• १७ असोज २०८२, शुक्रबार

लोप हुँदै गएको पिङ संरक्षणमा युवा सक्रिय

blog

भानु नगरपालिका–१२ घलेछाप पुतली चौतारामा घलेछाप युवा क्लबद्वारा बनाइएको पिङ । तस्बिरः अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज १२ गते ।
दसैँ र तिहारको आगमनसँगै गाउँघरमा पिङ हाल्ने परम्परा नेपाली मौलिक संस्कृतिको अभिन्न हिस्सा मानिन्छ । तर समयको परिवर्तन, आधुनिकीकरण र युवापुस्ताको विदेशप्रवाससँगै यो परम्परा क्रमशः हराउँदै गएको छ ।

यस्तो परिस्थितिमा स्थानीय युवाहरूले पिङ संरक्षणमा सक्रिय भूमिका खेलेका छन् । भानु नगरपालिका–१२ स्थित घलेछाप युवा क्लब का अध्यक्ष कुशलचन्द्र अधिकारीले जानकारी दिनुभयो, “गाउँमा लोप हुन नदिन समुदायसँग बाँस र डोरीको सहयोग जुटाएर लिङ्गे पिङ हालिएको हो ।” क्लबले घलेछाप पुतली चौतारामा पिङ हालिसकेको छ ।

यस्तै, व्यास नगरपालिका–१२ स्थित एकता युवा क्लबका अध्यक्ष ताराप्रसाद पन्थले मौलिक संस्कृतिको संरक्षणका लागि पिङ राख्ने परम्परा निरन्तरता दिइरहेको बताउनुभयो । गत वर्ष पनि करिब १० हजार रुपैयाँ खर्च गरेर लिङ्गे पिङ निर्माण गरिएको थियो । स्थानीय बुढापाकाहरूको अनुभव अनुसार केही वर्षअघिसम्म गाउँ–चोकमा सहजै देखिने पिङ अहिले हराउँदै गएको छ । व्यास–११ पोल्याङका ८१ वर्षीय खडानन्द कैनीले दसैँ र तिहार पिङमा मच्चिने रमाइलो परम्परा अहिले लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ ।

व्यास नगरपालिका–१० दुम्सी निवासी शिक्षक श्रीकृष्ण आचार्यका अनुसार, पिङ निर्माणका लागि बलियो सालको काठ आवश्यक पर्छ र त्यसका लागि वन कार्यालयको अनुमति लिनुपर्ने हुन्छ । जनशक्ति र सीपको कमी, प्रविधिको विकास र आधुनिक मनोरञ्जनका विकल्पहरूले गर्दा पनि पिङ लोप हुने खतरा बढ्दो छ ।