• ४ असोज २०८२, शनिबार

मिवाखोलाको थुम घुमेर हेर्दा

blog

सम्हाल तिम्रो बैँस पटुकी कसेर

पोखियो बल्दो जवानी थोपामै खसेर 


गाडीमा गीत घन्केको छ । धरान–धनकुटाको बाटो हुँदै वसन्तपुरतिर उकालो लाग्यो गाडी । पानी नपरेको हप्ता÷दस दिन जति भइसकेको थियो । घाम लागेर बाटो सुक्खा थियो । बर्खे झरीले ल्याएको हिलो सुकेर गाडी दौडिँदा धुलो उडेर बाटोनजिक बसिनसक्नु थियो । 

बाटोनजिक बारीतिर अम्बा पाकेर पहेँलै भएको थियो । जुरेली र बारुलाले अम्बा खाँदै गरेको टाढैबाट देखिन्थ्यो । खेतको आलीमा रहरलाग्दो गरी भटमासको झुप्पा झुलेका थिए । सिधुवा पुगेसँगै बारीको पाटाभरि कोपी र आलुले मनै लोभ्यायो । हेर्दै हेर्दै वसन्तपुर पुग्यौँ । त्यो रात त्यतै बसियो । 

लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङ दाइसँग बिहान भेट भयो । सँगै कफी पिएपछि अर्जुन दाइसँगै हामी बाटो लाग्यौँ । वसन्तपुर, लसुने, मेयाङ्लुङ, फेदाप हुँदै आठराई गाउँपालिकाको कार्यालय पुग्दा पानी पर्न थाल्यो । केहीबेर आठराई गाउँपालिकाको कार्यालयमा चिया पिउँदै गफगाफ गर्दै बस्यौँ । आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमसँग त्यहीँ भेट भयो । उहाँको खादासहितको स्वागतले हामी निकै खुसी भयौँं ।

बेलुका ५ बज्नै लाग्दा हामी जोरपोखरीलाई पार गर्दै गोपेटारतिर हुइँकियौँ । बाटामा नेपाली कांग्रेसका पाँचथर जिल्ला सभापति रूपनारान जबेगूसँग भेट भयो । बेलुका हामी काबेलीमै बास बस्ने भयौँ । काबेलीमा अर्जुनबाबु माबुहाङ दाइको आफन्तको होटेल रहेछ, हामी त्यहीँ बास बस्यौँ । असला माछाको स्वादिलो झोलसँग खाना खायौँ । आकाशमा जूनतारा आफ्नै तालमा चम्किरहेका थिए । काबेलीखोलाले मिठो सङ्गीत दिइरहेको थियो । रातको १०÷११ बजेपछि काबेलीका कुकुर रुन थाले । कुकुरको रुवाइ सुनेर मनमा चिसो पस्यो । बुढापाकाको मुखबाट सुनेको थिएँ– कुकुर रोएको राम्रो सङ्केत होइन । काबेलीखोलाको सङ्गीत र कुकुर रुवाइ सुन्दा मनमा डर भए पनि कति बेला निदाएछु पत्तै भएन । बिहान उठ्दा थाहा भयो– काबेलीखोलाले एक जना बुढा मान्छे बगाएर ल्याएको रहेछ । 

बिहान काबेलीखोलातिर लाग्यौँ । फर्किएर ताप्लेजुङतिर हुइँकियाँै । नागबेली बाटो पार गर्दै तल गडतिर बग्ने सेतो तमोरखोला हेर्दै हामी बाहनन्दे पुग्यौँ । बाहनन्देबाट हामी छुट्टिएर देब्रेतिर मोडिँदै दोभानतिर लाग्यौँ । बाहनन्देदेखि दोभानसम्मको बाटो गाग्रेल गर्दै थिए । अन्तिम पटक २०५३ सालमा आमाको साथमा आएको थिएँ– दोभानबजार । त्यो बेलाको जस्तो दोभानबजार मैले यसपालि पाइनँ । दोभानबजार पुग्नुभन्दा दुई कोस टाढाबाटै सुनिन्थ्यो क्यासेटमा लोक भाकाका गीतहरू । दिनभरि ढाव्रmे र हटिया भर्नेहरूले भरिन्थ्यो– दोभानबजार । सुनदेखि नुनसम्मको व्यापार हुन्थ्यो त्यहाँ । दोभानबजारमा व्यापार गर्ने पुरानो व्यापारी सुभलाले काइँला काकासँग भेट भयो । काका त बुढा भएछन । दाह्रीजुँगा फुलेछ । काकासँग निकैबेर गफगाफ गरेँ । दोभानकै पुरानो बासिन्दा छत्तिसेनी बोजु पनि बित्नुभएछ । छत्तिसेनी बोजुकी नातिनी रूपा पनि विवाह गरेर ताप्लेजुङतिरै गइछिन् । खोलाले पूरै बजार बगाएर लगेछ । २०५३ सालमा आमासँग दोभानबजार आउँदा छत्तिसेनी बोजुको घरमा र सुभलाले काकाको घरमा बास बसेका थियौँ । छत्तिसेनी बोजुको घर ढाव्रmेहरूले पूरै भरिन्थ्यो । रातभरि गीत बज्थ्यो दोभानबजारमा । मुग्लान जाने र आउनेहरू रातभरि जाग्राम बसेर रमाइलो गर्थे । असला माछा र तिते माछा प्रशस्तै पाइन्थ्यो । सुभलाले काइँला काकाले २०५३ सालमा आउँदा असला माछा खुवाउनुसम्म खुवाउनुभएको थियो तर यसपालि दोभानबजार आइपुग्दा विरक्त लाग्यो । पहिलाको जस्तो रहेनछ दोभानबजार । असला माछा चाख्नसम्म पाइएन । तिते माछा पनि नभेटिँदो रहेछ । दोभानबजारभरि खोज्दा बल्ल बल्ल एक केजी तिते माछा जम्मा गरियो । आधा आधा केजी भाग गरी झोलामा हाल्यौँ । माछा जति सबै हाइड्रोपावरले खत्तम बनाएको दुःखेसो स्थानीयको थियो ।

बिरक्तिएको मन लिएर आइत खजुमको घरमा बिहानको खाना खाने गरी खाम्लुङतिर लाग्यौँ । आइत खजुमको घर खाम्लुङ पुग्दा बिहान १० बज्नै लागेको थियो । आइत सरकी सानी छोरी लिम्बू भाषामा पालम भन्दै गीत पनि गाउँदै थिई, सुनाँै सुनौँ लाग्ने गरी । आइत सरले सात किसिमको सब्जीको तरकारी, चिम्बिङ खान्कपाको अचार, लोकल भालेको सुप, बेलकुठी चामलको भात खुवाउनुभयो । अलिक परको हक्तके ढुङ्गेधारामा गएर नुहाइधुवाइ ग¥यौँ । धारावरिपरि खेतको गरामा धानमा फूल खेलिरहेका थिए । नुहाउँदै गर्दा माथिबाट भेडाको गोठ सार्नेहरूले दुई÷तीन सय भेडा हाङपाङतिर सुई सुई पार्दै लाँदै थिए । माथि हेलुम्बाको डाँडाबाट मयूरको हुल मान्छे उडाऊला कि जस्तो गरी उड्दै आएर धानबारीको डिलमा बस्यो । मयूरहरू चर्दै चर्दै बाटोमुन्तिर झरेर हेर्दाहेर्दै आँखाले देख्नै छोड्यो । 

आइत खजुमसँग बिदा मागेर दिउँसोको २ बजेतिर सुल्लुम्फी उकालो हुँदै थुकिमातिर लाग्यौँ । मास्रेङ माङेना यक हेर्न माङेना यक पुग्नुभन्दा अलिक तल पुरानो डुङ्गाको चौतारा भेटियो । चौताराभन्दा अलिक माथि ठुला ठुला ढुङ्गाको खर्बालुङ देखियो । खर्बालुङभन्दा माथि अग्लो ढिस्काको आकारमा सुतेर बसेको मास्रेङ माङेना यकको दर्शन ग¥यौँ । पुर्खाहरूले टेकेको भूमिमा आफूले टेक्न पाउँदा केहीबेर हर्षले मन भारी भयो । आनन्दले केहीबेर त्यहीँ बस्यौँ । 

अलिक तल झरेर हेल्पोसनजिकैको पसलमा खाजा खान पस्यौँ । पसलकी बहिनीले चटपटे, चाउमिन, बियर, कोकाकोला र रेडबुल मात्र पाइने बताइन् । चाउमिन र रेडबुल मगायौँ । होटेलमा स्थानीय बोजुहरू पनि थिए । उनीहरू बियर पिउँदै गफ गर्दै थिए । उनीहरू भन्दै थिए– बाटोघाटो गाउँघरमा आएपछि मकै, भटमास र तुङ्बाको खाजा हराउँदै गयो । चाउमिन, चाउचाउ, चटपटेले गाउँबस्तीलाई छ्याप्पै ढाक्यो । हिजो तुङ्बा खानेहरू आज बियर र रम खान्छन् । हिजो मकै भटमासको खाजा खानेहरू अचेल चाउचाउ, चटपटे र चाउमिन खान्छन् । त्यसपछि हामी नाल्बोतिर लाग्यौँ । नाल्बो पुग्दा साँझ पर्न लागेको थियो । हामी चिबे गुम्बालाई निसाना बनाएर अघि बढ्यौ । ठाउँ ठाउँमा भेटिने गुम्बाहरूले हामीलाई झुक्याउनसम्म झुक्यायो । साँझ झमक्क पर्नै लाग्दा माथि लामो चिल्लो ढुङ्गा गाडेको भेटियो । एकैछिन त्यो ढुङ्गा हेरेर हामी जङ्लतिर चिबे गुम्बा खोज्दै लाग्यौँ । निकै बेरपछि बल्ल चिबे गुम्बा पुग्यौँ । ठुल्ठुला लालीगुराँसको बिचमा हेर्दैै हजारौँ वर्ष पुरानो देखिने गुम्बा एक्लैदुक्लै जानै डर लाग्ने खालको थियो । सोध्दै खोज्दै झपक्कै साँझ पर्दा नरेन्द्र तुम्बाहम्फेको घर नाल्बो पुग्यौँ । जानेबित्तिकै छ महिनाको छिप्पिएको तुङ्बा अघिल्तिर आइपुग्यो । पिपा साँच्चिकै लामो रहेछ, निकै तन्किएर मात्र खान सकिने खालको । दुई पानी खाँदा नै रमरम अरिङ्गाले बनाउने तुङ्बा तान्दै गफमा भुलियौँ । त्यो लेकको जाडो कत्ता भाग्यो भाग्यो । 

बिहानै नरेन्द्र तुम्बाहाम्फेको घरमा भाले बास्यो । हामी ब्युँझँदा घरका मानिसको चहलपल सुरु भइसकेको थियो । उठेर नरेन्द्र तुम्बाहाम्फेको घरभन्दा अलिक तल बारीमा गाडिएको जोडी ढुङ्गा र खर्बालुङ हेर्न गयौँ । कोदोबारीको बिचमा रहेछ । त्यो जोडी ढुङ्गा गाडेको देख्दा लाक्चुँबाको डाँडामा गाडेको जोडी ढुङ्गाको याद झल्झली आयो । त्यहीँबाट नरेन्द्र तुम्बाहाम्फेसँग बिदा माग्दै नाल्बोबाट पादोलुङतिर लाग्याँै । पैदल दुई घण्टा हिँडेपछि पादोलुङमा पुग्यौँ । पादोलुङगाउँ साँच्चिकै रमाइलो रहेछ । सिपसिप पानीसँगै अलैँचीको बगान, पादोलुङबाट देखिने पारिको मानव बस्तीरहित हरियो नागीडाँडा, त्यहाँबाट झर्ने झरनाले मनै लोभ्याउने रहेछ । 


हामीले पादोलुङलाई मनग्गे हे¥यौँ । विशाल आकारमा बसेको चट्टान । वारिपारिबाट कराउँदा आवाज त्यही चट्टानमा ठोक्किँदो रहेछ । लिम्बू समुदायको आस्था बोकेर बसेको त्यो विशाल चट्टानलाई विकासको नाममा राज्यले फोरेर बाटो बनाएछ । अचेल पादोलुङको फेदमा बियरका बोतलहरू थुपारेर कुरूप बनाएर राखेका रहेछन् । पादोलुङलाई त्यो अवस्थामा देख्दा साँच्चिकै चित्त दुख्यो । केहीबेर हेरेर हामीले वरिपरिका सबै फोहोर सफा ग¥यौँ । त्यहाँका भाइलाई त्यसरी बियरका बोतल नफाल्न अनुरोध ग¥यौँ । पादोलुङको महŒवबारे सकेसम्म केही बुझाउने कोसिस ग¥यौँ अनि त्यहाँबाट सेपेनी बाटो पार गर्दै जुकासँग कुस्ती खेल्दै सावाको फङफङ्देन झरना पुग्यौँ । माथिबाट दुध पोखाए जस्तै गरी सेतै पानीको फोहोरा तल बजारिँदो रहेछ । त्यहीँ बसौँ बसौँ लाग्ने गरी पानीको चिसो हावाले मुटु नै कटक्क पार्ने रहेछ । हामीलाई साबामा खरी जुकाले टोक्नसम्म टोक्यो, रगतले गोडा रातै भयो । जुकामा त्यस्तो विष के छ कुन्नि ? टोकेपछि सारै चिलाउने । दिउँसोको खाना नखाई हामी सरासर लिबाङतिर हानियौँ । हामी लिबाङ पुग्दा साँझ पर्नै लागेको थियो । भोको पेट र थकानको बिच हामीले लिबाङको ताप्तिङको भिर चढ्नुपर्ने भयो । भिर निकै डरलाग्दो उकालो रहेछ । तल हेर्दा मिवाखोला सेतै कराउँदै बगेको देखिने, समाउने केही थिएन । दायाँबायाँ हेर्दा चक्कर लाग्ने । कान्छो सालो विकास भाइको साथमा ब्याग भएकाले म खाली नै थिएँ । अर्जुन बाबु, माबुहाङ दाइ निकै अघि पुगिसक्नुभएको थियो । म घरी घरी विकास भाइ भन्दै कराउँथे । भाइ स्वाँ स्वाँ गर्दै हजुर भेना भन्थ्यो । अलिक माथि पुग्दा सालो भाइको घुँडा रातै भइसकेको रहेछ । रगतले घिसँ्रदै उकालो चढ्दा ४५ मिनेटको भिरको यात्राले हामीलाई दिनुसम्म पीडा दियो । भिर पार गर्नेबित्तिकै माथि डिलमा ठुलो बरको रुख भेटियो । बरको बोटनजिकै लामो चिल्लो ढुङ्गा गाडेको भेटियो । हेर्दै हजारौँ वर्ष पुरानो देखिने । केहीबेर त्यहीँ बरको फेदमा बसेर आराम ग¥यौँ । ढुङ्गासँग तस्बिर खिच्यौँ अनि सरासर अगाडि बढ्यौँ । हामी लिवाङको स्कुल पुग्नै लाग्दा दुई वटा विशाल ढुङ्गा कोदोबारीमा गाडेको देख्यौँ । त्यहीँ बस्तीको एक जना भाइलाई सँगै लगेर हेर्न गयौँ । 

त्यसपछि ५२ ढोके दरबारले परिचित डम्बर लिबाङको घरतिर लाग्यौँ । जमानामा आफ्नै नियमकानुन लगाउँथे रे ! आदालतको नियन कानुनले छुँदैनथ्यो रे ! जे हुकुम चलाउँथे त्यही हुन्थ्यो रे ! हामी त्यहाँ पुग्दा घर देख्न पाएनौँ, भग्नावशेष मात्र देख्यौँ । वरिपरि तारले घेराबार गरेर राखिएको रहेछ । घरमा डम्बर लिबाङका छोराबुहारी र नातिनातिनी रहेछन् । उनीहरूसँग हाम्रो भेट भयो । नेवारनी बुहारीको हातबाट बनाएको मिठो चिया खायौँ । घरको भित्तामा नेपाली कांग्रेसको कार्यालय लेखेको बोर्ड झुन्डिएको थियो । एउटा कोठा पार्टी कार्यालयलाई दिइएको रहेछ । मैले ठट्टा गर्दै ‘तपाईं त लिम्बुनी जस्तो देखिन्नु हुन्न त’ भनेर सोधेँ । उहाँले आफू नेवारनी भएको बताउनुभयो । अनि आफूले लिम्बूसँग अन्तरजातीय विवाह गर्दा पाएको केही समस्या पनि बिनासङ्कोच सुनाउनुभयो । 

साँझ झमक्कै हुन लाग्दा उहाँहरूले आज यतै बसौँ भन्नुभयो तर हामी खोक्लिङतिर झ¥यौँ । अर्जुन बाबु माबुहाङ दाइले गाडीचालकलाई आधा बाटोसम्म लिन बोलाउनुभयो । निकैबेर हिँडेपछि गाडी भएको ठाउँमा पुग्यौँ । हामी खोक्लिङ पुग्दा रातको १२ बजिसकेको थियो । खाना खाएर ढल्किँदा रातको १ नाघिसकेको थियो । बिहान सबेरै उठेर खोक्लिङलाई एक चक्कर लगाएर हे¥यौँ । चियानास्तापछि हरि साबाको घरलाई निसाना बनाएर ठाडो उकालो लाग्यौँ । ४० मिनेटको उकालो पैदल हिँडेपछि हरि साबाको घर पुग्यौँ । अर्जुनबाबु माबुहाङ दाइले पुराना केही कुरा सोध्न थाल्नुभयो । मेरो कान्छा सालो विकासले क्यामरा समातेर बोलेका कुराहरू रेकर्ड गर्न थाल्यो । म भित्ताका तस्बिरहरू हेर्दै बसँे । 

बिहानको खाना हरि साबाको घरमा खायौँ । रातो भाले काटेर हामीलाई फुदोङ दिनुभयो । हरि साबा उमेरले निकै पाका भए पनि करेसाबारीभरि रुख टमाटर, कागती र एभोकाडो लटरम्म फलाउनुभएको रहेछ । घरपछाडि दुईचार घार माहुरीको डुँड पनि राख्नुभएको रहेछ । बाख्राको खोरमा १०÷१५ वटा खसीबोका थिए । गोठमा दुईचार माउ गाई पालेर बस्नुभएको रहेछ । बिहान १२ बजेतिर दोभानतिर झ¥यौँ । खोक्लिङदेखि तल झर्दा बाटोमा लामो चिल्लो ढुङ्गा गाडेको देख्यौँ र गाडी रोकेर हेर्न गयौँ । 

मिवाखोला घुम्दा सबै गाउँमा ढुङ्गा गाडेको देखियो, भेटियो । त्यसपछि मनमा खुल्दुली भयो– किन यसरी ढुङ्गा गाडेको 

होला ? मैले लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङ दाइलाई ठाडो गाडिने ढुङ्गाको बारेमा सोधेँ । दाइका अनुसार हाम्रो उत्पत्ति स्थललाई ‘थामालुङ’, ‘माङ्गेनालुङ’, ‘माङ्गेना लुङधुङ’ भनिन्छ । सुस्वास्थ्य र दीर्घायुका लागि कुलदेवतालगायत वनदेवता पुज्दा, थान थपना राख्दा गाडिने मसिना ढुङ्गालाई ‘काम्याङलुङ’ भनिन्छ । सुँगुरको साँढलाई खोरिया साँध्न लगाएर जमिनको स्वामित्व लिने चलनलाई ‘योप्पालुङ’ भनिन्छ । आपसी झैझगडा मिलाएर गाडिने ढुङ्गालाई ‘इन्दोलुङ’ भनिन्छ । सभा बसेर न्यायनिसाफ दिएपछि दुबो छुवाएर साक्षी प्रमाणसहित ढुङ्गो गाडिन्छ । यसलाई ‘साम्योकलुङ’ भनिन्छ । साम्यो भनेको धर्म भनेर साम्योकलुङबाटै आएको हो । ढुङ्गो गाडेर न्याय दिन बस्ने सभालाई ‘चुम्लुङ पक्वा’ भनिन्छ । 

चिताएको पुगेपछि वा समृद्ध भएपछि गाडिने ढुङ्गोलाई ‘चोलुङ’ भनिन्छ । मरेपछि चिहानमाथि गाडिने ढुङ्गोलाई ‘सुत्लुङ’ भनिन्छ । विशेष गरी चुम्लुङ राखेर लुङधुङ काइक (हाडफोरा फुटाएपछि) नयाँ (इम्बी कुसङ) थर दिइन्थ्यो । अनि चट्याङ (मुन्धाङ सेरी) ले नहानोस् र भुइँचालो (खाम्लुङ लराङ) ले नपुरोस् भनेर सिमल, फलेदो रोडिङ्गो (तेङ्गो, हेन्छिङ, माङलोक) रोपिन्थ्यो । यसरी ढुङ्गो गाडेर न्याय दिने परम्परागत संस्थालाई नै ‘लुङबुङ’ भनिन्थ्यो । थुम (सेभाक्कुम) थुमका विभिन्न थरीका याक्थुङहरूका पासिङ पादाङ, तुत्तु तुम्याङ (न्यायाधिकारी) लुङबुङ गाडेर राज्य प्रशासनको सुरुवात गरे । यिनै लुङबुङ गाड्नेहरूलाई नै सेनहरूले चिन्न खोज्दा लिम्बू शब्द निर्माण भयो । लिम्बूको बाँझो जमिन (हक्तक) मा आनाका आधारमा तिरो लागेपछि ‘लिम्बुवान’ शब्द पनि निर्माण भयो । दाइले यसरी भनिराख्दा मलाई मनमा भित्रभित्रै लाग्यो– यो ठाडो गाडिने ढुङ्गा लिम्बूहरूको प्रथागत कानुन रहेछ । मिवा सभ्यता बुझ्न जीवनमा एक पटक सबै नेपाली मिवाखोला पुग्नैपर्ने सुन्दर ठाउँ रहेछ । मिवाखोलासम्मको यात्रा साँच्चिकै रमाइलो सम्झना बन्यो । ढुङ्गासँग लिम्बूहरूको जन्मदेखि मृत्युसम्मको सम्बन्ध मिवाखोला यात्राकै व्रmममा बुझ्ने मौका पाएँ । अचेल एकान्तमा बस्दा मिवाखोला झलझली सम्झिन्छु, साँच्चिकै आनन्द लाग्छ । समय मिलाएर फेरि घुम्न पक्कै आउने छु– मिवाखोला मलाई पर्खेर बस्नु है !