• १५ वैशाख २०८१, शनिबार

५० लाखको विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण

blog

हस्तान्तरण नहुँदै जिर्ण बनेको सिगास माविको तीन कोठे भवन । तस्बिर : गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, असार १५ गते । भवन अभावमा विद्यार्थीहरु खुला चौरमा पढ्न बाध्य छन् । तर, ५० लाख रुपियाँको विद्यालय भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । निर्माणाधीन भवन तीन वर्षदेखि अलपत्र छोड्दा माकुराले जालो लगाएको छ भने भित्ताका ढुङ्गा खस्न थालेका छन् । 

बैतडीको सिगास गाउँपालिका–३, रक्सौन स्थित सिगास मावि बुढाकोटको निर्माणाधीन तीन कोठे भवन हस्तान्तरण नहुँदै जीर्ण बनेको विद्यालयले जानकारी दिएको छ । बैतडीबाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय सांसद दामोदर भण्डारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रबाट तीन वर्षअघि निर्माण सुरु भएको भवन हस्तान्तरण नहुँदै जीर्ण बनेको विद्यालयका सहायक प्रधानाध्यापक हरिश साउदले बताउनुभयो । 

सहायक प्रधानाध्यापक साउदले भन्नुभयो, “५० लाख रुपियाँको तीनकोठे विद्यालय भवन तीन वर्षदेखि अधुरो छ । भवन निर्माण सुरु गर्दा कोरोना आयो । असार मसन्तमा ठेकेदारले कामको मूल्याङ्कनका आधारमा भुक्तानी लगिसकेको छ । बचेको रकम फ्रिज भएको जानकारी पाएका छौं । थप बजेट नआउँदा भवन अलपत्र अवस्थामा छ । तीन वर्षसम्म अलपत्र परेको भवनका ढुङ्गा निस्कन थालेका छन् ।” 



२०१७ सालमा स्थापना भएको सिगास माविमा कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । यहाँ ६५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । निर्माणाधिन भवनको कक्षा कोठामा कालोपाटी, डेस्क बेन्च र झ्याल ढोका नहुँदा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन साउदले बताउनुभयो । 

व्यवस्थापन समितिका अध्यक्ष साउदले अधुरो भवन पूरा गरिदिन स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारलाई हारगुहार गरे पनि सुनुवाई नभएको बताउनुभयो । “विद्यालयको अधुरो भवन पूरा गरिदिन दौडधुप गर्दा जुत्ता फाटिसके”, अध्यक्ष साउदले भन्नुभयो, “ १० लाख रुपियाँ जति बजेट हुने हो भने विद्यालयको अधुरो भवन पूरा गर्न सकिन्छ । दुर्गम गाउँका विद्यार्थीको भविश्यसँग जोडिएको अधुरो भवनका लागि सबैले सोचिदिन आग्रह गर्छौं ।”

गाउँ नजिक कक्षा १२ सम्मको अर्को विद्यालय नभएका कारण यहाँ एउटै कक्षामा ८० देखि ९० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । भवन नहुँदा एउटै कक्षामा कोचिएर पठनपाठन गर्नु परिरहेको विद्यालयले जानकारी दिएको छ । निर्माणाधिन भवनमा पठनपाठन गर्न कालोपाटी र डेक्स बेन्च नहुँदा भवन उपयोग गर्न नसकिएको  विद्यालयको भनाई छ ।