• १३ असोज २०८२, सोमबार

एसइईमा मौकासहित असी प्रतिशत उत्तीर्ण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका (ग्रेड वृद्धि) परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको छ । दसैँअघि नै परीक्षाफल सार्वजनिक गर्नुपर्ने दबाबमा रहेको राष्ट्रिय परीक्षा बोर्डले शनिबार सार्वजनिक बिदाको दिन भए पनि नतिजा सार्वजनिक गरेको हो । 

बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा एक लाख ४३ हजार २५७ जना परीक्षार्थी सहभागी भएका थिए । यीमध्ये ८३ हजार ५६३ जना परीक्षार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले जानकारी दिनुभयो । यो परीक्षामा सहभागी कुल परीक्षार्थीको ५८.३३ प्रतिशत हो । 

मौका परीक्षा दिएकामध्ये सबैभन्दा उच्च जिपिए ३.६० देखि ४ सम्म २६ जनाले ल्याएका छन् । त्यस्तै सबैभन्दा तल्लो जिपिए १.६० देखि २ सम्म ४५ जनाले ल्याएका छन् । सबैभन्दा धेरै जिपिए २.४० देखि २.८० सम्म ५१ हजार ४०३ जनाले ल्याएका छन् । 

यसअघि नियमिततर्फको परीक्षाको नतिजा बोर्डले गत असार १३ गते सार्वजनिक गरेको थियो । त्यतिबेला परीक्षामा सहभागी चार लाख ३८ हजार ८९६ जना परीक्षार्थीमध्ये ६१.८१ प्रतिशत अर्थात् दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका थिए । 

त्यस परीक्षामा अनुत्तीर्णका लागि बोर्डले ग्रेड वृद्धि परीक्षाको मौका दिएको थियो । नियमित र मौका परीक्षाको नतिजा जोड्ने हो भने एसइईमा ८०.८५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् अर्थात् दुवै परीक्षामा सहभागीमध्ये २० प्रतिशत परीक्षार्थी मात्रै कक्षा ११ को पढाइबाट वञ्चित भएका छन् । 

अहिले अधिकांश स्कुलहरूले कक्षा ११ को पढाइ सञ्चालन गरेर पहिलो त्रैमासिक परीक्षासमेत सम्पन्न गरिसकेका छन् । मौका परीक्षामा उत्तीर्ण परीक्षार्थीले अब छठ पर्वपछि मात्रै कक्षा ११ मा भर्ना हुन पाउँछन् ।