• २१ असोज २०८२, मङ्गलबार

तौलिहवाको दसैँ

blog

नदीको वेग जस्तो वेगवान् हुँदो रहेछ, जीवन । हावाको झोक्का जस्तै पछाडि फर्केर नभेट्टाउने चिज रहेछ, जीवन । बाल्यकालीन माटोको सुगन्धलाई यादको कन्तुरमा मिलाएर राख्ने चिज रहेछ, जीवन । ती यादलाई कन्तुरबाट फुकाउने प्रयास गर्दै छु ।  तौलिहवा मेरा लागि अति प्रिय ठाउँ किनकि पहिलोपल्ट हावामा मैले श्वास फेरेको ठाउँ, सूर्यको किरणले मलाई न्यानो पारेको ठाउँ, पहिलो पटक माटोमा टेकेको र खेलेको ठाउँ । परिवेश भिन्न छ, समय भिन्न छ तर पनि यो मन मेरो तौलिहवामै छ । यतिखेर काठमाडाँैमा बसेर पनि तौलिहवाको परिवेश र नवदुर्गाको समयलाई खोजेकी छु । भौतिक उपस्थिति नभए पनि आत्मिक रूपमा पूर्ण उपस्थित छु । 

तुल्य तुल्य छन् बाहै्र महिना पर्वहरूका लागि । सबै पर्वमध्ये राष्ट्रिय अनि महान् पर्व दसैँ । उदाउँछ अरुणोदय भएर दसैँ मान्छेको जीवनमा । छुट्टै उत्साह र उल्लास लिएर आउँछ, दसैँ । यस समय वर्षाले छोड्छ ताण्डव नृत्य गर्न, आयो शरद ऋतुले सुन्दर जीवनलाई अँगालो हाल्न । बनायो वातावरण मधुर र हराभरा । 

दैलोमा भित्रिन लागेको दसैँको प्रतीक्षामा छु, यस समय । परिवेश र अनुभूति फरक भए पनि दसैँलाई सम्झँदा मलाई उही तौलिहवामा बिताएको बाल्यकालीन दसैँको सेरोफेरोले पछ्याइरहेको छ । प्रिय बाल्यकाल ! म चाहान्छु तिम्रै अतीतको पोखरीमा डुबुल्की मार्न, चाहान्छु त्यही परिवेशमा फर्कन । समय निकै छिप्पिइसक्यो । समयको शिलालेखमा यी अक्षरहरू कोरिनु र आँखाको परेलीमा ती दृश्यलाई नचाउनुबाहेक अरू कुनै उपाय छैन । सम्झन्छु, बाबुआमाको काखमा हुँदाको दसैँ र आफूले व्यवहार गर्न पर्दाको दसैँ । यी दुवैलाई तुलना गर्न पुग्छु । अनि सोच्छु कुन चाहिँ आनन्द र रमाइलो भयो होला जीवनमा । पक्कै पनि बाल्यकालको दसैँ उन्मुक्त चरा जस्तो भयो होला । आफूले व्यवहार गर्नु परेको दसैँमा सधँै सजग हुनु परेको मेरो ठम्याइ छ । 

कृषिप्रधान देश नेपालमा असार साउनमा रोपेको धानले बैँस भर्दै जान्छ । भदौ, असोजले सिँढी चढेपछि धानले सौन्दर्य देखाउँदै जान्छ । यस समयमा माथि नीलिमामय कञ्चन आकाश तल पहेँलपुर झुलेका धानका बाला देख्दा लाग्छ, स्वर्ग यही हो । यही स्वर्ग मानिएको धराको छातीमा सुसेली गाउँदै बयेली खेलिरहेका छन्, धानका बालाले । लाग्छ, सारा तराईको फाँट दिव्य सौन्दर्यले कुँदिएको अनि सङ्गीत भरेको जस्तो । धर्तीबाट उठेर गएको सुगन्ध र सौन्दर्यले पक्कै स्वर्गका देवीदेवता पनि प्रफुल्लित भएका होलान् । 

दसैँको समयमा पूरा नपाकेको धानको चिउरा मेरो जिब्रोमा आएर बस्छ । पूरा नपाकेको धानबाट तौलिहवामा चिउरा बनाइन्थ्यो । जसलाई बोलीचालीको भाषामा ‘सुरुवाको चिउरा’ भनिन्थ्यो । गाउँघरतिर चिउराका लागि दसैँछेक ढिकीको ढुक ढुक आवाजले नृत्य गरेको आभास दिन्थ्यो । ढिकी या मिलमा कुटेको चिउराले गाउँभरि छुट्टै मगमग बास्ना लिएर आउँथ्यो र पो दसैँको रौनक आए जस्तो हुन्थ्यो । यतिखेरको समय धान काट्ने बेला हुँदै छ । घरमा रङरोगन वा कमेरो लगाउने चटारो हुन्थ्यो, कलेज बन्द भएपछि युवा विद्यार्थी बाहिरबाट घर फर्किन्थे अनि केटाकेटीले स्निग्ध आकाशमा उन्मुक्त भई चङ्गा उडाउँथे । अनि पो दसैँ आए जस्तो लाग्थ्यो । बर्सौंदेखि मुगलान पसेका वा परदेसिएका लाहुरेसहित भारतमा पढ्न गएका मेरा भाइहरू पनि दसैँमा घर आउँथे । लाहुरेहरू आउँदा काँधमा रेडियो वा टेप घन्काउँदै आउँथे । त्यो साङ्गीतिक धुनसँगै दसैँको रौनक आए जस्तो हुन्थ्यो । 

समय गतिशील छ । अहिले समय अर्कै भएको छ । हुन त अहिले पनि युवाले गीत बजाउँछन् बजाउन त ! तर कानमा हेडफोन वा इयरफोन लगाएर । प्रविधिले फड्को मा¥यो, विकास पनि भयो । यही विकासको हाँगामा बसेर केटाकेटीहरू पिङ खेल्दै छन् । कोठाभन्दा बाहिर देख्न पाइँदैन केटाकेटीलाई । चार दिवारको कोठामा बसेर मोबाइलभित्रै पिङ खेल्ने, तास खेल्ने गर्छन् । भौतिक उपस्थितिको कुनै आवश्यकता ठान्दैनन् । 

उहिलेको दसैँमा घरपरिवार सम्झिएर परदेशीहरू गाउँ फर्कन्थे तर अहिले परिस्थिति बेग्लै भएको छ । अचेल दसैँ बिदामा मानिसहरू घर छोडेर बाहिरिने गर्छन्, घुम्न निस्किने गर्छन् । परिवारिक एकताको मूल्य घट्दै गएको छ अचेल । उतिखेर ठाउँ ठाउँमा रोटे पिङ र रुखका हाँगामा बनाइएको पिङ मच्चाइन्थ्यो र पो दसैँ आएको आभास हुन्थ्यो । चिसो ठाउँदेखि तातोपना खोज्दै आफ्नै तालमा नाच्दै पन्छी आउँथे र पो दसैँ आए जस्तो हुन्थ्यो । त्यसमा पनि साइबेरियादेखि जगदीशपुर तालमा नियमित रूपमा चरा आउँदा मनै फुरुङ्ङ हुन्थ्यो ।

फेरिएको समय र परिस्थितिसँगै बढ्दो प्रविधि र 

अन्तर्राष्ट्रिय बजारले गर्दा हाम्रो घरगाउँ शून्य भएको छ । युवाविहीन गाउँलाई दसैँ अनि तिहार वा अन्य चाडबाडले पनि खासै उत्साह भर्न सकेको छैन । यसरी गाउँघर शून्य भयो भने अन्ततः एकदिन सहर पनि गाउँ जस्तै शून्य नरहला भन्न सकिन्न । अहिले एकदम विवशतामा बाँचिरहेका छौँ, हामीहरू । बाध्य छन्, नेपाली आमाबाहरू मोबाइलको स्व्रिmनबाट आँसु खसाल्दै बिदेसिएका छोराछोरी र आफन्तलाई टीका लगाइदिई आर्शीवाद दिन । 

समयलाई एकछिन सिलाएर टक्क अड्याउन मिल्ने भए फेरि फर्कन्थेँ होला म मेरै अतीतको तौलिहवामा । रामघाटको किनारमा शशी, रूपा, रीता, सुमन, हेमासँगै बाल्यकालको आफ्नो पदचाप खोज्न । रामघाटको नदीमा दौडिरहेको पानीसँगै आफ्नै छाया खोज्न । विजयको प्रतीकका रूपमा लिइने दसैँलाई मातृशक्तिका रूपमा लिइन्छ । ती नौ देवी शैलपुत्री, बह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायानी, कालरात्रि, महागौरी र सिद्धिदातृको पूजाआराधाना गर्ने गरिन्छ । 

घटस्थापनाको दिन जमरा राख्ने ठाउँ गोबरमाटोले लिपी शुद्ध बनाएर टपरी र केराको पातमा जमरा राख्ने चटारो हुन्थ्यो मेरी हजुरआमालाई । नवदुर्गा, जसलाई अवधि भाषामा नौरथा भन्ने गरिन्छ, नौरथा लागेपछि बिहान ४ बजे उठ्नुपथ्र्यो । नुहाइधुवाई हजुरआमा र आमासँग मन्दिरमा पूजा गर्न गइन्थ्यो । शरदीय याम, शुक्लपक्ष भएकाले चाँदनी रातले शीतल प्रकाश आँगनीमा खसाल्थ्यो । कोही कोही एकाबिहानै रातिमा जस्तो ५ बजेतिरै पूजा गरेर फर्किन्थे भने कोही जाँदै रहेका हुन्थे । प्रभातको समय सूर्यले आफ्नो किरण पहाडको टुप्पोमा ठोक्काउँदै तराईको फाँटमा सुस्तरी ओछ्याउँदै हुन्थ्यो । चराको मधुर गानसँगै त्यहाँ उपस्थित भक्तजन कालीमाईको मन्दिरमा, मालाश्रीको मधुर धुनसँग मस्त हुन्थे । अरुणोदयसँगै तौलेश्वर र कालीमाईको मन्दिरमा भगवान्को चरणस्पर्श गर्दा कति ऊर्जावान् हुन्थ्यो शरीर । नौरथाभरि हजुरबुवाले घरमा चण्डी पाठ गर्नुहुन्थ्यो । मेरी हजुरआमा आफू स्वयम् नारी र नारी शक्तिको आराधना गरे पनि पितृसत्ताको समाजमा हुर्किनुभएको थियो । त्यसैले उहाँमा पितृसत्तात्मक सोच थियो । हर कुरामा अग्रसर हुने मेरी हजुरआमा अष्टमीको दिन कुभिन्डोको बलि दिनका लागि बुवा वा भाइहरूलाई बोलाउनुहुन्थ्यो । बालसुलभ जिज्ञासा राख्दै किन हजुरले गर्नु हुँदैन भनी सोध्दा उहाँ भन्नुहुन्थ्यो, “शास्त्रमा आइमाईले मार दिन हुँदैन भनिएको छ ।” तर कुन शास्त्रमा त्यसो भनिएको रहेछ त्यो अहिलेसम्म पत्ता पाएको छैन । बाघमाथि चढेकी देवीको मूर्ति प्रायः तराईमा बनाइन्थ्यो । त्यसमा पनि राक्षसलाई मार्न भाला रोपेको मूर्ति बनाउने चलन थियो । त्यो मूर्ति माटो र पराल मिसाएर बनाइएको हुन्थ्यो । साजसज्जापूर्ण दुर्गाको मूर्ति देख्दा साँच्चिकै जस्तो लाग्थ्यो । 

सानो बेलाको दसैँ मलाई एकदम रमाइलो लाग्थ्यो । अष्टमी तथा नवमीमा दुर्गाको मूर्ति वा मन्दिरमा रातभर बत्ती बाली भजनकीर्तनको चलन थियो । त्यस्तै नवमीको दिन शक्तिस्वरूपा देवी तथा दुर्गाको रूप मानेर नौ कन्याको पूजा गरिन्थ्यो । मेरी हजुरआमाले पनि नौ कन्याको गोडाको जल खाई पूजा गर्नुहुन्थ्यो । सृष्टिकर्ता नारी कति महान् छिन् । नारी सौन्दर्य हुन् । तिनै देवीका रूपहरू हुन् । शास्त्रमा नारीलाई यसो भनिएको छ, “यत्र नार्यस्तु पुजयन्ते रमन्ते तत्र देवता ।” जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता रमाउँछन् । 

दशमीको दिन मान्यजनको हातबाट टीका थाप्दै हिँड्दा सिङ्गो दिन बित्थ्यो । पूर्णिमाको दिनसम्म दसँैको टीका लगाए पनि एकादशीको दिनमा दुर्गा सेलाउने गरिन्थ्यो । दुर्गाको मूर्तिलाई रामघाट नदीमा सेलाउँदा हामी (साथीहरू) पनि ट्याक्टर तथा बयलगाडाको पछि पछि जान्थ्यौँ । कत्रो मेहनतले बनाइएको दुर्गा किन सेलाएको होला भनी नमज्जा मानेर घर फर्किन्थ्यौँ । 

वयस्क उमेरमा पनि जीवनले बाल्यकाल नै खोज्दो रहेछ । कीर्तिपुरमा बसेर म तौलिहवाको दसैँ सम्झिरहेकी छु । त्यहीँ सेरेफेरोमा डुबेकी छु । उस समय चाडपर्व आउँदा मान्छेमा जुन खुसी र उत्साह हुन्थ्यो त्यो अचेल बहुतै कम्ती भएको लाग्छ । वर्तमान समय किशोरकिशोरीमा समेत चाडपर्वले खासै अर्थ राखेको देख्दिनँ । बिदामा रमाउनकै लागि पनि चाडपर्व पर्खिन्थ्यौँ । त्यसले विशेष अर्थ राख्थ्यो । पारिवारिक एकता बलियो बनाउथ्यो । आजको पारिवारिक परिस्थिति त्यस्तो छैन । बरु विखण्डित हुँदै गएको छ, टुव्रिmएको छ । पुँजीवादी संस्कृतिले हाम्रो परम्परालाई ओझेल पार्दै लगेको छ । त्यसो नहोस् म चाहन्छु । किनकि कुनै पनि जातिको पहिचान उसको धार्मिक, सांस्कृतिक जगमा अडिएको हुन्छ ।