गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ४ गते । एक विद्रोही नारीको कथामा बनेको नाटक हो ‘सिरुमारानी’ । नाटकमा मानवीय संवेदना, अहम् विद्रोह र आशाको कथा पनि छ । जीवन छ र जीवनभित्रै प्रकृति पनि छ भन्ने सन्देश नाटकले दिन खोजेको छ । भाग्य पर्खिने, शक्तिको अहङ्कारभित्र रुमलिने, आफ्नै आवाज बोल्ने र जीवन स्विकारेर सबै प्रकृति जीवनभित्रै समाहित छन् भन्ने कुरा नाटकको कथाले दर्साउँछ ।
पितृसत्तात्मक समाजमा महिलालाई समाजले कस्तो नजरले हेर्थे भन्ने कुरा नाटकमा देखाउन खोजिएको छ । एकातिर सिरुमारानीको रानी हुने लोभ, अर्कोतिर राजालाई यौवनको सुखभोगले निम्तिएको विपत्ति पनि छ । एउटी नारीले आफ्नो नारीत्वको रक्षा गर्न गरेको सङ्घर्षको कथा हो ‘सिरुमारानी’ । साथै अहम् लोभ र शक्तिको उन्मादले ग्रसित संरचनाको क्षणभङ्गुरताको कथा पनि नाटकले बोल्छ । ६० को दशकमा प्रकाशन भएको नाटकले नारी अस्तित्वको आवाज उठाएको छ । नाटकको कथा सरुभक्तले लेख्नुभएको हो । मण्डलाकै ल्याब–१७ का विद्यार्थीले अभिनय गरेको नाटक अनुप न्यौपाने र सुमित्रा पेहिमले निर्देशन गर्नुभएको छ ।
असोज ५ सम्म मञ्चन हुने नाटकमा सायुज्य भण्डारी, चाँदनी श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सहिष्मा खड्का, सुजन घिमिरे, अमृत सुनारलगायत ३३ जना प्रशिक्षार्थीको अभिनय रहेको छ । नाटकमा आँखा नदेख्ने दुई दम्पती, माछे, बालिका सिरु, गोरे, ब्रह्मर्षि, राजा, रानी, जवान युवराज, सैनिकहरू, सहेलीहरू, नागराजकुमारी, ढाँव्रmे राधादासीलगायत बनेका कलाकारले आफ्नो चरित्रमार्फत आफूलाई स्थापित गराएका छन् ।
सिरुमारानीको कथा आजको समय र समाजसँग मिल्दोजुल्दो लागेर मञ्चन गरेको नाटकका निर्देशक अनुप न्यौपानेले बताउनुभयो । नाटकसँगको सामीप्य र सरुभक्तको कथा नै बलियो रहेकाले पुनः त्यही कथा रङ्गमञ्चमा ल्याउने आँट गरेको उहाँको भनाइ छ । उहाँको अनुसार पहिला पनि यो नाटक मञ्चन भइसकेको थियो । त्यो बेला मैले नाटकमा अभिनय गरेको थिएँ भने अहिले त्यही नाटक निर्देशन गरेको छु । नाटकको कथा खासै परिवर्तित नभए पनि कलाकारको अभिनय सेट, डिजाइनलगायतका कुरा अवश्य नै परिवर्तन गर्न खोजेको न्यौपानेले बताउनुभयो ।
नाटकमा निर्देशक न्यौपानेले केही पुराना सङ्गीतलाई पनि प्रयोग गर्नुभएको छ । साधारण देखिने मञ्च निर्माणको सेटमा सिडी, राजाले लगाउने श्रीपेच, रानीको पहिरनलगायतले तत्कालीन समयका कुरा झल्काउने काम गर्छ । यसका साथै बिचबिचमा बज्ने कोरससहित ‘एकादेशमा’, ‘राजाको सवारी’ जस्ता गीतले नाटकलाई अझ बलियो बनाउने काम गरेको छ । नाटकको कथा, गीत÷सङ्गीत र कलाकारको चरित्रले अवश्य नै दर्शकलाई थिएटरभित्र बाँधी राख्ने काम गर्छ ।