• १३ असोज २०८२, सोमबार

सल्यानमा फोर्स दुर्घटना : तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

blog

दुर्घटना भएको यात्रुवाहक फोर्स गाडी । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 
सल्यान, असोज १२ गते ।
रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही जाँदै गरेको यात्रुवाहक फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

सल्यानको कपुरकोट गाउँपालिकास्थित चोरखोला नजिकै आइतबार बिहान भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार रूकुमबाट दाङतर्फ जाँदै गरेको लु२ख ६५०२ नम्बरको गाडी सडकबाट करिब ३००–४०० मिटर तल खसेको थियो । दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको हो । साथै अर्का एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् ।

दुर्घटनाग्रस्तको परिचय र घटनाका कारण खुल्न सकेको छैन । सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले दुर्घटनामा घाइते भएका यात्रुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको बताउनुभयो ।