• २१ असोज २०८२, मङ्गलबार

विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

blog

विद्यार्थीलाई पोषाक र शैक्षिक सामग्री वितरण गरेपछि लिइएको तस्बिर ।

नवीनराज कुइँकेल

लमजुङ, असोज १० गते । लमजुङको मस्र्याङ्दी गाउँपालिका –९ पामचोकस्थित सरस्वती सदन आधारभूत विद्यालयका विद्यार्थीलाई एक संस्थाले कपडा, झोलासहित शैक्षिक सामग्री वितरण गरेको छ । 

सामाजिक सेवामा क्रियाशील हिल्स रेन्ज ट्रेकले हिमालय सन् स्टुडेन्ट फाउण्डेशनको सहयोगमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत बालविकासदेखि ८ कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरिएको हो । 

हिमालयन सन् स्टुडेन्ट फाउण्डेशनको संस्थापक करुना गेवर र हिल्स रेन्ज ट्रेकका प्रबन्ध निर्देशक अनुप कोइराला र संस्थापक गीता पाण्डेको समन्वयमा शैक्षिक सामग्री प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो । प्रधानाध्यापक घिमिरेका अनुसार सबै विद्यार्थीलाई झोला, स्वीटर, टिसर्ट, कापीकलम, जियोमेट्री बक्स, पानीको बोतल, नङकट, मन्जनब्रस, कटन बड, सेनिटाइजर, साबुन, कलर पेन्सिल र पोषणयुक्त खानेकुरा वितरण गरिएको थियो । 

१० जना जेहेन्दार विद्यार्थीलाई जुत्ता, विद्यालय पोसाक  र चार हजार दुईसयका दरले छात्रवृत्ति वितरण गरिएको थियो । सोही संस्थाले विद्यालयलाई टिटि  बोर्ड, ब्याट्मिन्टन, भलिबल, फुटबललगायतका खेलकुद सामग्री प्रदान गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताउनुभयो । 

उक्त सहयोगले विद्यालयको शैक्षिक उन्नयनमा ठुलो टेवा पुगेको प्रधानाध्याक घिमिरेले बताउनुभयो । विद्यालयलाई नमुना बनाउन आफूहरु लागिपरेको र यस्ता सहयोगले थप टेवा पुग्ने उहाँले बताउनुभयो ।