• २१ असार २०८१, शुक्रबार

झापामा धान खेतीमा यान्त्रिकरण र सामूहिक खेती प्रणालीमा ‘कृषि क्रान्ति’

blog

कमल गाँउपालिकामा भित्रिएको चार चक्के राइस ट्रान्सप्लान्टर।

विष्णुप्रसाद पोखरेल

दमक, असार १५ गते। झापामा केही वर्ष अघिसम्म धान रोप्नका लागि खेताला नपाइने समस्याले गर्दा हैरानी बेहोर्दै आएका किसान पछिल्लो समय धानखेतीमा आधुनिकरण र प्रविधिको प्रयोगप्रति उत्साहित बन्न थालेको पाइएको छ।  हराएको पर्म लगाउने परम्पराको विकल्पमा सामूहिक धानखेती सुरु भएपछि धानखेतीमा एक प्रकारको क्रान्ति आउन थालेको छ।

जिल्लामा सहकारी तथा कृषिसम्बन्धी विभिन्न फार्मले आधुनिक प्रकारका धान रोप्नेदेखि लिएर काट्ने र झार्नेसम्मका प्रविधिको प्रयोगलाई जोड दिन थालेपछि उत्पादन लागत घट्नुका साथै खेताला नपाइने समस्याको विकल्प निकालेको हो। बुधबार झापाको कमल गाउँपालिका–७ मा लखनपुर साना किसान सहकारी संस्थाले आधुनिक धान रोप्ने मेसिनबाट धान रोपेर असार १५ मनाएको छ।

कार्यक्रममा सहभागी प्रदेश १ का कृषि सचिव मेघनाथ तिम्सिनाका अनुसार पछिल्लो समयमा झापासहित प्रदेश १ मा किसानले धान खेतीमा आधुनिकरण सहितको प्रविधिको प्रयोग थालेका छन् । 'प्रविधि तथा यान्त्रिकरणको प्रयोग र सामूहिक खेती प्रणालीबाट कृषिमा परिवर्तन सम्भव छ', उहाँले भन्नुभयो। उत्पादन लागत घट्ने र उत्पादन बढ्ने भएकाले यो सबैका लागि लाभदायी हुने पनि उहाँले बताउनुभयो।

किसानको सहजताका लागि विभिन्न सहकारी संस्था, कृषि फार्म र कृषि समूहलाई सरकारले कस्टम हायरिङ्ग सेन्टीको सञ्चालनका लागि अनुदान एवं सहयोग गर्न थालेपछि सामूहिक रुपमा खेती प्रणाली गर्नेक्रम बढेको पाइन्छ। 'प्रदेश सरकारले कृषिको आधुनिकरणका लागि यान्त्रिकरण र सामूहिक तथा चक्लाबन्दी खेतीलाई प्रवर्धनका लागि बजेटको ठूलो हिस्सा छुट्याएको छ', तिम्सिनाले भन्नुभयो।

आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन एकाइ झापामार्फत कमल गाउँपालिकामा मात्र पनि दुई वटा आधुनिक र सुविधायुक्त चारपाङ्ग्रे धान रोप्ने मेसिन भित्रिएको छ। साना किसान सहकारी संस्था कमल गाउँपालिका लखनपुर र तीन वटा सहकारी संस्थाले एकैसाथ यो मेसिन भित्र्याएको पाइएको हो। 

'मेसिनको धान रोपाइँ देखेर किसान पनि दङ्ग देखिनु भएको छ', साना किसान सहकारी संस्था लखनपुरका व्यवस्थापक टङ्क पराजुलीले भन्नुभयो। उहाँका अनुसार किसानले पनि सहकारीको यो मेसिन निश्चित भाडा तिरेर लगेर प्रयोग गर्न सक्ने भएकाले यस क्षेत्रमा कृषिमा नयाँ अध्याय सुरु हुने पराजुलीको भनाइ छ। 

कृषि उपकरण राख्ने कस्टम हायरिङ सेन्टर स्थापना गरेर किसानलाई उपलब्ध गराउने आफूहरुको योजना रहेको उहाँकाे भनाइ छ ।