काठमाडौँ (गोरखापत्र), असोज ४ गते । चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रले तामाङ समुदायको संस्कृति र कथालाई विशेष रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको छ ।
मिलन तामाङले निर्देशन गर्नुभएको चलचित्रमा रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल कार्यकारी निर्माता रहनुभएको चलचित्रको कथा चन्द्रकुमार दोङले लेख्नुभएको हो चलचित्रको पटकथा र संवाद रामशरण पाठकले तयार पार्नुभएको हो ।
दसैँको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा केदार घिमिरे, धीरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र रोहित अधिकारी फिल्म्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको हो ।