• २८ वैशाख २०८१, शुक्रबार

जोकोभिचको कठिन जित

blog

विम्बल्डन, असार १५ गते । घाँसे मैदानमा खेलिने ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनमा उपाधिका प्रमुख दावेदार नोभाक जोकोभिच पहिलो चरणमा लयमा देखिनुभएको छैन । लगातार चौथो पटक र कुल सातौँ पटक विम्बल्डन उपाधि जित्ने अभियानमा रहेका जोकोभिचले मङ्गलबार दक्षिण कोरियाका क्वोन सुन वुलाई ६–३, ३–६, ६–३, ६–४ ले हराएर दोस्रो चरणमा स्थान बनाउनुभएको छ ।

कोरियाली खेलाडीले सुरुमा जोकोभिचको सर्भिस भङ्ग गरेर ३–१ ले अग्रता बनाउनुभएको थियो । त्यसपछि बल्लतल्ल पहिलो सेट जितेका जोकोभिचले दोस्रो सेट आफ्नो पक्षमा पनि पार्न सक्नु भएन । उहाँले आफ्नो प्रतिद्वन्द्वीभन्दा बढी अनावश्यक गल्ती गर्नुभएको थियो । यद्यपि आफ्नो अनुभव प्रयोग गर्दै जोकोभिचले कोरियाली खेलाडीलाई हराउनुभयो । जोकोभिचको विम्बल्डनमा लगातार जितको सङ्ख्या २२ पुगेको छ ।

विम्बल्डनमा जोकोभिचले कुल ८० खेल जित्ने पहिलो खेलाडी पनि बन्नुभएको छ । सातौँ वरीयताप्राप्त हुवर्ट हुकार्ज भने पहिलो चरणमै अलेज्यान्द्रो डाभिडोभिच फोकिनासँग ७–६ (४), ६–४, ५–७, २–६, ७–६ (१०–८) ले स्तब्ध हुनुभयो । गत वर्ष हुकार्जले विम्बल्डनको सेमिफाइनलसम्मको यात्रा गर्नुभएको थियो । 

अमेरिकाका जोन इसनर भने पाँच सेटमा इन्जो कोवाकडलाई ६–७ (६), ७–६ (३), ४–६, ६–३, ७–५ ले हराएर अगाडि बढ्नुभयो । महिला एकलमा अमेरिकी ओपन च्याम्पियन इमा राडुकानुले एलिसन भानलाई ६–४, ६–४ ले हराएर पहिलो चरण पार गर्नुभएका छ ।