धीरेन्द्रप्रसाद साह
राजविराज, असोज १२ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले लोकतन्त्रलाई दलविहीन बनाउने प्रयास खतरनाक हुने बताउनुभएको छ ।
उहाँकाअनुसार राजनीतिक दल नै सघीय लोकतान्त्रिक गणतन्त्रको पहरेदार भएकोले यसको विकल्प खोज्नु बेकारको अभ्यास मात्र हो । उहाँले स्मरण गर्दै भन्नुभयो, “हामी जेन एक्सले आफ्नै आँखै अगाडि २०३६ को विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन, माओवादी युद्ध, मधेशको विद्रोह, राजतन्त्रको पतनदेखि संविधान निर्माणसम्मको संघर्ष देख्यौँ । आज फेरि हाम्रो सन्तानको पुस्ता सडकमा छ, जेन–जी विद्रोह ।”
आइतबार विशेष भेटमा उहाँले थप्नुभयो, समस्या नेतामा, भ्रष्टाचारमा र प्रणालीमा भए पनि यसको समाधान दलविहीनता होइन । “दल बिना सङ्घीयता टिक्दैन, समावेशिता हराउँछ र गणतन्त्र कमजोर हुन्छ ।
विशेषगरी मधेशी, जनजाति, दलित समुदायका अधिकार दलविहीन अवस्थामै पहिले हराउने सम्भावना बढी हुन्छ,” साहले धारणा व्यक्त गर्नुभयो ।
सुधारलाई नै मूल उपाय ठहर गर्दै उहाँले दललाई गाली गरेर होइन, सद्भाव र सुधारमार्फत सबल बनाउन आग्रह गर्नुभयो। “दललाई नष्ट गर्ने होइन, सुधार गर्ने हात बनौँ । किनकि दल नै संघीय लोकतान्त्रिक गणतन्त्रको आधार हो,” उहाँले जोड दिनुभयो ।