डुबान क्षेत्रको अबलोकनको क्रममा गाउँपालिकाका नागरिकले मुख्यमन्त्री आचार्यसमक्ष बाढी तथा डुबान क्षेत्रको तत्काल राहत, भुजहवा जोड्ने आरसीसी सडक डबल लेन विस्तार र नदी सरसफाई तथा मजबुत तटबन्ध निर्माण गर्न माग गरेका छन् ।  

हरेक वर्ष आउने बाढीका कारण जनजीवन अस्तव्यस्त हुने खेतीयोग्य जमिनमा क्षति पुग्ने र भौतिक पूर्वाधारमा ठुलो नोक्सानी भएको भन्दै प्रदेश सरकारको तत्काल ध्यान पुर्‍याउन अनुरोध गरिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का नागरिकको तर्फबाट सरावल गाउँपालिकाले वर्षायाममा हरेक वर्ष भोग्दै आएको बाढी र डुबानको समस्या यस वर्ष पनि विकराल बनेको उल्लेख छ ।

बाढी तथा डुबान क्षेत्रको तत्काल राहततर्फ बाढी प्रभावित क्षेत्रको वास्तविक क्षति र समस्याको आँकलन गर्नुपर्ने । पीडित जनतालाई तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी वर्षका लागि बाढी नियन्त्रणको दीर्घकालीन योजना निर्माण गर्न अनुरोध गरेको छ ।

भुजहवा जोड्ने आरसीसी सडक डबल लेन विस्तार तर्फ गाउँपालिकाको प्रमुख सडक सञ्जालमध्येको एक भुजहवा जोड्ने आरसीसी सडक साँघुरो भएकाले सवारी आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढेकोले यसलाई तत्काल डबल लेनमा स्तरोन्नति र विस्तार गर्नुपर्ने भएकाले सडक विस्तारका लागि योजना स्वीकृत गरी बजेट विनियोजन गर्न माग छ ।

नदी सरसफाई तथा मजबुत तटबन्ध निर्माण तर्फ सरावल भएर बग्ने नदीहरूमा जमेको लेदो (सिल्ट) र माटोको तत्काल सरसफाई गरी नदीको बहाव उचित बनाउनुपर्ने, मानव बस्ती र खेतीयोग्य जमिनलाई कटानबाट बचाउनका लागि उच्च प्राथमिकताका साथ मजबुत तटबन्धहरू निर्माण गर्ने कार्यलाई प्रदेश सरकारको कार्यक्रममा समावेश गर्न जोडदिनुभयो । यी मागहरू सरावल गाउँपालिकाको विकास र जनताको जीवन रक्षाका लागि अपरिहार्य रहेकाले विशेष प्राथमिकताका साथ कार्यान्वयन हुनेमा नागरिकले विश्वास व्यक्त गरेका छन् ।