• ५ असोज २०८२, आइतबार

सिन्धुलीको ग्वाल्टारमा आधारभूत अस्पताल सञ्चालन

blog

सिन्धुलीको गोलन्जोर गाँउपालिका–३, ग्वाल्टारमा आइतबारदेखि सञ्चालन आएको आधारभूत अस्पताल । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, असोज ५ गते । सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका–३, ग्वाल्टारमा आइतबारदेखि औपचारिक रूपमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । 

‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारको नीति अनुसार ग्वाल्टारमा उक्त आधारभुत अस्पताल सञ्चालनमा आएको हो । गाँउपालिका अध्यक्ष शङ्करराज बरालले आइतबार एक समारोहबिच अस्पतालको नबनिर्मित भवन उद्घाटन गर्नु भएपछि सेवा प्रारम्भ गरिएको हो । 

सो अवसरमा गाँउपालिका अध्यक्ष बरालले ग्वाल्टारमा सञ्चालित स्वास्थ्य चौकीको स्तरउन्नति गरी १५ शय्याको आधारभूत अस्पतालमा परिणत गरिएको बताउनुभयो । नव निर्मित भवन अस्पतालका लागि हुनुपर्ने मापदण्ड अनुसारको निर्माण भएको चर्चा गर्नुहुँदै उहाँले अब स्थानीयबासीले गाँउघरमा नै आधारभूत स्वास्थ्य सेवा पाएको बताउनुभयो।

उहाँका अनुसार अस्पतालका लागि गाँउपालिकाले कार्यालय सहयोगी बाहेक ३२ जना विभिन्न तहका कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । अहिले एक जना एमबिबिएस चिकित्सक व्यवस्था गरी नागरिकलाई सेवा प्रारम्भ गरिएको हो । गाँउपालिका अध्यक्ष बरालले भन्नुभयो, ‘स्रोत र साधन जुट्दै गएपछि त्यही अनुसार जनशक्ति पनि थपिँदै जाने छन् । अस्पताल पूर्णरूपमा सञ्चालन हुँदा नौ जना विषेशज्ञ चिकित्सक नै रहने व्यवस्था गरिएको छ ।’ 

उक्त अस्पतालले गोलन्जोरसँगै फिक्कल, सुनकोशी, रामेछाप, ओखलढुङ्गा र खोटाङका सीमावर्ती क्षेत्रका नागरिकलाई लक्षित गरी सेवा प्रवाह गर्ने गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका अनुसार ब्याक टू लाइफ इभी जर्मनीको आर्थिक सहयोग तथा समुदाय पद्धति विकास सेवा (सीएसडीएस) सिन्धुलीको प्राविधिक सहयोगमा एआर्डी कन्ट्रक्सनले १८ महिनामा छ करोड ७६ लाख २१ हजार १३५ रुपियाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी २६ अप्रिल २०२४ मा सम्झौता गरी ग्वाल्टार आधारभुत अस्पतालको भवन निर्माण सुरु गरेको थियो । 

उक्त अस्पताल सञ्चालनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा र गोलञ्जोर गाउँपालिका बीच स्वास्थ्य सेवा र शिक्षामा सहकार्य गर्न साउन २२ गते सम्झौता भएको थियो । स्वास्थ्य विज्ञान शिक्षालाई व्यवहारिक बनाउने र गाउँस्तरसम्म गुणस्तरिय स्वास्थय सेवा विस्तार गर्ने उद्देश्यले सम्झौता गरिएको गाँउपालिका अध्यक्ष बरालले जानकारी दिनुभयो ।

सम्झौता अनुसार अब मदन भण्डारी प्रतिष्ठानका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीले गोलन्जोर आधारभुत अस्पतालमा प्रत्यक्ष अभ्यास गर्ने अवसर पाउने छन् । प्रतिष्ठानले अस्पतालमा आवश्यक परेमा प्राविधिक कर्मचारी पठाउने, तालिम दिने, डिजिटल स्वास्थ्य सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने र अनुसन्धानका आधारमा स्वास्थ्य नीति निर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ । 

सहकार्य पाँच वर्षका लागि हुने छ र आवश्यकता अनुसार नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ । दातृ निकायले त्यो भन्दा बाहेक एक करोड रुपियाँ बराबरको विभिन्न किसिमको मेडिकल उपकरण पनि उपलब्ध गराएको गाँउपालिकाले जनाएको छ ।

स्थानीय तहले ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ भन्ने सरकारको निती अनुसार स्थानीयस्तरमा नै नागरिकलाई आधारभुत स्वास्थ्य सेवा दिन पछिल्लो समयमा उक्त अस्पताल सञ्चालन  गर्दै गएका हुन् । नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा हालसम्म कमलामाई नगरपालिकामा सय शय्याको अस्पताल सञ्चालनमा रहेको छ । 

त्यस्तै दुधौली नगरपालिका, तीन पाटन गाउँपालिका र फिक्कल गाउँपालिकाले पनि १५ शय्याको अस्पतालको भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याइसकेका छन् । 

बाँकी हरिहरपुरगढी, मरिण, सुनकोसी गाँउपालिकामा उक्त आधारभुत अस्पतालको भवन धमाधम निर्माण भइरहेको छ । घ्याङलेख गाउँपालिका–३, सोलाभन्ज्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन ।