• ३ असोज २०८२, शुक्रबार

मुस्ताङका भेडा, च्याङ्ग्रा पोखरा आइपुगे

blog

पोखरा–२५, हेमजामा बिक्रीका लागि राखिएका मुस्ताङका भेडा, च्याङ्ग्रा।तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, असोज ३ गते। दसैँ सुरु हुन दुई साता बाँकी हुँदै मुस्ताङबाट भेडा, च्याङ्ग्रा पोखरा आउनेक्रम सुरु भएको छ।अरु समय खसी, बोका, कुखुराको मासु खाने गरे पनि दसैँ बेला च्याङ्ग्राको मासु खाने चलन यो क्षेत्रमा छ ।

शुक्रबारसम्म पोखरामा १० हुल जति भेडा, च्याङ्ग्रा आइसकेका छन्। पोखरा–२५, हेमजामा भेडा, च्याङ्ग्राको बिक्री सुरु भइसकेको छ।यसपाली एउटा च्याङ्ग्राको मूल्य ४० हजारदेखि ५० हजारसम्म पर्ने व्यापारी बताउँछन्।पोखराकै च्याङ्ग्रा व्यापारी ऋषिराम पौडेलले उपल्लो मुस्ताङबाट एक सय ६० च्याङ्ग्रा पोखरा ल्याएको उल्लेख गर्नुभयो ।

तौल अनुसार ४५ देखि ५० हजारमा च्याङ्ग्रा बेचिने उहाँको भनाइ छ।अर्का व्यापारी सुकबहादुर तामाङ ३८ देखि ४० हजारमा किनेर च्याङ्ग्रा ल्याएको जनाउँदै ४५ हजारदेखि ५० हजारमा बिग्री गर्ने सुनाउनुहुन्छ।गत वर्षभन्दा यसपाली च्याङ्ग्रको भाउ कम रहेको उहाँको भनाइ छ।

पोखरामा हरेक वर्ष मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, बझाङ, बाजुरा लगायतका जिल्लाबाट भेडा, च्याङ्ग्र ल्याउने गरिएको छ।पहिले चार, पाँच दिन हिँडाएर ल्याउने गरिएकोमा यसपाली सबैजसोले ट्रकबाट भेडा, च्याङ्ग्रा पोखरा ल्याएका छन्।कर्णाली र सुदूरपश्चिमका व्यापारीले भने भेडा, च्याङ्ग्रा ल्याइसकेका छैनन्।